मुन्धुमका तीन पथ–प्रदर्शन

मुन्धुमका  तीन पथ–प्रदर्शन

हरिचन्द्र लावती  |  जीवनदर्शन  |  बैशाख २६, २०७६

 

 मुन्धुम् र तान्त्रिकशास्त्र

मानव जीवनमा अनेक क्रिया र अनुष्ठानहरू गरिन्छन्, अनि मात्र जीवन पूर्ण बन्छ । चम्जिक् मुन्धुम् (तान्त्रिकशास्त्र)ले अकालमा मृत्यु हुनको प्रेत आत्माको दुःखबाट मुक्त हुने, नकारात्मक मानव सोच हटाउने जस्ता मुन्धुम्संगत अनुष्ठानहरू सम्पन्न गर्छ । चम्जिक् मुन्धुम् निम्न अनुष्ठानहरूसँग सम्बन्ध राख्छ । 

१ इधोक्लुङ् साम्सोघा सेप्मा मुन्धुम् (लडिमरेर प्रेत बनेकालाई मार्ने मुन्धुम्)

२ खाप्पुरा/थाप्पुरा सुगुत् सेप्मा मुन्धुम् (सुत्केरी हुन नसकी प्रेत बनेकालाई मार्ने मुन्धुम्)

३ आबु ससिक् सेप्मा÷थेप्मा मुन्धुम् (दाँत नउम्री प्रेत बनेकालाई मार्ने/रोक्ने मुन्धुम्)

४ तिङ्तिङ् नाहेन् साक्मा मुन्धुम (आँखीडाही मन्साउने/रोक्ने मुन्धुम्)

५ थिरि यङ्दङ् मुन्धुम् (मातृवियोगले मुत्यु भई प्रेत बनेकाहरू मार्ने मुन्धुम्)

६ आङ्दोक् साघम् इङ्मा मुन्ध्म् (शिशुको तिर्सनाले सृजित अफापसिद्धमा मन्साउने मुन्धुम्)

७ तङ्अम्बा थेप्मा मुन्धुम् (जवानीमै मरेर प्रेत बनेकाहरूलाई छेक्ने मुन्धुम्) आदि ।

किरात धर्म र नयाँ संक्रमण

धर्म केवल आस्था र विश्वासको मार्ग हो । मानव विकासका लागि शान्ति र एकताको पदमार्ग, मानव र जीवको रक्षा गर्ने मार्ग अनि प्रकृतिबोध र रक्षा गर्ने मार्गलाई धर्म भनिन्छ न कि मानव र जीवहरूबीच फुट, अशान्ति, घृणा, अनादर, हिंसा पैदा गर्ने मार्गलाई । एउटा धर्मको विस्थापन र अर्को धर्मको स्थापना अनि धर्ममा विकृति आएको विषम परिस्थितिलाई नै यहाँ संक्रमण भनिएको छ ।

राजनीति र धर्म परिवर्तन     

नेपालको इतिहासमा राजनीतिमा धर्म र धर्मम राजनीतिलाई उपयोग गरी राज्य र शक्ति विस्तार गरेको पनि पाइन्छ । यक्सो (२०७५, पृ. ४) भनेका छन्– वि.सं. १८३१ मा पृथ्वीनारायण शाहसँग लिम्बू राजा श्री सुन राई, श्री कुम राई र श्री जुङ् राईले लालमोहर प्राप्त गरी हिन्दू धर्म स्वीकार गरेको र वि.सं. १८८२ मा राजेन्द्र विक्रम शाहबाट वेद– ऋचाद्वारा धर्म–कर्म गर्न पाउने लालमोहर सुनुवारले प्राप्त गरेको ऐतिहासिक घटनालाई लिन सकिन्छ ।

