डुबान प्रभावितको लागि राहत: सुदूरपश्चिम सरकारद्वारा  २५ करोड बजेट विनियोजन

डुबान प्रभावितको लागि राहत: सुदूरपश्चिम सरकारद्वारा  २५ करोड बजेट विनियोजन

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३, २०७८

कैलाली ।सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

‘प्रदेश सरकारबाट राहतको लागि २५ करोड छुट्याएका छौं । वर्षा रोकिएपछि अगाडि बढाउँछौं । क्षतिका बारेमा संघ सरकारसँग राखेका छौं,’ उनले भने, ‘किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाउँछौं । संघीय सरकारबाट पनि माग गरेका छौं ।’

बेमौसममा भएको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो क्षति भएको र उद्धार तथा राहतको काम अघि बढिरहेको मुख्यमन्त्री भट्टले बताए । आफूले उद्धार, राहत र क्षतिपूर्तिका लागि संघीय गृहमन्त्री बालकृष्ण खाँडसँग कुराकानी गरिसकेको उनको भनाइ थियो ।