महाभारत र गीताका दार्शनिक पक्ष: किरातहरूको धार्मिक स्वतन्त्रता र चण्डी सप्तशतीको संस्कृति

फर्कलान् र ती दिनहरू

महाभारत र गीताका दार्शनिक पक्ष: किरातहरूको धार्मिक स्वतन्त्रता र चण्डी सप्तशतीको संस्कृति

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  आश्विन ३०, २०७८

म कुनै राष्ट्रिय उत्तरदायी सार्वजनिक पद धारण गरेर बसेको मानिस पनि होइन । तर पनि आफ्ना आफ्ना जीवनमा भोगेका, सुनेका, आफैँले मनन अनि अनुभव गरेर केही  केही भन्न मिल्ने र बाँड्न मिल्ने अनुभवहरू सार्वजनिक गर्ने क्रममा केही भावना व्यक्त गरिरहँदा विभिन्न समयक्रमको याद आउँछ । 

मैले खासै कुनै त्यस्ता धार्मिक ग्रन्थको अध्ययन, पठन, पुनर्पठन या धार्मिक बहसमा भाग लिएको पनि छैन । करिब ७ दशकसम्मको लामो जीवनमा भने त्यस्ता कतिपय अवसर भने परेका छन् । मलाई त्यस्ता कुनै धार्मिक स्थलहरूको भ्रमणमा चासो पनि रहेन । सायद आधा भरिएको गाग्रो छचल्किन्छ । न पानी बाहिर निस्कन्छ, न त छचल्किन नेै छोड्छ । तर, अनादिकालदेखि नै बहस बढी हुने र विवादको भुमरीमा त्यही धर्म र धर्मका बारेमा नै भएको पाइन्छ ।

नदेखिने ईश्वरका नाममा बहस मात्र हुँदैन, उस्तै परे व्यक्तिगत, पारिवारिक तथा समुदायभित्रै काटाकाट , मारामार  र सामूहिक रूपमा आमहिंसात्मक कार्य पनि भएको सुन्नुपरेको छ । आजको युगमा पनि धर्मका नाममा एकले अर्कालाई अपमान गर्ने, हिंसात्मक काम कारबाही गर्ने, जसले सक्छ, उसैले अर्कालाई दपेट्ने, कुट्ने, काट्ने र आमहत्या गर्ने अमानवीय कार्यको पनि सप्रमाण उदाहरण पाइन्छ । यस्तो काम उनैको नाममा हुन्छ, जसको अस्तित्व भनेको मानवीय हृदयमा मात्र हुन्छ, जुन हृदयले मानवताको नाममा अरूको भलो मात्र गर्ने वचनबद्धता गरेको पाइन्छ । 

विश्वमा केही यस्ता देशहरू पनि छन्, जहाँ राज्यको धर्म हुन्छ र त्यो सर्वस्वीकृत धर्मबाहेक अरू धर्मको उपस्थितिसमेत ग्राह्य हुँदैन ।

सबै धर्मले आफ्नै धर्मलाई मानवताका लागि सेवा गर्ने प्रमुख धर्म हो भन्ने मान्दामान्दै अरूलाई अग्राह्य मान्नु नै त्यहाँ नै अमानवीय काम भएको हुन्छ । अहिलेसम्म पत्ता लागेको धर्मका सम्बन्धमा अनुसन्धान गर्नेले भन्छन्- वेदले दिएको आप्त वचन नै सबैभन्दा पुराना धारणाहरू हुन् भनिन्छ । त्यसो त वैदिक सभ्यताका बारेमा विभिन्न समयको अनुमान गरे पनि वेदलाई नै अपौरुषेय र अनादिकालदेखि चल्दै आएको भन्ने मान्यता पाइन्छ । त्यसो त वैदिककालभन्दा पनि पहिले सभ्यता थियो भन्ने विषय अनुसन्धानको विषय बनेको छ । तर, मानौँ, वैदिककालको समानताको महत्त्व आज पनि अनुसन्धेय र मननीय रहेको मानिन्छ ।