 महागुरु फाल्गुनन्द र सत्यधर्म मुचुल्का

महागुरु फाल्गुनन्दको समयमा देशमा नवधर्म प्रवेश र धर्म परिवर्तनले जकडेको थियो । यो सबै चेतनाको अभाव, स्वार्थ र राजनीतिक दबदबाको कारण थियो । दक्षिण एसियामा इशाई धर्मको प्रवेश भएको थियो । हिन्दू र मुसलमानको धार्मिक द्वन्द्वले धार्मिक असहिष्णुता मच्चाएको थियो । कोही आफ्नो अनुष्ठानको नाममा जाँड, रक्सी जस्ता मदिरा सेवनमा लट्ठ भएका र पशुबलि गरी पूजाआजा गर्ने संस्कारमा चुर्लुम्म डुबेको अवस्था थियो । यस्तो अवस्थामा महागुरु फाल्गुनन्दले सादगी जीवन बिताउन, धूप फलफूलले पूजा आराधना गर्न, आफ्नो भाषा संस्कृति सिक्ने, योग ध्यान गर्न सिकाए । फक्ताङ्लुङ्मा (कुम्भकर्ण हिमाल) को भ्रमण गरी ताप्लेजुङको घुन्सामा अवस्थित ‘मारुङ् फुक्कु पारुङ् फुक्कु फक्ताङलुङ् फुक्कु’ सम्पूर्ण किराँतीहरूको पवित्र तीर्थस्थल हो भने । तुम्बाहाङ् (२०६८, पृ.३०) भन्छन्, ‘महागुरु फाल्गुनन्दले कैयौं मातृभाषामा साक्षरता कार्यक्रम पनि सञ्चालन गरे, कैयौं स्थानमा मन्दिर बनाएर सिरिजङ्गा लिपिमा लेखिएको मुन्धुम् आफ्ना चेलालाई पाठ गर्न लगाए ।’ त्यसपछि १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा सत्रथुम तथा दश लिम्बूवानका प्रतिनिधिको भेला बोलाई निम्न दस–सूत्रीय (७+३) ‘सत्यधर्म मुचुल्का’ सभाद्वारा पास गरियो । यो समाज सुधारको इतिहासमा ऐतिहासिक कोशेढुंगा बन्न पुग्यो ।

दस–सूत्रीय ‘सत्यधर्म मुचुल्का’

१. पूजापाठका लागि मन्दिर र अज्ञानता निवारणका लागि लिम्बू भाषा एवं सिरिजंगा लिपिमा पठनपाठन् हुने पाठशाला निर्माण र स्थापित गर्ने । पूजा खर्च र शिक्षकको तलबका लागि प्रत्येक लिम्बूबाट श्रद्धाले दुई आना दिने ।

२.     चन्दा संकलन गर्दा खर्च भएको व्यहोरा राम्ररी राख्ने र गाउँ सुधारको काम गर्नुअघि सबैको सल्लाह मतो गर्ने, गाउँलेमा एकताको अनुभव र महत्व बुझाउने ।

३.     काटमारलाई बन्द गर्ने र यसको सट्टामा धूप बत्ती र फलफूल मात्र चलन गर्ने ।

४. चेलीबेटीहरूको सोत–रीत खाने लिम्बूको चलन मनुष्य धर्मविपरीत रहेकाले अब उप्रान्त सोत–रीत नखाई बागदत्त ठहराई विवाह गरिदिने, विवाहपछि माइतीलाई जूठो नलाग्ने ।

५. पुरुषको मृत्युमा ९ दिन र महिलाको मृत्युमा ८ दिन जूठो बार्ने चलनलाई अब उप्रान्त ४ दिन र ३ दिन मात्र बार्ने ।

६.     सुतकमा छोरा भए ४ दिन र छोरी भए ३ दिन बार्ने चलनलाई सनातनबमोजिम परिवारले १० दिन र सुत्केरीले २२ दिन बार्ने ।

