करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

एजेन्सी  |  लोकरञ्जन  |  कार्तिक २, २०७८

बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ ।

कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यस पटक करिना कपुर खानलाई कास्ट गर्दै छन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो । उनको 'कहानी' दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बी-टाउनमा थियो । 

यद्यपि, उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे । पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर 'बदला' निर्देशन गरेका थिए ।

थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दै छन् । त्यहाँ २ महिनाको सेड्युल राखिएको छ । करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रा निर्देशकमध्ये एक रहेको बताइन् । 'सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रिनप्लेसहित दर्शकमाझ ल्याए', करिनाले भनिन् । 

सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् । उनले फिल्मका बारेमा बोल्दै पात्रलाई करिनाको छाया पर्न नदिने बताए । 'मेरो क्यारेक्टरमा स्टार देखिँदैन । तर, स्टारले क्यारेक्टर निर्वाह गर्दा धेरै दर्शकसम्म फिल्म पुग्न सक्छ', सुजोयले भने । करिना अभिनित 'लालसिंह चड्डा' आउँदो फेब्रुअरीमै रिलिज हुँदै छ ।