धर्मले विभिन्न समयमा निर्माण र विनिर्माणको भाग्य भोगेको छ र जुन धर्ममा धेरै अनुयायी बन्न सकेका हुन्छन्, तिनै धर्म टिकेका छन् । तर, पहिलेको स्वरूपमा भएको परिवर्तनलाई नै विनिर्माण मानिन्छ र त्यो पनि पुस्तान्तरणसँगै परिवर्तन हुन्छ । नयाँनयाँ परिभाषामा त्यसको आदर्श कायम हुन्छ । सायद त्यसैलाई उत्तर आधुनिकतावादीले निर्माणको समयक्रममा हुने विनिर्माणका बारेमा बढी नै  जोड दिन्छन् र पछिल्लो स्वीकारोक्तिलाई प्रयोगको चलन मान्छन् ।

मार्कण्डेय पुराणको देवी माहात्म्यले असत्यमाथिको विजय, सत्यमेव जयते भन्ने धारणा, विषयगत संजालका विभिन्न उदाहरणीय आधारहरू र तिनको पतनको सत्यसँगै आसुरी प्रवृत्ति भनेको अहंकार हो, अहंकारको विरुद्धमा आत्मशान्ति आवश्यक छ भन्ने सन्देश प्रवाहित छ । 

जहाँसम्म नेपालको प्रसंग छ, हिन्दु धर्म र राजतन्त्रलाई एउटै सिक्काका दुई पाटा मानियो । यसो विचार गर्दा नेपाल राज्यको भार गोपालवंशी, महिषपालवंशी, सोमवंशी , किरातवंशी, लिच्छवीवंशी, मल्लवंशी र शाहवंशी राजाहरूले गरेका पाइन्छन् । महाभारतको महायुद्धमा नेपालका तर्फबाट किरातवंशी राजाले भाग लिएको भन्ने लोकोक्ति छ । ती महाराज यलम्बर हुन् ।

अंगदेशका मानार्थ राजा कर्णले कुरुवंशीका लागि राज्य विस्तार गर्दा पनि नेपालमा किरातहरूको राज्य छ भन्ने थियो र सायद अहिलेको भूगोलको हिसाबले नवलपरासीतिर या भैँसालोटनतिरबाट नेपालका महाराजालाई खबर पठाएका थिए कि कुरुवंशीको साम्राज्य स्वीकार गर्न दबाबसहितको अनुरोध गरिएको थियो । कर्ण पनि त्यस बेलामा नेपाल अनुमति लिएर मात्र र सुरक्षाको प्रत्याभूति लिएर मात्र काठमाडौं उपत्यकामा प्रवेश गरेका  थिए भनिन्छ । त्यसको कारण थियो- त्रिशूलीको बाटो आउँदा पहाडबाट लुकेर लडाकुहरूले आक्रमण गर्ने, फर्किन पनि नसकिने र पहाडको बाटो थाहा पनि नपाएको हस्तिनापुरको सेनालाई अगम्य हुने बाटोका बारेमा जानकारी नहुनाले सुरक्षाको प्रत्याभूतिको जिम्मा लिएपछि मात्र पशुपतिको दर्शन गर्न आएको बुझ्न सकिन्छ । 

त्यस बेलामा पनि नेपालमा किरातीहरूको राज्य रहेको, अत्यन्त महसुर लडाकु सेनाको नायक रहेका किरातीहरू शैव धर्म मान्ने या शाक्त धर्म मान्ने अर्थात् प्रकृति धर्म मान्ने भन्ने बुझिन्थ्यो ।

महाभारतमा एउटा कुरालाई जहिले पनि जोड दिएको पाइन्छ- चाहे समताभावको राज्यसँग दौत्य सम्बन्ध राखेको बेलामा होस् या जितेर आफ्नो अधीन पारेको बेलामा होस्, त्यहाँका स्थानीय देवी-देवताको सम्मान गर्ने र पूजाआजा गरेर सम्बन्ध सुधार्ने चलन थियो या भनौँ कूटनीति थियो । नेपाललाई भारतभित्र समाहित गरिएको बुझिँदैन बरु दुर्योधनलाई नेपाली किरातीहरूको साथ पाए अपराजित किरातहरूले पाण्डव पक्षलाई हराउने थियो भन्ने देखिन्छ र कर्ण दुर्योधनका तर्फबाट नेपालसँग दौत्य सम्बन्ध राखेर गएका थिए ।

त्यस बेलामा उनले पशुपति, गुह्येश्वरीको दर्शन गरेका थिए । खासमा अर्जुनले किरातेश्वर महादेवसँग श्लेषमान्तक वनमा पशुपति महादेवसँग भयानक युद्ध गरेर खुसी पारेर पाशुपतास्त्र लिन सफल भएका थिए । सायद त्यो सफलताका कारणले पनि पहाडी राज्य नेपालमा हस्तिनापुरका भरतवंशीहरूलाई किरातहरूको शौर्यका बारेमा सुनेकाले किरातीहरूसँग सम्बन्ध विस्तार गर्न चाहेको बुझ्न सकिन्छ । तर, महाभारतको युद्धमा चाहिँ पाशुपतास्त्र प्राप्त गर्ने पाण्डवतिर किराती राजा यलम्बर लागेका थिए सम्भवतः ।

प्रकृति र पुरुषका पुजारी किरातहरू सकेसम्म तटस्थ रहेका थिए होलान् तर महाभारतको महासमर यस्तो जेलिएको गाँठोका रूपमा इतिहासमा देखिन्छ कि कोही पनि पक्ष वा विपक्षमा देखिनै पर्ने अवस्था रहेछ । एकातिर महाचीन या तिब्बती साम्राज्य, अर्कोतिर भारतको  साम्राज्य । 

हस्तिनापुरको चक्रवर्तित्वको जगजगी ।  त्यो महासमरमा सीमित व्यक्तिहरू मात्र जीवित रहेकाले यलम्बरको पनि त्यहीँ इहलीला समाप्त भएको थियो होला । तरफ लोकोक्ति त के पनि रहेछ भने तिनै यलम्बर नै हुन् बर्बरिक । बर्बरिकको अस्तित्व महाभारतमा कतै देखिँदैन तर लोकोक्तिमा र कतिपय भाषामा लेखिएका महाभारतमा बर्बरिकलाई घटोत्कचका पुत्रको रूपमा मान्यता दिइएको छ र एक जना पराक्रमी लडाकुको रूपमा मानिँदो रहेछ ।

यलम्बर र बर्बरिक उनै हुन् कि होइनन् भन्ने अनुसन्धान सायदै गरिएको होला किनभने पहाडी सानो राज्यका महाराज यलम्बरका बारेमा कसले पो अनुसन्धान गर्ने ? फेरि समयले फड्को पनि त मारिसक्यो नि ! यलम्बरको अस्तित्व र शौर्यको यस्तो बयान गरिन्छ कि उनी सिद्धहस्त लडाकु थिए र अन्यायका विरुद्धमा कम्मर कसेर लाग्थे । श्रीकृष्णलाई पनि थाहा थियो कि यलम्बर या बर्बरिक जे भनौँ, त्यो अन्यायका विरुद्धमा देखिँदा संभावित जालझेलमा उनको सहयोग पाइनेछैन । त्यसैले उनको हत्या भएको पनि हुन सक्छ बर्बरिकको नाममा या उनको महासमरमा वीरगति प्राप्त भएको पनि हुन सक्छ ।

अर्थात् नेपालमा शाक्त धर्म या प्रकृति धर्म मान्ने किरातहरूले पनि वैदिक चलनअनुसार राज्य चलाएका थिए किनभने उनीहरूका राज्यमा प्रजाहरू वैदिक धर्म मान्थे । राज्यको धर्म हुँदैन तर त्यहाँका जनताको इच्छाबमोजिमको धर्म मान्ने स्वतन्त्रता किरातहरूले पनि दिएका थिए भन्ने कुराको आधार किरातीहरूले पालना गरेको र राज्यको संचालनमा गरेको सम्यक परंपराले त्यही बताउँछ ।

नेपाल भन्ने राज्य जहिले पनि हिन्दू धर्मावलम्बीहरूको बाहुल्य भएको तर सबै धर्मको उत्तिकै सहभागिता रहेको देश भन्ने बुझिन्छ, जसको उदाहरण आज पनि उस्तै देखिन्छ । नेपालको एकता भनेको नै बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र स्थानीय बहुलताको आधारमा संस्कृतिको पहिचान, त्यो पनि संयमित अनि सहिष्णुताको एउटा समष्टिगत रूप नै हो नेपाल, नेपाली र नेपालको पहिचान ।

