निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान मार्ने धम्की

निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान  मार्ने धम्की

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७६

काठमाडाैं । सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । व्यवसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की आएपछि केही साताअघि नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको थियो । 

रमेश लागुऔषध कारोबार अभियोग तथा समीरमान र रिगल हत्या अभियोगमा कैद सजाय भोगिरहेका छन् । समीरमानलाई निर्माण व्यवसायी शरद गौचन हत्याको अभियोग पनि लागेको छ । प्रहरीले गौचन हत्यामै संलग्नमध्ये फरार दुई अभियुक्त पनि निर्माण व्यवसायीलाई धम्क्याउने धन्दामा लागेको जनाएको छ । 

‘निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएको सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धान रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालमाथि केन्द्रित हुनु स्वाभाविक हो,’ महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘यीबाहेक व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरूको संलग्नताको केही आधार फेला परेका छन् ।’ 

पक्राउ परेपछि तीनैजनालाई केन्द्रीय कारागारस्थित गोलघरमा राखिएको थियो । उनीहरूले इन्टरनेट फोन प्रयोग गरेर धम्की दिएको भेटिएको प्रहरीले जनाएको छ । कतिपय अवस्थामा कारागारमा उपलब्ध सुविधाको टोलिफोन पनि पनि प्रयोग गरेको देखिएको प्रहरीले जनायो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।