एमालेमा लफडा : १० बुँदे ओत लागेका १० भाइ जुधिरहने, ओली हाँसिरहने !

लोकसंवाद टिप्पणी

एमालेमा लफडा : १० बुँदे ओत लागेका १० भाइ जुधिरहने, ओली हाँसिरहने !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ५, २०७८

नेकपा एमालेभित्र २७ असारपछि १० बुँदे सहमतिको कार्यान्वयन भयो/भएन भन्ने बहसले मात्र स्थान पाएको छ । पार्टीको नीति र विधिले भन्दा पनि १० बुँदे सहमतिको रटान गर्ने कि महाधिवेशनमा होमिने भन्नेतर्फ ध्यान केन्द्रित हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद निरूपण गर्नुका साटो बल्झाउँदै पुनः सहमतिलाई बेवास्ता गर्ने र त्यसलाई सतहमा ल्याएर १० बुँदेपछि माधव नेपालको साथ छाडेका नेताहरूलाई पेल्न खोज्दा सतहमा बहसले स्थान पाएको हो । बिहीबार स्थायी कमिटीको बैठक बस्नुअघि नै ओलीले १० बुँदेको औचित्य सकिएको भन्दै १० भाइलाई पेल्न खोजे ।

बिहीबार स्थायी कमिटीको बैठकमा त्यही विषयले प्राथमिकता पायो, जुन ओली आफैँले चाहेका थिए । बैठकमा १० बुँदे सहमतिको विषयमा रस्साकस्सी बहस सुरु भएपछि ओलीले सामान्यीकरण गर्न खोजे पनि त्यो सामान्यीकरण हुन सकेन किनकि महाधिवेशनको आगामी नेतृत्वमा ओलीपछि को ? भन्ने बहस अहिले नै आउन सक्थ्यो, जुन ओलीलाई अहिले प्राथमिकतामा राख्नु छैन । एक पटक अझै ओली नै पार्टी अध्यक्ष हुने भएपछि उनले आफूअनुकूलकै टिम बनाउनेछन् । छानीछानी आफूअनुकूलको टिम बनाउँदा आगामी निर्वाचनमा जान पनि ओलीका लागि सहज हुन्छ । त्यही रणनीतिअनुसार पार्टीमा रहेका भीम रावलसहितका १० नेतालाई पेल्नकै लागि ओलीले १० बुँदेको औचित्य नभएको बताएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका लागि १० बुँदे सहमति गरिएको तर पार्टीमा नेपाल नै नरहेपछि यस्तो सहमति औचित्यहीन भएको बताएपछि बिहीबारको बैठकमा रस्साकस्सी बहस भएको थियो । बैठकको सुरुवातमा पार्टीका उपाध्यक्ष युवराज ज्ञावाली, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रघुजी पन्तले लामै धारणा राखेका थिए । उनले पार्टी अध्यक्षको अभिव्यक्तिले पार्टीभित्र अझै पनि विभेद, इर्ष्या र आग्रह, पूर्वाग्रह बाँकी रहेको बताएका थिए ।

उनीहरूले पार्टीभित्र कोही व्यक्ति रहने/नरहने प्रश्न भन्दा पनि पार्टीको विवाद निरूपण गर्ने प्रमुख विषय रहेकाले कोही व्यक्ति विशेषलाई जोडेर १० बुँदे सहमति  नगरिएको बताए पनि ओलीले त्यसलाई सामान्य रूपमै लिए । २६ असारपछिका बैठकमा १० नेताहरू मात्र बोल्ने भएपछि अरूका लागि सुन्ने मात्र समय हुने गरेकामा बिहीबारको बैठकमा भने अन्य नेताहरूले पनि एजेण्डामा प्रवेश गराउन खोजे तर उनीहरूले ओलीको जबाफ आएपछि मात्र एजेण्डामा जाने बताए । तर, ओलीले शुक्रबारको बैठकमा छलफल गर्ने भनेपछि बिहीबारको बैठक अन्य एजेण्डामा प्रवेश गरेको थियो ।

रटान नगर्नू भन्ने शैलीको अभिव्यक्तिले पार्टीलाई क्षति पुर्‍याउने भन्दै रावलले पार्टीभित्र वैचारिक बहस सधैँ कायम रहने बताए पनि रावलका लागि अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा भिड्नुबाहेक अर्को विकल्प छैन । धेरै विरोध गर्दा राजनीतिक भविष्य असुरक्षित हुने भए पनि उत्तिकै बोकेर १० भाइले यतिबेला जोखिम मोलिरहेका छन् । मन्दमन्द गतिमा ओलीको विरोध गरे पनि त्यसलाई पार्टीभित्र ठूलो रूप नबनाउने उनीहरूको रणनीति छ ।