धर्मको सुरुवात कसरी भयो होला भन्ने आफ्नै आफ्नै मान्यता र दर्शन छन् । तर, नेपालमा नै बनेका धर्म हुन्- हिन्दु धर्म, बुद्ध धर्म, प्रकृति धर्म । इसाइ धर्म र इस्लाम धर्मको प्रादूर्भावचाहिँ नेपालमा भएको कुनै आधार फेला पर्दैन । र पनि ती धर्महरूको उपस्थिति र प्रचारप्रसारमा देखिएको विस्तारक्रमले देखाउँछ, नेपालीहरू धर्मप्रति सहिष्णु छन् र आपसमा मिल्नका लागि ती धार्मिक विवादहरू निकाल्दैनन् ।

हिन्दु धर्ममा पनि अनेक सम्प्रदायहरू छन् र अरू धर्ममा पनि विभिन्न पन्थहरू देखिन्छन् । कसलाई के गर्न मन छ, के खान मन छ, कसको पूजा गर्न मन छ या धर्म नमान्न पनि पाइने व्यक्तिगत स्वतन्त्रताको प्रयोग निर्बाध गर्न पाउने संवैधानिक अधिकार विद्यमान छ । तर, जबजब दसैँ आउँछ अनि जनगणना गर्ने वर्ष आउँछ, निश्चित धर्म र जात, सम्प्रदाय अनि भाषाका बारेमा गाली सुरु हुन्छ ।

यसलाई नेपालीहरूको मात्र प्रयास मान्न सकिँदैन । नेपालीहरूको सांस्कृतिक तथा साम्प्रदायिक सद्भावका विरुद्धमा लाग्नेहरूको प्रयास पनि हुन सक्छ । विवादका विषयहरूलाई समुदायस्तरमा समाधान गर्न सकिन्छ । आज नेपाल धर्मनिरपेक्ष देशको रूपमा छ तर हाम्रा विगतदेखिका संस्कृति र सहिष्णुपनको अवस्थाको भने हामीले न त  बिग्रन दिनु हुन्छ, न समुदायका बीचमा विभाजन ल्याएर नेपालको एकतालाई खलबल्याउनु हुन्छ । यसै पनि संस्कृति आफैँ विनिर्माणको चरणमा छ र नयाँ पुस्ताहरूमा पुरानोलाई पन्छाउँदै नयाँ संस्कृति निर्माण गर्ने खुल्दुली देखिन्छ । आफैँ संस्कृतिको निर्माण हुँदै छन् र नयाँ उपायहरूद्वारा संस्कृतिलाई जीवित राख्ने चलन सुरु भएको छ ।

जापानको साइतामा राज्यमा अहिले पनि नेपालको खटमा भगवान् लिएर हिँड्ने अनि खाली खुट्टा हिँड्ने, धिमे बाजा बजाएर हिँड्ने चलन रहेछ- ठ्याक्कै नेपालका महर्जनहरूले पुरातन संस्कृति जोगाउने जस्तै । खटमा रहेका देवतालाई दर्शन गर्दै प्रसाद लिने र पैसा चढाउने चलन रहेछ ।  जापानको सडकमा खाली खुट्टा हिँड्नु असंभव जस्तै हुनाले होला, संस्कृति पनि जोगाउने, शरीरको पनि हिफाजत गर्नेगरी छालाको र भएको लुगा र पैतालामा बाक्लो सुपर्तली राखेको जुत्ता जस्तो बनाएर खाली खुट्टा हिँडेको पाइयो । त्यहाँ पनि संस्कृति जोगाउनेमा महिला नै बढी संख्यामा रहेको पाइयो ।