७. कसैको मृत्युको समयमा काजकिरिया बार्ने समयमा जाँड, रक्सी, सुँगुर, कुखुरा आदि काटी पिण्ड दिने र मलामीलाई खुवाउने चलन बन्द गर्ने र अबउप्रान्त अदूवा, दूध र चामलको पिण्ड दिने र सोहीबमोजिम जूठो बार्दा र फुकाउँदा मद, मदिरा र मासुको प्रयोग नगर्ने ।

८.    लिम्बूहरूमा कुखुरा–सुँगुरको मासु खाने चलन सुरुमा नभएको र पछिबाट खाने चलन सुरु भएकाले अबउप्रान्त यो नखाने ।

९     लिम्बूहरूको प्रत्येक संस्कारमा (जन्म, विवाह, मृत्यु र पूजामा) जाँड, रक्सी र मासुको प्रयोग भएकाले यो प्रयोग खर्चालु भएको, अधर्मी र अस्वस्थकरसमेत भएकाले यसलाई अबउप्रान्त बन्द गर्ने, सकभर नखाने ।

१०. विवाहमा दुलहा–दुलहीलाई मुन्धुम् नसुनी–नसुनाई यस्तो शुभकार्य सम्पन्न नहुने भएकाले यो परम्परा सुरु गर्ने र लिम्बूले कपास खेती गरी आफैले कपास कातेर गाउँघरमै कपडा बुन्ने । अब उप्रान्त विदेशी कपडा नलाउने ।
सत्य धर्म मुचुल्काले किराँत धर्म संस्कृतिमा नयाँ आयाम ल्यायो– सत्यहाङ्मा पन्थको सूत्रपात । उनको त्याग, ज्ञान र तप गुण र शक्ति देखेर उनलाई मुहिगुम् अङ्सिमाङ् भनियो । यक्सो (२०७५: १३) भन्छन् ‘...फाल्गुनन्दको निरन्तर प्रयासको फलस्वरूप केही किराँतीहरूले शिक्षा–दिक्षा प्राप्त गर्न सफल भएका थिए । त्यसपछि ती दीक्षित व्यक्तिले महागुरुलाई ‘मुहिगुम् अङ्सिमाङ्’ भनेर उनीप्रति आदर सम्मान गर्न थाले । फाल्गुनन्दलाई मुहिगुम् अङ्सिमाङ भनेर आदर गर्नु उपयुक्त नै थियो । किनकि फाल्गुनन्द साँच्चिकै ध्यानी, ज्ञानी, योगी, सन्यासी, ब्रह्मचारी, तपस्वी, योग–साधना र उपासना आदि असाधारण गुण, धर्म र विशेषताले युक्त भएका व्यक्ति थिए ।’
 
 मुन्धुम् विकास र संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्व

मौखिक र श्रुति परम्परमा संरक्षित थुङ्साप् मुन्धुम्लाई परम्परागत र व्यावहारिक रूपमा फेजिकुम् फेदाङ्मा, साबाला साम्बा, येभुङ् येबा वा येभुङ् येमा र तुम्याहाङ्ले प्रयोग र संरक्षण गरिआएका छन् । मुन्धुम्लाई ‘थुङ्साप््’बाट ‘पेसाप्’ स्वरूपमा पनि रूपान्तरण गरिएपछि मुन्धुमको व्यावहारिक प्रयोग र संरक्षण सेवासाबाहरूबाट पनि निरन्तर भइआएको छ । अनि मुन्धुम्को नेतृत्वदायी संरक्षण एवम् विकास गरिआउने महान व्यक्तित्व निम्नअनुसार छन्–

येहाङ् – महापुरुष, दार्शनिक एवं येहाङ्–शास्त्रका प्रवर्तक । येहाङ्–शास्त्रले स्थापना गरेका आठ व्यवस्था– 

क) मुहिगुम् अङ्सिमाङ् (महापुरुष दार्शनिक): ईश्वर दर्शन गरी ज्ञान प्राप्त गर्न (गुफा बसेर) तपस्या गर्ने तपस्वी ज्ञानी जो सादगी जीवन बिताउने सु–सङ्गत गरी जीवन–दर्शनको स्रोत मानिने मानिस । 

