पत्रकारिता पहिले सुरु भयो कि शिक्षण ? म पत्रकार पनि हुँ, शिक्षक पनि हुँ नि त !

फर्कलान् र ती दिनहरू

पत्रकारिता पहिले सुरु भयो कि शिक्षण ? म पत्रकार पनि हुँ, शिक्षक पनि हुँ नि त !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  कार्तिक ५, २०७८

जब धर्म धारण गर्ने एउटा विचार हो, आस्थाका लागि अपनाइने एउटा अनुशासन हो भने त्यसप्रति आस्थावान्हरू त झनै सहिष्णु हुनुपर्ने होइन र ? 

भन्न त भनिएको रहेछ‍- तिमीले धर्मको रक्षा गर्‍यौ भने मात्र धर्मले पनि तिम्रो रक्षा गर्नेछ । अर्थात् धर्मलाई अफिम मान्नेहरूले पनि त्यही अफिम मान्ने धर्मको सुरुवात गरेका रहेछन् । आज विश्वमा देखिएका राजनीतिक प्रणालीहरूमा सबैभन्दा जनप्रिय र जनताका भावनाहरूको पक्षमा बोल्ने भनेको प्रजातान्त्रिक राजनीतिक प्रणालीलाई मानिन्छ । इस्वी सन्भन्दा हजारौँ वर्ष पहिलेदेखि नगरमा रहेकाहरूलाई  नागरिक भनिन्थ्यो । जस्तो कि गाउँमा बस्नेहरूलाई गाउँले भनिन्छ । पछि सबै जनतालाई नागरिक भन्न थालिएको हो ।

अझै पनि हामी जनतन्त्र या लोकतन्त्रलाई प्रजातन्त्र नै भन्छौँ । प्रजा भनेको जनता । अनि, निश्चित क्षेत्रमा बस्ने बासिन्दा वा जनता वा नागरिकहरूलाई विभिन्न वर्गमा विभाजित गरेको पाइन्छ । कोही लडाकु, कोही कामदार या दास, कोही राज्यको कामकाजमा सहयोग गर्ने, कोही राजकाजमा नै लाग्ने । अनेक प्रक्रियाबाट गुज्रँदै र मानवजातिले आफ्ना अधिकारका लागि सहुलियत माग्दै आजको विकसित प्रजातन्त्रको विकास भएको हो, जुन एउटै स्वरूपको नभए पनि त्यसको मुख्य धारणा भनेको जनताको इच्छामा मात्र शासन गर्न पाइन्छ, शासक भएर‍- त्यो पनि आवधिक रूपमा । मानिसका इच्छाहरूको मापन गरेपछि मात्र उनीहरूको आदेशले मात्र ।

तर, आज पनि धर्मका नाममा मानवअधिकारको ठेक्का लिनेहरू छन् र अतीतमा त्यही धर्मका ठेकेदारहरूले अनेक जालपासो तयार गरेर मानिसहरूलाई धर्मको नाममा दास बनाउने, लाखौँ मानिसहरूको हत्या गर्ने र धर्मको नाममा मर्न र मार्न तयार पार्ने चलन आज पनि यथावत् देखिन्छ । धर्मगुरुहरूले उनीहरूको बोली नै देवताको बोलीको रूपमा लागू गर्नेहरू छन् । लाखौँ मानिसहरू धर्मका नाममा मारिँदै छन् अझै ।

इस्लाम धर्मले कहाँ भन्छ र मानिस पनि मानिसका शत्रु हुन्छन् भनेर ? हिन्दु धर्मले कहाँ भन्छ होला र मानिसहरूमा भेदभाव गर्नुपर्छ ? इसाई धर्मले कहाँ भन्दो होला र मानिसहरू एकअर्काका बीचमा फरक छन् ? कालो र गोरो भनेर फरक छुट्याउने कुन बाइबलमा लेखेको होला र ?

जस्तो ः आज हामी देख्छौँ नि राजनीतिक फाँटमा, विभिन्न दलहरू हुन्छन् र आफ्ना पक्षका लागि मत माग्दै हिँडेका छन् । यदि आफ्नो दललाई जिताएमा यतियति काम गर्नेछौँ भनेर घोषणापत्र निकालेका छन् । त्यस्तै हो हिजोका दिनमा धर्मका बारेमा विभिन्न पुस्तकहरू र मतको विभाजनका लागि पक्ष/विपक्षको कहानी तयार गरेको ।

मैले त जति अध्ययन गरेको छु धर्मका विषयमा, सबैले मानवतावादका लागि मात्र आफ्ना पन्थ पथिकहरूलाई उपदेश दिएको पाउँछु । तर, एउटा कुरामा चाहिँ फरक रहेछ‍- इस्लाम धर्म र इसाई धर्ममा वा बुद्ध धर्ममा नै किन नहोस्, त्यो धर्म मान्ने छुट छ तर हिन्दु धर्ममा भने त्यस्तो छुट देखिँदैन । कुनै धार्मिक पुस्तकमा वा शास्त्रमा कतै त्यस्तो प्रतिबन्ध देखिँदैन । 

शिक्षणका कारणले अहिले पनि काठमाडौं शिक्षा क्याम्पसमा सामाजिक न्याय शिक्षा पढाउँदै छु । लेख्ने काम अनलाइन तथा पत्रिकाहरूमा गरिरहेको छु । समाजिक सेवाको रूपमा पनि सक्रिय नै छु । अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका लागि फ्रिडम फोरममा सक्रिय छु ।

अझ जन्मँदा त सबै भगवान्का अवतार नै हुन् प्रत्येक मानिस तर कर्मका आधारमा ऊ ब्राह्मण, क्षत्री, वैश्य र शूद्र मान्ने भनिएको रहेछ । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा सायद कुनै वस्तुगत आधार नभएपछि जन्मका आधारमा चतुश्वर्णको आधार गिजोलियो । अनि, गुरुको छोरा वा छोरी बाहुन मानिने, राजा वा राजघरानाका मानिसहरू र उनीहरूका नातेदारहरूलाई राज्यको काम दिने गरी क्षत्री भनियो होला, वाणिकको काम गर्ने कृषि, खाद्यको व्यवस्था, कपडा, गहना बनाउने र वितरण गर्नेजतिलाई बाणिक या वैश्य भनियो होला । अनि, काम गर्न सक्ने तर विचारका काम गर्न नसक्नेलाई बाँच्ने गरी खान दिन र काम दिने भएकाले शूद्र भनियो होला । 

वस्तुगत रूपमा मूल्यांकन गरेर कुन वर्णको भनेर विभाजन गर्न प्रत्येक व्यक्तिलाई नसकेपछि राज्यको शासन सहजताका लागि एक पटक जन्म भएपछि सधैँ नै जन्मका आधारमा नै त्यही वर्ण या जातको मानियो होला । बिस्तारै समाजमा जन्मको आधारमा, धनी र गरिबको आधारमा, ज्ञानका आधारमा, क्षमताका आधारमा, तपस्याका आधारमा र समाजमा देखिने सामाजिक‍-मनोवैज्ञानिक दबाबका आधारमा एकअर्कालाई हेर्ने गरियो होला, जसको प्रयोग आंशिक रूपमा आज पनि छँदै छ । 

अचम्म छ, यो चलन संसारभरका शासनले आफ्नै तरिकाले लागू गरेका रहेछन् । धर्मले होइन रहेछ मानसिक रूपमा विभाजन गरेको, सत्ताको निरन्तरताका लागि गरिने व्यवहार रहेछ भन्ने कुराको आधार हो धर्मको अस्तित्वका आधारमा राज्य संचालन गर्ने बेलाभन्दा पहिले पनि राज्य प्रणाली थियो । अहिले पनि त्यो चलन आंशिक रूपमा छ । किन आंशिक भनेको भने कानुनी प्रक्रियामा जातलाई हिन्दु वा इस्लाम वा इसाई वा बुद्ध धर्म बाहुल्य देशहरूमा आज मानिँदैन ।

