सुन-चाँदीको मूल्य निरन्तर उकालो

सुन-चाँदीको मूल्य निरन्तर उकालो

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ४, २०७८

दसैँ सकिँदा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।