अदालतकै जग्गा कब्जा

अदालतकै जग्गा कब्जा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७६

बुटवल । उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको छ । बुटवल उपमहानगरपालिका-४ स्थित जेसिज चोकदेखि उत्तर, खानेपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो । 

सरकारी लिखतअनुसार साबिकको कित्ता नं. ३ सय ९६ को २ बिघा ५ कट्ठा १४ धुर जग्गा लुम्बिनी अञ्चलाधीश कार्यालयका नाममा थियो । ०४६ सालमा अञ्चलाधीश कार्यालय खारेज भएपछि अदालत विस्तारका लागि भन्दै साबिक पुनरावेदन अदालत बुटवलले जग्गा आफ्नो नाममा बनाएको थियो । जग्गाको स्वामित्व लिए पनि अदालतले कार्यालय वरिपरिको जग्गा संरक्षणमा वास्ता नगर्दा अतिक्रमणमा परेको हो ।

अदालतको जग्गाको बीचमा प्रदेश प्रमुखको कार्यालय छ । अतिक्रमित क्षेत्रमा २८ घरपरिवार छन् । नेपाल बार एसोसिएसन एकाइको भवनसमेत छ । त्यस क्षेत्रमा व्यापारीहरू बसेका छन् । केही सरकारी कर्मचारी र जिल्लास्तरीय नेताले पनि घर बनाएका छन् । राजनीतिक दलले बस्ती बसाउन अनुमति दिएको उनीहरूको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।