स्कटल्यान्ड र टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश

स्कटल्यान्ड र टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक ५, २०७८

काठमाडौं ।  स्कटल्यान्ड र बंगलादेश टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी हुँदै एसोसिएट राष्ट्र स्कटल्याण्ड र टेस्ट राष्ट्र बंगलादेश समूह 'बी'बाट क्रमश: विजेता र उपविजेताका रुपमा विश्वकपको सुपर १२ मा प्रवेश गरेका हुन् ।

समूह 'बी'को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थान हात पारेको हो । जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेटको क्षतिमा जित हात पार्‍याे । जितमा कप्तान काइल कोट्जरले सर्वाधिक ४१ रनकोे योगदान दिए । म्याथ्यु क्रस २६ रनमा अविजित रहे ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली ओमान २० ओभरमा १ सय २२ रनमा अल आउट भएकाे थियाे । ओमानका ओपनर अकिब इलायसले  सर्वाधिक ३७ रन बनाए । स्कटल्यान्डका जोश डेभीले ४ ओभरमा  ३ विकेट लिए ।

बिहीबार भएको पहिलो खेलमा बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गरेको हो ।

जितका लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पपुपा न्युगिनी १९ओभर ३ बलमा ९७ रनमा अल आउट भएपछि बंगलादेशले सुपर १२ मा स्थान बनायो ।

पपुवा न्युगिनीका विकेटकिपर किप्लिङ डोरिगा सर्वाधिक ४६ रनमा अविजित रहे । बंगलादेशका सकिब अल हसनले ४ ओभरमा  सर्वाधिक ४ विकेट लिए ।

समूह 'बी' बाट स्कटल्यान्ड ३ खेलमा ३  जितका साथ अपराजित रहँदै शीर्ष स्थानमा हो । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहँदै सुपर १२ को समूह 'ए' मा स्थान बनाएको छ ।

सुपर १२ को समूह 'ए' मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह 'ए'को विजेता र समूह 'बी' को उपविजेता बंगलादेश रहनेछन् ।

समूह 'बी'मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह 'बी'\को विजेता स्कटल्यान्ड र समूह 'ए'को उपविजेता रहनेछन् ।