'अल्मुताइरी नेपाल फर्कन तयार छन्'

'अल्मुताइरी नेपाल फर्कन तयार छन्'

न्युज कारखाना  |  खेलकुद  |  कार्तिक ३, २०७८

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिनै लाग्दा ‘एएफसी प्रो लाइसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका हुन् । 

यसअघि नेपाल साफ च्याम्पियनसिपको २८ वर्षे यात्रामा पहिलो पटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । 

यस्तै, उनले फाइनल खेल अन्तिम खेल हुने बताउँदै नेपालसमेत नजाने बताएका थिए । सोहीअनुसार नेपाल उपविजेता भएर स्वदेश फर्कंदा अब्दुल्लाह नेपाल नआई सिधै कतार गएका थिए । एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक (म्यानेजर) मधुसुदन उपाध्यायले प्रशिक्षक अब्दुल्लाह नेपाल आउन तयार रहेको बताए ।

‘प्रशिक्षक पुनः नेपाल फर्कनुहुन्छ । मसँग भएको कुराकानीमा प्रशिक्षक (अब्दुल्लाह)ले नेपाल आउने सहमति जनाउनुभएको छ । दोहाबाट छुटेपछि त्यस्तो केही नभए उहाँ एक-दुई सातामा नेपाल आउनुहुन्छ ।’ पछिल्लो समय नेपाली टोलीको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका उपाध्यायले भने । 

उपाध्यायले पछिल्ला दिनमा प्रशिक्षकले नेपाल बस्ने निर्णय नलिए पनि आफ्ना बाँकी काम सम्पन्न भएपछि नेपाल फर्कने बताए । २०७७ चैतमा एन्फाले पहिलो पटक प्रशिक्षक अब्दुल्लाहलाई नेपालको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनको सम्झौता ५ कात्तिकमा सकिँदै छ । 

यसअघि प्रो लाइसेन्स प्राप्त स्विडिस मुख्य प्रशिक्षक योहान कालिनले पारिवारिक समस्या देखाउँदै नेपाल नफर्कने बताएपछि नेपाली टोलीको कार्यकारी प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका थिए । तर, उनीसँग फिफा विश्वकप छनोटका बाँकी खेल खेलाउन ‘एएफसी प्रो लाइसेन्स’ नभएपछि एन्फाले कतार फुटबल संघको सहयोगमा कुवेती नागरिक अब्दुल्लाहलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । 

पछिल्लो समय मैदानमा सफलता पाउँदै गएका प्रशिक्षक अब्दुल्लाह वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको लफडा र त्यसपछिका क्रियाकलापपछि लगातार नेपाली राष्ट्रिय टोलीसँग नरहने बताउँदै आएका थिए । उनले हालसम्म ३ पटक सामाजिक संजालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजीनामा दिने बताइसकेका छन् । 

यता, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार (आज) नै सामाजिक संजालमा प्रशिक्षक अब्दुल्लाहसँग राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउन छलफल भएको बताएका छन् । कतारमा भएको भेटपछि सामाजिक संजालमा फोटो राख्दै शेर्पाले भनेका छन्,  ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आज हाम्रो छलफल भयो ।’