यी खेलाडीका लागि अन्तिम हुन सक्छ यो आइपिएल

यी खेलाडीका लागि अन्तिम हुन सक्छ यो आइपिएल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २६, २०७६

काठमाडौं । आइपिएलको १२ औं संस्करणमा अब दोस्रो क्वालिफायर र फाइनल खेल हुन मात्रै बाँकी छ ।

पहिलो क्वालिफायरबाट मुम्बई इण्डियन्स फाइनल पुगिसकेको छ । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स शुक्रबार भिड्दैछन् । चेन्नई पहिलो क्वालिफायरबाट पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो भने दिल्लीले इलिमिनेटरमासनराइजर्स हैदरावादलाई पराजित गरी क्वालिफायरमा स्थान बनाएको हो ।

केही स्टार खेलाडीको खराव प्रदर्शनले कोलकाता नाइट राइडर्स, किंग्स इलेभन पञ्जाव, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर समूह चरणमै रोकिए । जसका कारण यी खेलाडीलाई अर्काे वर्ष आइपिएलमा रिटेन हुनु मुस्किल देखिएको छ ।

को–को हुन् यी खेलाडी ?

बेन स्टोक्स (राजस्थान रोयल्स)

राजस्थानले इग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सलाई १२.५ करोड रूपैयाँमा रिटेन गरेको थियो । तर, उनले आफ्नो प्रदर्शनबाट टिमलाई सन्तुष्ठ बनाउन सकेनन् । ९ म्याच खेलेका उनले २०.५० को औसतमा १२३ रन बनाए भने ११.२२ को औसतमा ६ विकेट लिए । त्यसकारण यो सिजन उनका लागि अन्तिम आइपिएल हुने देखिएको छ ।

युवराज सिंह (मुम्बई इण्डियन्स)

युवराजको आइपिएल सिजल पछिल्ला केही संस्करणदेखि खराब छ । यो अवस्थामा उनलाई मुम्बई इण्डियन्सले चालू सिजनका लागि खरिद गर्यो । तर, उनले टिममा स्थान बनाउन सकेनन् । त्यसकारण यो सिजन उनका लागि अन्तिम आइपिएल हुने देखिएको छ ।

युसुफ पठान (सनराइजर्स हैदरावाद)

आइपिएलमा आफ्नो अलराउन्ड प्रदर्शनबाट युसुफ पठानले थुप्रै पटक आफ्नो टिमलाई जिताएका छन् । तर, अहिले भने उनको त्यो फर्म देखिँदैन । चालू सिजनमा १० खेल मात्रै खेलेका उनले ४० रन मात्रै बनाएका छन्, त्यो पनि ८८.८८को स्ट्राइक रेटमा । उनको फिल्डिङ पनि त्यति सन्तोषजनक रहेन । त्यसकारण आइपिएलको आगामी सिजनमा हैदरावादले उनको ठाउँमा युवा खेलाडी लिन सक्ने सम्भावना छ ।

उमेश यादव (रोयल च्यालेन्जर्स बैंग्लोर)

बलरले राम्रो प्रदर्शन गर्न नसक्दा बैंग्लोरले यो सिजनमा खराब प्रदर्शन गर्यो । बैंग्लोरका सबैभन्दा अनुभवी बलर उमेश यादवले पछिल्लो सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा थिए । उनले पछिल्लो सिजनमा २० विकेट लिएका थिए । यही कारण कप्तान विराट कोहलीले उनलाई यस वर्ष पनि खेलाउन जोड दिएका थिए । तर, यो सिजन यादवका लागि निकै खराव रह्यो । चालू सिजनमा यादवले ९.८ को इकोनोमी रेटमा ११ खेलबाट ८ विकेट मात्रै लिन सके । स्मरण रहोस्, बैंग्लोर खराब पफर्मेन्स गर्ने खेलाडीलाई बदल्न ढिलाई गर्दैन ।

एन्ड्रयु टाए (किंग्स इलेभन पञ्जाव)

३२ वर्षीय बलर एन्ड्रयु टाएका लागि आइपिएलको पछिल्लो सिजन निकै सुखद् बनेको थियो । उक्त सिजनमा टाएले २४ विकेट लिएका थिए । उनको नक्ल बल बुझ्न ब्याट्सम्यानलाई निकै कठिन भएको थियो । तर, यो सिजन उनका लागि सुखद् रहेन । उनले ६ खेलमा १०.५९ को इकोनोमी रेटमा तीन विकेट मात्रै लिए ।

रोविन उथप्पा (कोलकाता नाइट राइडर्स)

कोलकाता नाइट राइडर्सका पूर्वकप्तान गौतम गम्भीरपछि टिमका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्, रोविन उथप्पा । आइपिएलमा सानदार रेकर्ड भए पनि यस सिजनका केही खेलमा उनी प्लेइन इलेभनमा परेनन् । उनको प्रदर्शन नितिश राणा तथा शुभमन गिलजस्ता खेलाडीको तुलनामा कमजोर सरह्यो । पछिल्लो खेलमा उनले २५ बलमा एक रन पनि जोड्न सकेनन् । त्यसकारण आगामी सिजनमा उनले आइपिएल खेल्न पाउने सम्भावना एकदमै कम छ ।

सन्दीप लामिछाने (दिल्ली क्यापिटल्स)

आइपिएलको यो सिजन दिल्ली क्यापिटल्सका लागि यादगार बनेको छ । दिल्लीले सात वर्षपछि प्लेअफमा स्थान बनाएको छ । त्यति मात्रै होइन, दिल्ली दोस्रो क्वालिफायरका लागि पनि छनोट भएको छ । दिल्लीले हरेक खेलमा एक टिम जसरी खेलेको छ । टिमको जितमा सबै खेलाडीको उत्तिकै योगदान पनि छ । तर, टिमका स्पिनर बलर सन्दीप लामिछानेले भने अपेक्षाअनुरूप खेल्न सकेनन् । उनको प्रदर्शन खराब भन्न नसकिए पनि खास पनि थिएन । उनले ६ खेलमा ९.१३ को इकोनोमी रेटमा ८ विकेट लिए । जबकि यी खेल दिल्लीको फिरोजशाह कोटलामा खेलिएका थिए, त्यहाँको पिच स्पिनरका लागि मद्दतगार हुन्छ । दिल्लीले आगामी सिजनमा लामिछानेको सट्टा अनुभवी स्पिनरलाई खेलाउन सक्ने सम्भावना छ ।

केदार जाधव (चेन्नई सुपर किंग्स)

चेन्नईले यस वर्ष बलरको प्रदर्शनबाट प्लेअफ पुग्न सफल भयो । तर, टिमको ब्याटिङमा थुप्रै प्रश्न उठिरहेका छन् । टिममा केही ब्याट्सम्यानले यस वर्ष खासै योगदान दिन सकेनन् । यीमध्ये एक हुन्, केदार जाधव । यस सिजनमा उनले १४ खेलमा २०.२५ को औसतमा १६२ रन मात्रै बनाए ।