अफगानिस्तानमा तालिबानले लगाएका ५ प्रतिबन्ध

अफगानिस्तानमा तालिबानले लगाएका ५ प्रतिबन्ध

एजेन्सी  |  विदेश  |  आश्विन ३१, २०७८

गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिबानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिबानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्धहरू यस प्रकार छन् ।

दाह्री काट्न प्रतिबन्ध

तालिबानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम नमान्नेलाई सजाय दिइने तालिबानको चेतावनी छ । हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिबानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताएका छन् । तालिबानका नेताहरूले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाट समेत चेतावनी दिएका छन् ।

शौचालय सफा गर्नेबाहेक अन्य कर्मचारी घरमै बस्न आदेश

तालिबानले काबुल महानगरका महिला कर्मचारीलाई अन्य व्यवस्था नहुन्जेल घरमै बस्न उर्दी जारी गरेको छ । तर, महिला शौचालय सफा गर्ने कर्मचारीलाई भने अनिवार्य उपस्थित हुन भनेको छ ।

सरकारी महिला कर्मचारीलाई काममा नफर्किन उर्दी

पहिलो शासनकालमा तालिबानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । तालिबानले दोस्रो पटक सत्ता कब्जा गरेसँगै महिलाका अधिकार कटौती हुने धेरैले आशंका गरेका थिए । आखिर सर्वसाधारणले जे अनुमान गरेका थिए, त्यही भएको छ ।

छात्रालाई अलग्गै अध्ययन

सत्ता सम्हालेको २ सातामै तालिबानले अफगान छात्राका लागि कडा नियम ल्याएको थियो, जसअनुसार अफगान विद्यालयमा छात्र र छात्रासँगै पढ्न पाउनेछैनन् । त्यस्तै, पुरुष शिक्षकले छात्रालाई पढाउन पाउनेछैनन् । पढाउनै परेमा पर्दा पछाडिबाट आधुनिक प्रविधिको प्रयोग गर्न सक्ने जनाइएको छ ।

विश्वविद्यालयमा छात्रालाई प्रतिबन्ध

तालिबानले विश्वविद्यालयमा महिलाहरूलाई नजान भनेको छ । महिलाहरूले पढ्ने वातावरण नभएको भन्दै महिला अध्ययनमा प्रतिबन्ध लगाएको हो । तालिबानको प्रतिबन्धले विश्वविद्यालयका हजारौँ छात्रा प्रभावित भएका छन् । काबुल विश्वविद्यालयका कुल विद्यार्थीको ४३ प्रतिशत छात्रा छन् । यसअघि तालिबानले विश्वविद्यालयका छात्रालाई अलग्गै पोसाक लगाउन बाध्य पारेको थियो ।