अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता

अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७६

काठमाडौं । ‘मिस नेपाल वल्र्ड– २०१९’ उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन्। मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का उपाधि जित्न सफल भएकी हुन्। 

 ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ? भन्दै कार्यक्रमकी मुख्य निर्णायक इला शर्माले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी उपाधि चुम्न सफल भएकी हुन्।

 ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारी,  ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत र  ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपति, र ‘मिस नेपाल सुपर नेशनल’ को उपाधि रोज लामाले जितेकी छन्। 

‘मिस नेपाल’मा सहभागी भएका २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए। अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो।