दशैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल

दशैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन २५, २०७८

विजयादशमीलाई लक्षित गर्दै २ वटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् । २१ असोजदेखि खुलेको जानकारी दिँदै चलचित्र संघले २ साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए ।

चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त कार्यक्रममा चलचित्र महासंघका महासचिव अशोक शर्माले वितरक, प्रदर्शक तथा निर्माताहरूको छलफलबाट २ साताको ग्याप राखेर ३ महिनासम्म फिल्म रिलिजको क्यालेन्डर सार्वजनिक गर्ने बताएका थिए । 

तर, यसको केही दिन नबित्दै विजयादशमीलाई लक्षित गर्दै २५ असोजबाट धन्दागिरी र २६ असोजमा डाँडाको वरपीपल प्रदर्शनमा आउने भएका छन् । यी २ फिल्मको पोस्टर यतिबेला उपत्यकाको विभिन्न स्थानमा प्रचारप्रसारका लागि तासिएका छन् । कोरोना भाइरसको दोस्रो महामारीपछि नेपाली फिल्मको पोस्टर देखिनु उत्साहको विषय भए पनि एकै पटक २ फिल्म आउँदा व्यापारलाई असर गर्ने निश्चित छ । 

एक वितरकले नाम नखुलाउने शर्तमा भने, 'वितरकहरूले नै कुरा नबुझ्दा क्यालेन्डर निस्किन समस्या भयो, अब फिल्महरू पनि नजुध्लान् भन्न सकिँदैन ।' डाँडाको वरपीपललाई शोभित बस्नेतले निर्देशन गरेका छन् । यसमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापालगायतको अभिनय छ ।

धन्दागिरीमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, धीरेन शाक्य, दिनेश डीसीलगायतको अभिनय छ । यसलाई एनबी अन्जानले निर्देशन गरेका हुन् ।