 ख) फजिकुम्/फजिरि फेदाङ्मा: मानिसको सामाजिक जीवनमा खास गरेर जन्म, विवाह र मृत्युसँग सम्बन्धित काम गर्ने व्यक्तिलाई फेजिकुम् फेदाङ्मा भनिन्छ । युमा साम्माङ्, थबा साम्माङ् र हिम् साम्माङ्हरूलाई पुज्ने मुख्य शास्त्रधारी लिम्बू पुजारी । 

ग) सावाला साम्बाः ब्रह्माण्ड, पृथ्वी, जीवहरूको सृष्टि, विकास र परम्पराको गाएर नौतले लिङ्गो गाडेर थाल ठटाई नाच्दै अनुष्ठान गर्ने विख्यात छुट्टै लिम्बू पुरोहित । 
 

घ) येभुङ् येबाः याग्राङ्सिङ् (बाँसको लिङ्गो गाडेर त्यसमा थुन्चे, के अथवा च्याब्रुङ् बाजा र तरवार झण्ड्याएर बनाइने पूजा मण्डप) तयार गरी येसामा (येबाले लगाउने सामग्रीहरू, जस्तैः सेतो मेख्लि/कपडाको जामा, दुम्सीको काँडा समुद्रमा पाइने कौडी जडित श्रीपेच, घण्टी पङ्गे जडित कम्मरमा बाँध्ने छालाको चौडा पेटी) पहिरिएर ताधक्मा (मुन्धुम् फलाक्नु) गर्दै थाल ठटाएर याग्राङ्सिङ् वरिपरि नाच्ने छुट्टै लिम्बू पूजारी । येभुङ् येबा खास गरेर तङ्सिङ् तक्मा कार्यमा संलग्न हुन्छन् । येबाले प्रेतात्मा (सुगुत्, सोघा, इ.) खेलाउने, थुनछेक गर्ने र मार्ने काम गर्छ । 

 ङ्. येभुङ् येमाः तान्त्रिक विद्याले युक्त लिम्बू स्त्री विदुषी छट्टै पुरोहित । येभुङ् येमाले मूलतः ‘फुङ्सारि चाङ्मा (महिलाको शिर उठाउने)’ काम गर्छिन्, जसअन्तर्गत फुुङ्वा लेम्मा र फुङ्वा चाङ्मा कार्यमा चकित काम गर्छिन् ।

१. फुुङ्वा लम्माः फुङ्सारि (पवित्र पानी र फल राखिएको काँसको सफा लोहोटा)मा सिङ्जाङ्गो फुङ् (श्याम फूल), नाम्यो फुङ् (तितेपाती फूल), याक्चिरि/अम्लारि फुङ् (सुनाखरी फूल), साम्जिरि फुङ्(कमल फूल), हेक्ला फुङ् (लालुपाते फूल), लेक्वासेन् फुङ् (युवती फूल), साङ्बयो फुङ् (भलाद्मी फूल), थोक्फत्ला फुङ् (लालीगुराँस फूल), मुक्कुम् फुङ् (पहाडी फूल) गरी जम्मा नौ थरीका फूलको फुङ्सारि तयार गरी येभुङ् येमाले मुन्धुम् ताधक्मा गर्दै फुङ् लेम्मा गर्छिन् । उस बखत फुङ्सारिमा भएको फूल ओइलिन्छ । 

