एटलान्टाको युवा टोलीबाट खेल्दै आएका विकास ए डिभिजन लिग खेल्न नेपालमा

एटलान्टाको युवा टोलीबाट खेल्दै आएका विकास ए डिभिजन लिग खेल्न नेपालमा

न्युज कारखाना  |  खेलकुद  |  कार्तिक ३, २०७८

इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् । एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकास २९ कात्तिकदेखि सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । 

नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेलेका हुन् । विकासले इटालीको यू- १७ टोलीबाट समेत खेलिसकेका छन् । मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका छन् । 

‘म १३ वर्षपछि नेपाल फर्किएको छु’, विकासले सामाजिक संजालमा लेखेका छन् । विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन् । स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन् । त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वजनिक गर्ने भएका छन् । 

विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकासले इटालीको यू- १७ टोलीबाट खेलिसकेका छन् । १८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन् । यद्यपि, उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन् ।