पुरुष साफ च्याम्पियनसिप:नेपाल भारतसँग पराजित, फाइनलका लागि अर्को खेल कुर्नुपर्ने बाध्यता

पुरुष साफ च्याम्पियनसिप:नेपाल भारतसँग पराजित, फाइनलका लागि अर्को खेल कुर्नुपर्ने बाध्यता

न्युज कारखाना  |  खेलकुद  |  आश्विन २५, २०७८

काठमाडौं ।  अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । 

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । 

७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए ।  फारुख चौधरीले सिक्स यार्ड बक्सबाट मिलाएको हेडिङ पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका क्षेत्रीले वान टचमा गोल गरेका हुन् । 

जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ । यदि नेपालविरुद्धको बराबर तथा हारले भारत प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । 

भारतबिरुद्द नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिएको थियो । पहिलो हाफमा भारतले नेपाललाई पुर्ण रुपमा दबाबमा राखेपनि गोल भने गर्न सकेको थिएन । दोस्रो हाफमा समेत दबाब बनाएको भारत गोल गर्न सफल रहेको थियो । 

यस अघि भारतले केहि राम्रो अवसर बनाएपनि गोल गर्न भने सफल भएन । खेलको ३३ मिनेटमा भारतले सुन्दर मौका गुमायो । मिडफिल्डर सुरेशको क्रसलाई सिक्सयार्ड बक्सबाट कप्तान सुनिल क्षेत्रीले बाहिर प्रहार गरे । नेपाली कप्तान तथा गोलरक्षक किरणले छोडेको बललाई सिक्स यार्डबक्सबाट सुनिलले बाहिर प्रहार गरेका थिए । 

खेलको ५५ मिनेटमा भारतका मिडफिल्डर ब्रेन्डम फर्नान्डेजले पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् । दिनेश राजबंशीले २५ यार्डमा सुनिल क्षेत्रीलाई फल गरेपछि पाएको प्रिकिकलाई बे्रन्डमले बाहिर प्रहार गरे । 

खेलको ५६ मिनेटमा भारतले अर्को प्रयासमा नेपाली गोलरक्षक किरण कुमार लिम्बू बाधक बने । मानबिर सिंहले पेनाल्टी एसियाबाट हानेको हेडिङ गोलरक्षक किरणले उत्कष्ट पन्च गरि बाहिर फ्याले । 

यस्तै खेलको ७६ मिनेटमा भारतका सुभासिस बोसको हेडिङ पुनः कप्तान किरणले आफ्नो पञ्जामा पारे ।  

भारतबिरुद्द  नेपाली टोलीको कप्तानी गोलरक्षक किरण कुमार लिम्बुले गर्दा तीन खेलाडी परिवर्तन भएको थियो । पछिल्लो श्रीलंकाविरुद्ध खेलेका नवयुग श्रेष्ठ, अन्जन बिस्ट र विशाल राई बेन्चमा रहदा मनिष डांगी, सुजल श्रेष्ठ र दिनेश राजबंशीले स्थान बनाएका थिए ।  

यस अघि उद्घाटन खेलमा माल्दिभ्सबिरुद्द निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भुमिका दिएका हुन् । अघिल्ला दुबै खेलमा मनिषले बैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

नेपाल भारतलाई पराजित गर्दै पहिलो पटक साफ फाइनलमा पुग्ने दाउमा थियो । हारसँगै नेपालले अन्तिम खेलमा बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ । जुन खेल नेपालको लागि निनकै महत्वपूर्ण हुनेछ । जितले नेपाल फाइनल पुग्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ ।  

साफमा पहिलो हारसँगै नेपालको ३ खेलबाट ६ अंक रहेको छ । नेपाल अंक बराबर भएपनि दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा माल्दिभ्स छ । यस्तै प्रतियोगितामा पहिलो जित निकालेको भारत ३ खेलबाट ५ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बाकी रहँदा भारतको समेत फाइनल पुग्ने सम्भावना बाकी रहेको छ ।  

यस अघि आजनै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।