२. फुङ्वा चाङ्मा: फुङ्सारि (पवित्र पानी र फल राखिएको काँसको सफा लोहोटा)मा सिङ्जाङ्गो फुङ् (श्याम फूल), नाम्यो फुङ (तितेपाती फूल), याक्चिरि÷अम्लारि फुङ् (सुनाखरी फूल), साम्जिरि फुङ् (कमल फूल), हेक्ला फुङ् (लालुपाते फूल), लेक्वासेन फुङ् (युवती फूल), साङ्बयो फुङ् (भलाद्मी फूल), थोक्फत्ला फुङ् (लालीगुराँस फूल), मुक्कुम् फुङ् (पहाडी फूल) गरी जम्मा नौ थरीका फूलको फुङ्सारि तयार गरी येभुङ् येमाले मुन्धुम् ताधक्मा गर्दै फुङ् चाङ्मा गर्छिन् । उस बखत फुङ्सारिमा भएको फूल जागा हुन्छ । 

यो अनुष्ठानले निष्कृय वा कमजोर जीवन पुनः जागरुक र ऐश्वर्यवान् बन्छ, शीर उच्च रहन्छ ।

च. साम्मुन्धुम् येप्मुन्धुम् साबा: हिङ्साम्लो (जीवन गीत), मेक्खिम् साम्लो (विवाह गीत) र सिसाम्लो (मृत्यु गीत) का साथ पालाम्, हाक्पा¥या र ख्यालि जस्ता शास्त्रीय गीतका साथमा नृत्य गरी सुख–दुःखमा मानवजनलाई साम्मुन्धुम् येप्मुन्धुम् साबा भनेर भनिन्छ ।

छ. खाइक्साबाः लिम्बू ज्योतिषशास्त्री जसले विश्व ब्रह्माण्डसँग मानिसको क्रिया र जीवन विषयका अध्येता । 

ज. सिःदालाम् सिःदाबाङ्दा ताङ्बाः लिम्बू वैद्य जसले प्रकृतिमा पाइने औषधियुक्त बिरुवा र पदार्थका ज्ञाता । सिःदालाम् सिःदाबाङ्दा ताङ्बाले जडिबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छ ।

२) सोधुङ्गेन् लेप्मुहाः लिम्बू महापुरुष र दार्शनिक, किराँत कर्मकाण्डीय संस्कार–संस्कृतिका प्रणेता ।

३) कान्देन्हाङ्ः प्रख्यात महापुरुष र दार्शनिक ।

४) थाक्थाकु मावोहाङ्ः युमासाम्माङ्को अवतार, महापुरुष र दार्शनिक ।

५) त्येअङ्सि सिरिजङ्गा सिङ् थेबेः येहाङ् शास्त्र, किराँत लिपि र लिम्बू भाषाको संरक्षक र प्रचारक ।

६) माहागुरु फाल्गुनन्द लिङ्देनः महान समाज सुधारक, सत्यधर्म मुचुल्काका प्रवर्तक, मुन्धुम् भाषा र सिरिजङ्गा लिपिको संरक्षक र उत्थानकर्ता, शान्ति र अहिंसाका पुजारी र सत्यहाङ्मा पन्थको जन्मदाता 

७) इमानसिं चेम्जोङ्ः इमानसिं चेम्जोङ् (इ.सं.१९०४–१९७५) लिम्बू भाषा र मुन्धुम् विकास र संरक्षण गर्ने एउटा महान व्यक्ति हुन् । उनीद्वारा लिखित पुस्तकहरूमाः किराँत इतिहास १९४८, किराँत साहित्यको इतिहास १९५५, Kirat Folklore 1961 किराँत मुन्धुम् १९६१, लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश १९६१, किराँत मुन्धुम् खाहुन् १९६५, किराँत इतिहास र संस्कृति १९६७, किराँत दर्शनको सारांश १९६९, लेप्चा–नेपाली–अंग्रेजी शब्दकोश १९६९ र विजयपुरको इतिहास १९७४ प्रमुख रूपमा भएको पाइन्छ । 

