दैनन्दिनको दुर्दान्त नियतिका बीच गठबन्धन नाममा 'ठगबन्धन' पार्टीमाथि विश्वास गर्न बाध्य हामी

दैनन्दिनको दुर्दान्त नियतिका बीच गठबन्धन नाममा 'ठगबन्धन' पार्टीमाथि विश्वास गर्न बाध्य हामी

अनुरोध शर्मा  |  दृष्टिकोण  |  कार्तिक २, २०७८

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पछि नेकपा एमालेभित्रको नेतृत्वको अस्तित्वको लडाइँ नभइदिएको भए आजका मितिसम्म केपी शर्मा ओली नेतृत्वको झण्डै दुई तिहाइ बहुमतको वामपन्थीहरूको सरकारले मुलुक हाँकिरहेको हुन्थ्यो । मुलुकको दुर्भाग्य ! जनताको आशा र भरोसामा तुषरापात- कम्युनिस्टहरू कुरुवंशी सावित भए र आफ्नै पार्टीको सरकारलाई गर्लम्मै ढालिदिए ।

सरकार मात्र ढालेनन्, देशकै ठूलो पार्टी हुने शौभाग्य तेस्रो पटक पाएको कम्युनिस्ट पार्टीलाई पनि छिन्नभिन्न पारे । लोभी-पापीहरूको झुण्डका रूपमा मात्र आफूलाई परिचित गराएर जनविश्वासमाथि नराम्ररी खेलवाड गरे नेपाली कम्युनिस्टहरूले । र, संभवतः अबका धेरै वर्ष नेपालमा कम्युनिस्टहरूले एकल सत्ता चलाउन सक्ने संभावनामा समेत ठेस लगाए ।

हो, यसैको परिणाम कांग्रेसका काखमा सत्ता लडिबुडी गर्दै आयो । प्रमुख प्रतिपक्षमा जनताले थन्क्याइदिएको कांग्रेसलाई थपक्क लगेर सत्ताधारी बनाइदिनमा कम्युनिस्टहरू नै लागिपरे । ‘मलाई प्रधानमन्त्री चाहिँदैन प्रभु’ भनेर जुम्ला हात गरिरहेर बूढानीलकण्ठतिर दारुमा मस्त शेरबहादुर देउवालाई जबर्जस्ती प्रधानमन्त्रीको कुर्सीमा लगेर राखिदिए कम्युनिस्टहरूले ।

तर, अब पूर्ववर्ती नेतृत्वको थाप्लामा दोष थोपरेर वर्तमान नेतृत्व साखुल्ले पल्टिन सक्दैन । यदि पूर्ववर्तीका कमजोरी र गल्ती थिए, छन् भने ती सुधार गर्ने दायित्व पनि त हो वर्तमान नेतृत्वको ।

राजनीतिक हिसाबले हेर्दा अनैतिकता र बेइमानीको हदसम्म पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरूले इतिहासमै घीनलाग्दो काम गरे । नेपालमा बौरिँदै गरेको कम्युनिस्ट लहरमा ठ्याप्पै बुझो लगाइदिए । आत्मरतिमा जति रमाए पनि उनीहरूको उक्त व्यवहार र चरित्र राजनीतिक दर्शन, इमान र मूल्य-मान्यताको विपरीत नै हो ।

भन्नेहरू त भन्छन्, ‘अब नेपालमा कम्युनिस्ट मात्र होइन, प्रचण्ड र माधव नेपाललाई पनि उठ्न गाह्रो छ ।’ हेर्दा यो गलत जस्तो पनि लाग्दैन । कारण, त्यति ठूलो जनमतको अपमान, जनताको आशा र भरोसामा तुषारापात, जनविश्वासमा घात गरिसकेपछि पनि जनताले बारबार विश्वास गरिरहन्छन् भन्ने हिजोको सोच उनीहरूमा छ, जुन सरासर गलत हो ।

आजका मतदाता हिजोका जस्ता अशिक्षित (राजनीतिक रूपले) छैनन् । सूचना प्रविधिको व्यापकता, राजनीतिक घटनाक्रममा प्रत्यक्ष/परोक्ष जनताको सहभागिताले उनीहरूलाई केही न केही बुझ्झकी अवश्य बनाएको छ । यसर्थ, भोलिका दिनमा पुनः प्रचण्ड र माधव नेपालहरूले राजनीतिमा दुर्दान्त नियति भोग्नुपर्दैन भन्ने अवस्था छैन ।

