चाबहिल–जोरपाटीका स्थानीयद्वारा सडक अवरुद्ध

चाबहिल–जोरपाटीका स्थानीयद्वारा सडक अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७६

काठमाडाैं । चाबहिल–जोरपाटी–साँखु सडक चार वर्षमा पनि पूरा नभएपछि बौद्ध–जोरपाटी क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिका–६ का अनुसार हिउँदमा धुलो र बर्खाको हिलोबाट आजित भएपछि स्थानीयले बिहीबार टायर बालेर यातायात रोके । सडक विभाग तथा ठेकेदारविरुद्ध नारा लगाए ।

प्रहरीले लाठी चार्ज गर्दा पनि प्रदर्शन झन् उग्र बन्दै गयो । वडा कार्यालय र प्रहरीको पहलले निर्माणमा संलग्न ठेकेदारलाई नियन्त्रण गरेर सहमतिपत्रमा हस्ताक्षर गर्न लगाएपछि मात्र उनीहरूको आक्रोश मत्थर भयो । महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले आइतबार बिहानैबाट सडक कालोपत्रे सुरु गर्ने सहमतिपछि ठेकेदार युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्सका प्रतिनिधिलाई छाडिएको बताए । 

पाँच खण्डमा विभाजन गरी १२.५ किमि चाबहिल–जोरपाटी–साँखु सडक निर्माण १३ असोज ०७२ मा सुरु भएको थियो । एक अर्ब ७३ करोड ५४ लाख रुपैयाँ कुल लागत रहेको योजनाको हालसम्म ४० प्रतिशत मात्रै काम सकिएको छ । कुल बजेटको ५० प्रतिशतभन्दा बढी अर्थात् ८८ करोड रुपैयाँ खर्च भइसकेको छ । ठेकेदार कम्पनीले सडक निर्माणका लागि दुईपटक म्याद थप गरिसकेको छ । याे समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।