८) वर्तमान किराँत धर्मगुरु आत्मनन्द लिङ्देनः वर्तमान किराँत धर्मगुरू आत्मनन्दबाट किराँत धर्म–संस्कृति तथा मुन्धुम्को संरक्षण र विकासमा महत्वपूर्ण योगदान छ । लिङ्देन ‘महागुरु फाल्गुनन्दले किराँत धर्मको प्रचार प्रसार गर्दागर्दै उहाँ परमधाम भएपछि सर्वत्र कार्य अधुरो रह्यो । साम्जिक मुन्धुम सम्पादन, कर्मकाण्ड निर्देशिका, माङहिम निर्माण, सरकारमा धर्म संगठनको दर्ता कार्य, ज्योतिषशास्त्रको निर्माण आदि महान कार्यको बिट मार्नु जस्ता कार्यलाई पूरा गरिरहनुभएको छ (येङ्देन २०७३) ।’ वर्तमान किराँत धर्मगुरुबाट लिम्बू भाषा र संस्कारको उत्थानमा समेत सहयोग पुगेको छ ।

९) किराँत मुन्धुम विकास गर्न सहयोग पुर्‍याउने अरु महत्वपूर्ण लिम्बूहरूमा पूर्वकूलपति बैरागी काइँला (तिल विक्रम नेम्बाङ्), रण बहादुर मेन्याङ्बो, लगायतका स्वदेशी व्यक्तित्वहरू, 

१०) बी. एच. हड्सन, प्रोफेसर आर.के. स्प्रिग लगायतका विदेशी व्यक्तित्वहरू एवं

११) विभिन्न संघसंस्थाहरु । 

७. निष्कर्ष
मुन्धुमले निम्न तीन पक्षको व्याख्या र पथ–प्रदर्शन गर्छः

पथ–प्रदर्शन– १ 

मन्धुमले विश्वब्रह्माण्ड, सूर्य, पृथ्वी, हावा, पानी, मानव लगायत सम्पूर्ण जीव र वनस्पतिको सृष्टि वर्णन गर्छ ।

अहिलेको विज्ञानले राखिरहेको ब्रह्माण्ड उत्पतिको विचारजस्तै मुन्धमले तारा, चन्द्र, सूर्य, पृथ्वी, आकाश, हावा, पानी केही थिएन, खाली शून्य र अन्धकार थियो भन्ने कुरासँगै तादाम्यता राख्छ । सो अन्धकारमा तागेरानिङ्वाफुमाङ्ले उज्यालो दिनुभयो र यस ब्रह्माण्डको सृष्ट्रि गर्नु भयो भन्छ । मुन्धुमले पोरक्मी यम्फामी भन्ने देवताले मानवको सृष्टि खरानी, पानी जस्ता प्राकृतिक जैविक गुणयुक्त पदार्थहरूबाट गरेको वर्णन गरेको छ । त्यसैको आधारमा मुजिङ्ना खेयोङना अर्थात् खिजोरा (रेसा जस्तो हल्लिने जीव)को विकास भयो । यहीबाट अहिलेको मानव बन्यो भन्ने मुन्धुमले वर्णन गर्छ । मुन्धुम्को वैज्ञानिक आधारतत्वको अर्को रूप भनेकै यसले विभिन्न स्थानको वर्णन गर्छ, जहाँ लिम्बू अर्थात् याक्थुङ्हरू बसोबास गर्थे/गर्छन्, उदाहरणको लागिः मुन्धुममा मनातेम्बे, मनासावर, सोन्धुङ्गेन वरक, खाम्भुरादेन, मिकफुरादेन, योसुलुङ् थोसुलुङ, ताइलेक्यन, साम्रोक्यन, सिन्युक्मुदेन जस्ता ठाउका नाम आउँछन् । सिन्युक्का अर्थे चीन र मुदेनको अर्थ भोट भन्ने हुन्छ । आप्ताङ्वा–तिदाङ्वा, ताम्मावा (काबेली?), थेमुवा, साम्याङ्वा (सुनकोशी)?, युप्पावा (दूधकोशी?), पेन्जेवा (काली गण्डकी?) ताःम्बावा (तामाकोशी?), जस्ता स्वच्छ खोलाहरूको सृष्टि भएको वर्णन आउँछ । यीबाहेक अन्य कैयौं स्थान र नदी कहाँका र कुन–कुन हुन तोकेरै भन्न सकिने स्थिति अहिले पनि छैन । 

