एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ५, २०७८

नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । 

पत्रमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने उल्लेख छ । विशेष परिपत्र भनिएको पत्रको आठौँ बुँदामा नेट सुविधा भएका वडाहरूको अध्यक्ष ओलीले उद्घाटन गर्ने र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ ओलीले सम्बोधन गर्ने उल्लेख छ । 
‘वडा अधिवेशनको भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यका लागि लिंक ५ गते पठाइनेछ । यसका लागि संभव भए स्क्रिनको व्यवस्थापन गर्ने र सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ’, परिपत्रको आठौँ बुँदामा लेखिएको छ । 

केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले गरेको पत्राचारमा स्थानीय कमिटीहरूको अधिवेशन वडा तहको अधिवेशन ६ कात्तिक र पालिका अधिवेशन ९ कात्तिकमा एकै दिन सम्पन्न गर्नुपर्ने पार्टीको निर्णयलाई स्मरण गराइएको छ । 

विशेष पत्रिपत्रका  बुँदा 

१. अधिवेशनहरू संचालन गर्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पालिका र वडामा अधिवेशनको सहजीकरणको लागि जिम्मेवारी तोक्ने ।

२. अधिवेशनहरू गर्दा भव्यतापूर्वक सकेसम्म जनसहभागितामा गर्ने ।

३. वडा अधिवेशनहरू गर्दा झण्डा ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्ने ।

४. वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनर्संरचना भएपछि अधिवेशन आयोजना गरिएको हुनाले यी अधिवेशनहरूलाई प्रथम अधिवेशन मानेर गर्ने ।

५. नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने । निर्वाचनको लागि पार्टी केन्द्रीय निर्वाचन आयोगले तयार पारेको वडा/शाखा र पालिका/इलाका निर्वाचनसम्बन्धी सामन्य मार्गदर्शन, २०७८ यसैसाथ जारी गरिएको छ ।

६. वडा अधिवेशन सम्पन्न हुनासाथ पदाधिकारीसहित कमिटीको फोन नं. र ईमेलसहित नामावली अद्यावधिक विवरण अविलम्ब जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने ।

७. अधिवेशन उद्घाटन र अधिवेशन समापन भएपछि संचार माध्यम, सामाजिक संजालबाट प्रचार गर्ने ।

८. वडा अधिवेशनको भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसका लागि संभव भए स्क्रिनको व्यवस्थापन गर्ने र संभव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ ।