सैफ अलि खानपुत्री साराले यसरी गरेकी थिइन् ‘डेब्यु’

सैफ अलि खानपुत्री साराले यसरी गरेकी थिइन् ‘डेब्यु’

एजेन्सी  |  लोकरञ्जन  |  कार्तिक ३, २०७८

बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी थिइन् । सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म ‘सिम्बा’ पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका २ वटा फिल्मले साराको अभिनय क्षमतालाई दर्शक माझ प्रस्ट्याए । 

अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहकी छोरीका रूपमा चिनिएकी साराले आफूलाई बलिउडमा स्थापित बनाउन सफल भइन् । आफ्नो छुट्टै नाम बनाएकी साराले बलिउडमा डेब्यु पनि आफ्नै दमबाट गरेकी हुन् । उनलाई बलिउडमा फिल्म कसरी प्राप्त भयो त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।

उनी सैफको छोरी भएकै कारण उनलाई डेब्यु गर्न अप्ठ्यारो भएन भन्ने अनुमान स्वाभाविक नै छ । तर, यसबारे एक अन्तर्वार्तामा निर्देशक रोहित शेट्टीले नै बताएका छन् । ‘एक दिन साराको फोन आयो । उनले मलाई भेट्ने आग्रह गरिन् । मैले उनलाई अफिसमा बोलाएँ’, सारासँगको पहिलो भेट सम्झिँदै रोहितले भने,  ‘उनले मलाई बलिउडमा अवसर दिन आग्रह गरिन् । उनको प्यासन देखेर मैले नाइँ भन्न सकिनँ ।’

रोहितले उनलाई सैफ या अमृताको आग्रहमा फिल्म नदिएको प्रस्ट्याए । ‘साराको विषयलाई लिएर सैफ र अमृता दुवैैले केही भनेनन् । तर, सारामा प्रतिभा छ, स्थापित हुन्छिन्’, उनले साराको प्रशंसा गर्दै भने । 

सन् २०१८ को अन्त्यमा उदाएकी साराले बलिउडमा आफूलाई विस्तारै अगाडि बढाउँदै छन् । उनले लभ आजकल, कुली नम्बर वान जस्ता फिल्ममा काम गरिसकेकी छन् भने उनको अतरंगी रे नामक फिल्म रिलिजको पर्खाइमा छ । 

उनले रणवीर सिंह, सुशान्तसिंह राजपूत, कार्तिक आर्यन, बरुण धवन, अक्षय कुमारलगायतका बलिउड स्टारसँग काम गरिसकेकी छन् ।