पथ–प्रदर्शन– २ 

मुन्धुमले विभिन्न मानव समूह एवं जातिको पनि वर्णन गर्छ । ती मानव समूहहरू र जातिहरूमा सिन्युक् साहा? (चिनियाँ सन्तानहरू), मुदेन्साहा? (भोटीया सन्तानहरू), तेÞम्बेÞेबा साहा? (मैदानका सन्तानहरू), वलक्पा साहा? (महा सागर आसपास निबासी सन्तानहरू), खाम्जिरि साहा? (यही माटोमा जन्मेकाका सन्तानहरू), खाम्बोःङ्बा लुङ्बोःबा साहा? (यही भूमिमा उत्पन्न भएकाका सन्तान), सावाला साहा? (सृष्टिका मानिसहरू), येत्हाङ साहा? (ईश्वरीय ज्ञानले सम्पन्न लिम्बू पुरोहित, जसले सर्वप्रथम सृष्टिको कथाको वर्णन गरी संस्कारगत कर्मकाडकाण्डीय विधिको निर्माण गर्ने प्रथम पुरुष)हरूको वर्णन आउँछ र त्यही आदिम मानव समूहलाई नै आज लिम्बू भनिएको हो । आजका लिम्बूहरू तिनै येत्हाङ्का सन्तान भएको कुराको वर्णन गर्छ । 

पथ–प्रदर्शन– ३

तिनै ठाउँहरूमा बसोबास गरिरहेका आदिम मानव जाति र उनीहरुले आफ्नो संस्कृति तथा परम्परा के कसरी गरिन्छ भन्ने व्याख्या गर्छ । मुन्धुम् किराँत याक्थुङ दर्शन हो । यो मुलतः सहअस्तित्ववादी दर्शन हो । यसले भौतिक पदार्थ र जगत र ईश्वरको सम्बन्धमा तर्कसंगत र वैज्ञानिक व्याख्या गर्छ । तर, यसले भौतिक पदार्थ र जगतमात्र सबैथोक भनेर भन्दैन न त यसले ईश्वर नै सबै थोक हो भनी भन्छ । जीवन र विश्वब्रह्माण्ड सञ्चालनमा ईश्वर र भौतिक पदार्थ दुवैको महत्व बुझ्छ । किराँत याक्थुङ दर्शनले एक व्यक्तिको व्यक्तिगत जीवनलाई पनि महत्व दिन्छ । त्यसैले नै याक्थुङ संस्कारमा मानिस जन्मनुभन्दा पहिल्यै उपकार र उपचार गरिन्छ । जन्मिएपछि नवजात शिशुलाई यो विश्व ब्रह्माण्डलाई चिनाइन्छ । प्रकृतिसँग साक्षात्कार गरेर बाँच्न प्रेरित गरिन्छ । उसलाई जहिल्यै पनि उच्च शीर बनाएर शीर नढली जीवनयापन गर्न सिकाइन्छ । एक व्यक्तिको शीर ढल्नु भनेको जीवनको उर्जा र उत्साह मर्नु हो । अतः त्यसो नहोस् भनेर शीर उठाइन्छ अथवा माङगेन्ना गरिन्छ । जीवनकालमा कसैको सफलता र प्रगतिमा अरुको आँखीडाही (नाहेन्) लाग्छ कि भनेर नाहेन् गरिन्छ । 