सामान्यतया अरूको आलोचना सुन्न नरुचाउने ओलीले बिहीबारको बैठकमा युवराज ज्ञावाली, भीम रावल, रघुजी पन्त र घनश्याम भुसालको कुरा ध्यान दिएरै सुनेका थिए । ओलीको आलोचना गर्दै उनीहरूले पार्टीमा यस्तै रवैया रही रहे झन् ठूलो क्षति पुग्नेसमेत चेतावनी दिएका थिए । एमाले अध्यक्ष ओलीले माधव नेपाल आउँछन् भनेर १० बुँदे सहमति गरिएको भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि बिहीबार बसेको स्थायी कमिटी बैठकमा ज्ञवाली, रावल, भुसला र पन्तले आपत्ति जनाए पनि ओली भने टसमस भएका छैनन् ।

यसको कारण हो, आगामी महाधिवेशनबाट ओली नै अध्यक्ष हुने निश्चित जस्तै छ । आफू अध्यक्ष हुने भएपछि ओलीले अन्य नेताहरूमा पनि आफ्नैअनुकूलका छानेर जिम्मेवारीमा ल्याउनेछन् । त्यसका लागि ओलीले आफूप्रति कडा धारणा राख्ने भन्दा पनि नरम धारणा राख्ने नेताहरूलाई छान्न सक्नेछन् ।  

उपाध्यक्ष ज्ञवालीसँगै भीम रावलले पनि पार्टीभित्र अध्यक्षले यस्तो धारणा राख्नु गलत भएको बताउँदै विवाद भएका विषय मिलाउनुपर्नेमा झन् बल्झाउने र आमकार्यकर्तामा निराशा फैलाउने अभिव्यक्ति दिनु नै गलत भएको भन्दै ओलीको आलोचना गरेका थिए । ओलीले दशौँ महाधिवेशनका लागि वडा, पालिका, र जिल्ला कमिटीको अधिवेशनको सम्मुखमा यस्तो अभिव्यक्ति दिएपछि १० बुँदे सहमति गरी माधव नेपालको साथ छाडेर एमालेमै बसेका नेताहरूले आपत्ति जनाए पनि उनीहरू ओलीसँग भिड्ने अवस्थामा भने छैनन् ।

विवाद भए पनि समाधान हुन्छन् भन्ने सन्देश दिनुपर्नेमा यस्तो रटान नगर्नू भन्ने शैलीको अभिव्यक्तिले पार्टीलाई क्षति पुर्‍याउने भन्दै रावलले पार्टीभित्र वैचारिक बहस सधैँ कायम रहने बताए पनि रावलका लागि अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा भिड्नुबाहेक अर्को विकल्प छैन । धेरै विरोध गर्दा राजनीतिक भविष्य असुरक्षित हुने भए पनि उत्तिकै बोकेर १० भाइले यतिबेला जोखिम मोलिरहेका छन् । मन्दमन्द गतिमा ओलीको विरोध गरे पनि त्यसलाई पार्टीभित्र ठूलो रूप नबनाउने उनीहरूको रणनीति छ ।

ओलीले पार्टीको आन्तरिक विवाद मिलाउनका लागि गरिएको १० बुँदे सहमतिको कुनै औचित्य नभएको बताएपछि पार्टी उपाध्यक्ष ज्ञवाली, रावल, भुसाल र पन्तले बैठकमा त्यसको काउण्टर दिए ।  पार्टीलाई एकताबद्ध बनाउन गरिएको १० बुँदे सहमतिलाई ओलीले ३ महिनापछि औचित्यहीन भएको बताएपछि रावल र भुसालले बिहीबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै ओलीलाई काउण्टर दिए । पार्टी बचाउन गरिएको ११ तारे विगुल भएको बताउँदै यदि यो कार्यान्वयन नभए पार्टीलाई ठूलो क्षति हुने संकेत गरेका थिए । उनले स्थायी कमिटीको बैठकमा सोही विषय दोहोर्‍याएका थिए । एमालेको स्थायी कमिटी बैठकमा पार्टी विवाद निरूपण गर्न गरिएको १० बुँदे सहमतिको विषयले प्राथिमिकता पाएपछि ओलीले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने, धेरै ठाउँमा समस्या नभएको जबाफ दिएका थिए ।

बैठकमा पार्टीका उपमहासचिव भुसालले अध्यक्षबाट यस्ता अभिव्यक्ति आउँदा आफूलाई आश्चर्य लागेको बताउँदै सहमति कार्यान्वयन गर्नुपर्ने र त्यसले पार्टीलाई आगामी दिनमा झन् मजबुत बनाउने बताएका थिए । पार्टीमा कोही व्यक्ति रहनु वा नरहनु भन्दा पनि विचारले निर्देशित गर्ने कुरा भएकाले यसो भएन वा त्यसो भएन भनेर अर्कोलाई धेरै आक्षेप लगाउनु आवश्यक नभएको, अहिले केही नेताहरू पार्टीभित्र नरहेका र अब पनि थप क्षति पुग्ने अभिव्यक्ति सार्वजनिक हुनु दुःखद् भन्दै भुसालले बताए पनि ओलीले त्यसलाई खास ठूलो विषय नभएको भन्दै टारिदिए ।