जाऔँ सरकारतिर ।

कम्युनिस्ट विवाद र फुटको फलस्वरूप आइलागेको सरकारको साँचो कांग्रेसलाई चलाउनै हम्मेहम्मे परिरहेको त प्रस्टै देखिएको छ । ५ दलीय गठबन्धनका रूपमा रहेको सत्ता साझेदारीको सकस ३ महिनामा मात्र मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यसबीचमा सरकारले निर्वाह गर्नुपर्ने दैनन्दिन प्रशासनिक दायित्व सरकारको पूर्णताको अभावमा पूरा हुन नसकेको छर्लङ्गै छ । विभिन्न कूटनीतिक कार्यदेखि विकासका सवालमा पनि अवरोध कायम छ ।

एउटा केपी शर्मा ओलीलाई ‘तुजुक देखाइदिने’ नाममा मुलुक र जनताको भविष्यमा यी सबै पार्टीले खेलवाड गरेको तथ्य लुकाएर लुक्दैन । जति नै बहानाबाजी र (कु)तर्क गरिरहे पनि प्रस्ट बुहमतको सरकार पूरा अवधि टिक्न नदिनु सम्बन्धित पार्टी र नेताहरूको पहिलो कमजोरी वा गल्ती हो भने दोस्रो कमजोरी आफ्नो थाप्लोमा आएको सरकारको जिम्मेवारीलाई पनि स्वाभाविक र सहज तवरले पूरा नगर्नु हो । यहाँ प्रश्न उठाउन त सकिन्छ, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका चाहिँ कमजोरी र गल्ती नै थिएनन् ?’

सही प्रश्न हुनेछ यो । किनभने यदि सत्तारुढ पार्टीको मूल नेतृत्वले थोरै लचक भइदिएको भए, सबैलाई उचित सम्मानसाथ व्यवस्थापन गर्न सकेको भए अवश्य पनि यो दुखद् अवस्था आउने थिएन । अहिलेको विद्रुप अवस्थाको आधा दोषको भागिदार त केपी ओली नै हुन् । तर, अब पूर्ववर्ती नेतृत्वको थाप्लामा दोष थोपरेर वर्तमान नेतृत्व साखुल्ले पल्टिन सक्दैन । यदि पूर्ववर्तीका कमजोरी र गल्ती थिए, छन् भने ती सुधार गर्ने दायित्व पनि त हो वर्तमान नेतृत्वको ।

तर, यस दिशामा, यस विषयमा देउवा-प्रचण्ड-नेपाल-यादव झुण्डको सोच पुगेको पाइँदैन । यी पनि स्वार्थलम्पट झुण्डभन्दा बढी केही नहुने छाँटकाँट आइसकेको छ । यदि यिनले साँच्चै मुलुक र जनताको हितकै खातिर पार्टीभित्र विद्रोहको नाटक गरेका भए पहिला यसबारे सोच्ने थिए अनि मात्र आफ्नो व्यवस्थापनतर्फ । यसो नहुनु भनेको यी पनि म्यारिजको खालमा बसेका जुवाडे मात्र सावित हुनेछन्, जो तास खेल्न बस्दा सौहार्द र शान्त तवरले सहमतिमै खालमा बस्छन् अनि कसैले हार्न थालेपछि (तल पर्न थालेपछि) गनगनाउन सुरु गर्दै अन्ततः विवादमा पुगेर खाल छाडेर हिँड्छन् ।

सरकार बनेको ३ महिनाको अवधिमा वर्तमान सरकारले किन कुनै पनि आशालाग्दा, विश्वास गर्न लायक, भर पर्न सकिने योजना वा कार्यक्रम ल्याउन सकिरहेको छैन । यसको प्रमुख कारण यी गठबन्धन नामका ‘ठगबन्धन’ पार्टीहरूबीच नै खासमा विश्वास र मेल छैन । स्वार्थवश जोडिएको सम्बन्धले दिगो रूप पाउने कुरै हुँदैन, त्यसमाथि यी पार्टीभित्रकै मनभेद र मतभेद पनि त सकिएका छैनन् । अनि, कसरी आउँछन् गतिला नीति, कार्यक्रम र कार्यान्वयन हुन्छन् ती ?

सवाल यति मात्र होइन, यी गठबन्धन नामका झुण्डहरूले यदि एकअर्काबीचको विश्वास बीचमै तोडिदिए भने सरकारको नियति ‘घरको न घाटको’ त हुन्छ नै, मुलुक पनि ‘वल्लो किनार न पल्लो तिर’को अवस्थामा पुग्छ । यसर्थ, यो गठबन्धन नामको ठगबन्धन झुण्डकै भरमा मुलुकलाई छाड्न हामी बाध्य छौँ, तिम्रो सद्बसुद्धि आओस्, मुलुक र जनताले जयजयकार गर्ने काम गरेर देखाइदेऊ, हार्दिक कामना !