मुन्धुम्ले मृत्युमा पनि जीवनको अस्तित्व खोज्छ । मुन्धुम्मा मानिसको मृत्युलाई पनि एकदमै तर्कसंगत र संवेदनशील तवरले लिइन्छ । मानिस मर्नु र अर्को जुनीमा सर्यो भनेर मात्र भन्नु न्यायसंगत मानिँदैन । लिम्बू जातिको मृत्यु संस्कारअन्तर्गत ‘खाउमा मुन्धुम’लाई राम्ररी व्याख्या–विश्लेषण गरेर हेर्दा स्पष्ट हुन्छ । खाउमा मुन्धुममा मृतकको मृत्युको कारणको स्पष्टीकरण मागिन्छ । त्यसबारे समाजका भद्रभलाद्मीसँग सोधखोज गरिन्छ । बिरामीलाई बचाउन परिवारजन र सरोकारवालाले कोसिस गरे कि गरेनन् भनेर उसको मानव अधिकारको खोजी पनि गरिन्छ । त्यसैले, किराँत याक्थुङ दर्शन मानवतावादी एवं सह–अस्तित्ववादी दर्शन हो भनेर भन्न सकिन्छ ।
अन्तमा, 
१. मुन्धुम्मा वर्णित वस्तु र स्थानको खोज अनुसन्धानद्वारा पहिचान गरी तिनीहरूको संरक्षण र विकास गर्नुपर्छ । 

२. आन्तरिक र बाह्य बसाइसराईले मुन्धुम र मुन्धुमी पहिचान संकटमा पर्दै गएको । शिक्षा, रोजगारी र जीवनशैली यसको प्रमुख कारक तत्व हुन् । 

३. हाम्रो संस्कार समय सापेक्ष बनाइनुपर्छ– मौलिकता रक्षा, सादगी जीवन, उपलब्ध संस्कारमा आवश्यक सामग्री, संस्कार अपनाउन उपलब्ध हुनसक्ने समय, अनि बोझिलोपना र झन्झटताको सरलीकरण, आदि । यसो गरिएन भने विश्वव्यापीकरण र सांस्कृतिक उपनिवेशबाट हाम्रो धर्म संस्कृति बचाउन कठिन हुन्छ । मानव संस्कार जीवन्त हुन्छ, अतः यसमा क्रियाप्रतिक्रियाहरू स्वभाविक रुपले हुन्छन् । तर, त्यो मानव कल्याणकारी हुनुपर्छ । हाम्रो सांस्कृतिक कार्य, बोलीवचन र व्यवहार आफू–आफूबीच र नेपाली–नेपालीबीच सद्भाव, मेलमिलाप र सहअस्तित्वमा सहयोग पुर्‍याउने किसिमको हुनुपर्छ । 

समाप्त

(नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दमक नगरपालिका, दमक प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रदेश १ स्तरीय त्रिदिवसीय बृहत् वाङ्मय संगोष्ठी–२०७५ मा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभा सदस्य हरिचन्द्र लावतीले प्रस्तुत गरेको ‘किराँत मुन्धुमको दार्शनिक चिन्तन’ विषयक कार्यपत्रलाई आलेखको रूपमा प्रस्तुत गरेका छौं । यसै कार्यपत्रको पहिलो भागका रूपमा यसअघि ‘किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा’  , किराँत मुन्धुम्ः लिम्बू जातिसँगकाे संस्कृति र संस्कारगत सम्बन्धमुन्धुम्, सृष्टि र जीव विज्ञानसँगको सम्बन्ध र मुन्धुम् अनुसार लिम्बु जातिका जन्म, विवाह र मृत्यु संस्कार

 शीर्षकमा आलेख प्रकाशन गरिएको थियो ।)

याे पनि

किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा

किराँत मुन्धुम्ः लिम्बू जातिसँगकाे संस्कृति र संस्कारगत सम्बन्ध

मुन्धुम्, सृष्टि र जीव विज्ञानसँगको सम्बन्ध

मुन्धुम् अनुसार लिम्बु जातिका जन्म, विवाह र मृत्यु संस्कार