कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ दिने

कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ दिने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक १, २०७८

पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरूप सो रकम दिन लागेको हो ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाली टोली पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । फाइनलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । सीमित स्रोत साधनका बाबजुत पनि देशका लागि खेल्ने खेलाडीको सम्मानमा सहयोग घोषणा गरेको नगर प्रमुख रामचन्द्र जोशीले बताए ।

‘नेपाली फुटबल टिम ऐतिहासिक रूपमा पहिलो पटक साफको फाइनलमा पुगेर शानदार प्रदर्शन गर्दै उपविजेता बन्यो’, उनले फेसबुकमा स्टाटस लेखेका छन्, ‘नेपाली टिमको सम्मान स्वरूप कुश्मा नगरपालिका, पर्वतको तर्फबाट नगद दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छु ।’