गिट्ठाका भरमा चिया मजदुर

गिट्ठाका भरमा चिया मजदुर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७६

बिर्तामोड । चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलन छ । ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चितकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन् । 

आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल पर्न थालेको छ । 'काम गरेको पैसाले किनेको चामल सबै सकियो । अहिले एक छाक भात र एक छाक गिट्ठा खाएर बसिरहेका छौं,' श्रमिक विप्ता मुण्डाले भने । तीन छोराछोरीसहित पाँच जनाको परिवार चिया बगानकै कमाइमा आश्रति छ । बगानमा काम गर्ने श्रमिकलाई अन्यत्र काम पाउन मुस्किल हुन्छ । 'अरूतिर हामीलाई कामै दिँदैनन्,' उनले थपे, 'हप्ता थापेर घर चलाउनेलाई ४० दिनसम्म कामै नगरी खानलाई कुन आम्दानीले पुग्छ र ?'

कात्तिक उरावको परिवार पनि अभाव टार्न एक छाक गिट्ठा खाइरहेको छ । उराव र उनकी श्रीमती भद्रपुर नगरपालिका ७ स्थित बुधकरण चिया बगानका श्रमिक हुन् । बगान ४० दिनदेखि बन्द छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनको घरमा यतिबेला खानलाई चामल छैन । 'चामल सकिएर पेटभरि खाना खान पाएका छैनौं, छोरीहरूको भर्ना कसरी गर्ने,' उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।