केदारनाथ मन्दिरका कपाट खोलिए

केदारनाथ मन्दिरका कपाट खोलिए

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७६

आज बिहान ५ः३५ मा केदारनाथ मन्दिरका कपाट सर्वसाधारणका लागि खोलिएका छन् ।
रुद्रप्रयाग । उत्तराखण्डको चार धाममध्येको एक केदारनाथ मन्दिरका कपाट आजदेखि सर्वसाधारणका लागि खोलिएका छन् । सो अवसरमा पाँच हजारभन्दा बढी भक्तालुको उपस्थिति रहेको थियो ।

यसअघि यमुनोत्री र गंगोत्री धाम अक्षय तृतीयादेखि नै खुला भइसकेको छ । उत्तराखण्डका चार वटै धाम शीत कालमा बन्द हुने गर्छन् ।

उत्तराखण्डका चार वटै धाम तीन हजार मिटरभन्दा माथि हिमाली क्षेत्रमा अवस्थित छन् । शीतकालमा अत्यधिक हिमपातका कारण यहाँका मन्दिर बन्द हुने गर्छन् । र, देव प्रतिमालाई विधि विधानका साथ अन्यत्र सारिन्छ ।

गर्मी यामको सुरुवातसँगै अक्षय तृतीयको दिन साइत अनुसार यी धाममा देव प्रतिमा पुनःस्थापित गर्ने उपक्रम सम्पन्न हुन्छ ।

यसै क्रममा भोलि भगवान बद्रीनाथ मन्दिरको कपाट खोलिनेछन् ।

उत्तराखण्डका चार वटै धामलाई राजकीय सम्मान प्राप्त छ ।