बुधबार शेयर बजारमा हरियाली

बुधबार शेयर बजारमा हरियाली

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ३, २०७८

लगातार घटेको शेयर बजारमा बुधबार ६०.५६ अंकले वृद्धि भएको छ । बुधबार नेप्से २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो ।

बुधबार कुल २१७ वटा कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख एक हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम भने २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँमा सीमित भयो ।

बुधबार सबै परिसूचक हरियो देखिए । वित्त, जलविद्युत्, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहका लगानीकर्ताले बढी कमाए । आँखुखोला जलविद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो ।

एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरै घट्यो । बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा भने नबिल बैंक रह्यो । यस बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकहरूको ब्याजदरमा राष्ट्र बैंकले गरेको हस्तक्षेपको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन कडाइ गरेको थियो । उक्त निर्देशनपछि बुधबार शेयर बजारमा उत्साह देखिएको हो ।