दसैँ भनेको पार्वतीको पूजा, आराधना गर्ने समय हो । नेपालको पर्वतकी छोरी अर्थात् हिमालयकी छोरीको आराधना । महाभारतको भीष्म पर्वमा रहेको श्रीकृष्णले अर्जुनको विषाद अन्त्य गर्न भनेको उपदेशलाई गीताको रूपमा जति महत्त्व दिइयो, त्यति महत्त्व मार्कण्डेय पुराणको देवी माहात्म्यलाई दिएको देखिँदैन, जबकि त्यसमा रहेका ज्ञान-विज्ञान र दर्शनको बयान नै चण्डी सप्तशती पाठ हो, जुन दसैँको नवरात्रिमा या वर्षभरिका विभिन्न नवरात्रिमा गरिने देवी माहात्म्यको पाठ हो । जस्तो कि देवीका विभिन्न अवतारहरूको बयान छ, विभिन्न दर्शनहरूको द्वन्द्व देखिन्छ, अहङ्कारविरुद्धको विद्रोह छ र वैवश्वत मनुका पालामा जस्तो समाज र संस्कृति थियो, त्यसको बयान गरिएको छ । 

अन्तमा, प्रकृतिको अर्थात् शक्तिका रूपमा देवीको अर्चना छ, जसले जीवनलाई सही मार्गमा लैजाने संस्कृतिको जगेर्ना गरेकी छन् र जुनसुकै कलुषित भावनाको समन गर्नका लागि प्रकृतिको अर्चना गर्नै पर्ने सत्यको खोजी मार्कण्डेय ऋषिमार्फत श्री वेदव्यासले संसारलाई ज्ञान पस्केका छन् । 

श्रुति स्मृति कसैको पेवा होइन । त्यो मानव मात्रको सम्पत्ति हो । त्यसमा लेखिएका कुराहरूलाई कसले कसरी उदाहरणीय तरिकाले प्रयोग गर्छ, उसैले सिद्धि प्राप्त गर्छ भन्ने मान्यताका आधारमा संरक्षित तथा सुरक्षित ग्रन्थहरूको कति व्यवहारमा प्रयोग गर्न सकिन्छ, त्यो त मानव जातिका भरपर्ने कुरा हो ।

कुनै पनि दर्शनमा निश्चित अनुशासनको कल्पना गरिएको हुन्छ र सिद्धि प्राप्त गर्नका लागि ती अनुशासनको पालना अनिवार्य मानिन्छ । सायद कुनै पनि धर्ममा आएको पाखण्डीपनको एउटा कारण हो, तोकिएको अनुशासनको पालनाबिना तर्क गरिनै पर्ने हो । अबको युग भनेको तर्क, भावना, प्रयोग र त्यसको परिणामका बारेमा सुसूचित भएर मात्र दर्शको पालना गर्ने हो । 

मैले आजभन्दा ६० वर्षअघि पालना गर्ने गरेको दसैँसम्बन्धी अनुशासन र आजको व्यवहारमा पालना गर्ने अनुशासनमा आकाश-जमिनको फरक आएको छ । दसैँलाई पहिले पनि प्रकृति पूजा र खानपिन अनि भेटघाट, आफूभन्दा बडाको आशीर्वादको अवसर मानिन्थ्यो । प्रक्रिया फरक भएको होला, भित्री मनशायचाहिँ दसैँ भनेको कुनै धर्मको प्रचार वा अरू धर्मको विरुद्धमा गरिएको कुनै षड्यन्त्र होइन रहेछ । 

मार्कण्डेय पुराणको देवी माहात्म्यले असत्यमाथिको विजय, सत्यमेव जयते भन्ने धारणा, विषयगत संजालका विभिन्न उदाहरणीय आधारहरू र तिनको पतनको सत्यसँगै आसुरी प्रवृत्ति भनेको अहंकार हो, अहंकारको विरुद्धमा आत्मशान्ति आवश्यक छ भन्ने सन्देश प्रवाहित छ । 

संस्कृतिको स्वरूप एकैनास हुँदैन । पात्रता र स्थान विशेषमा फरक पनि हुन्छ तर मानव मात्रको हितमा गाइने गीत नै मार्कण्डेय पुराणको देवी माहात्म्य हो । यसको दर्शनमा रहेको विश्वव्यापकतालाई प्रचारको कमी देखिन्छ र देवी माहात्म्यले आध्यात्मिक शान्तिका लागि अहंकारविरुद्धको गीताको काम गरेको पाइन्छ ।
क्रमशः