तर दुर्भाग्य, जुन जातलाई हामीले बीसौँ शताब्दीमा अन्त्य गर्‍यौँ भनेका थियौँ, त्यसैलाई आधुनिक नेपाल र भारतमा या विश्वका विकसित र प्रजातान्त्रिक राज्य प्रणाली भएका देशहरूमा, सामाजिक सुरक्षाको मापनको रूपका नाममा कहिल्यै नमेटिने गरी जरो गाड्न लगाएका छौँ र संविधान, कानुनले त्यसलाई अमर बनाउन थालेका छौँ ।

वास्तवमा सकारात्मक विभेदमार्फत् त्यसको समाधानका लागि सामाजिक न्यायको पक्षमा भन्दै सकारात्मक सामाजिक न्यायका नाममा जात, धर्म, लिंग, उमेर आदिलाई विभेदको रूपमा राखिएको छ । ती देशहरूमा सामाजिक न्यायको राम्रो प्रयोग भएको भने पाइँदैन भन्ने गुनासो देखिन्छ । अझ धर्मका नाममा हुने असामाजिक कार्यले हत्याको जघन्य कार्यलाई समेत औचित्यपूर्ण मानेको अवस्था छ । 

पत्रकारिता पहिले कि शिक्षण ?

मलाई अहिले पनि जब पासपोर्ट बनाउने बेला हुन्छ, कुन पेसा राख्ने भन्ने पर्छ । सामान्यतया पत्रकारिता नै राख्छु । पहिले पहिले लाग्थ्यो‍- पत्रकारिता त त्यस्तो पेसा हो, जसको निवृत्ति हुँदैन । जहिले पनि पत्रकार लेख्न मिल्छ होला किनभने त्यो त सोख हो । पत्रकारिता गर्ने भन्नेबित्तिकै लेख्ने हो, लेखिरहने हो । 

खासै नेपालमा पत्रकारिताको पढाइ पनि हुँदैनथ्यो । केही पत्रकारहरू थिए, जसले पत्रकारिता पढेर आएका थिए । उनीहरू सरकारी सेवाका हुन्थे या सरकारी सेवामा लाग्थे । मेरो इच्छा पत्रकारितातर्फ लाग्ने त्यही बेलामा थियो, जुनबेला म जनकपुरमा पढ्थेँ । त्यास बेला काठमाडौंबाट प्रकाशित हुने ‘राष्ट्र पुकार’ नामको साप्ताहिक पत्रिका जनकपुरमा आउँथ्यो । सायद त्यस बेला बिहीवार नै प्रकाशित हुन्थ्यो उक्त अखबार । 

जनकपुरमा ‘वैदेही’ साप्ताहिक थियो । तत्कालीन अवस्थामा नेपाली काङ्ग्रेसलाई धोखा दिएर बहुदलीय व्यवस्था र संसदीय व्यवस्थाको विकल्पमा निर्दलीय निरंकुश व्यवस्था पञ्चायतको पक्षमा लाग्ने डा. तुलसी गिरीको परिवारले चलाएको थियो । डा. तुलसी गिरीको घर मिल्स एरियामा थियो तर उनी खासै जनकपुरमा बस्दैनथे । मेरो जनकपुर बसाइ भनेको २०२७ साल साउनदेखि २०३० सालसम्मको अवधि थियो । करिब ४ वर्ष । जीवनको पहिलो कलेज पढ्ने बेलाको प्रभाव अहिलेसम्म पनि छ ।

भर्खर नेपाल विद्यार्थी संघको स्थापना भएको थियो । हामी आरआर डिग्री कलेज अर्थात् रामस्वरूप रामसागर डिग्री कलेज पढ्थेँ । दाता सेठ रामस्वरूप रामसागरले महाविद्यालय बनाइदिनुभएको रहेछ । उहाँहरू दाजुभाइ हुनुहुन्थ्यो क्यारे ! २०१४ सालमा स्थापना भएको सो कलेज पहिले इन्टर कलेजको रूपमा थियो पछि मात्र स्नातक तहसम्मको पढाइ हुन थालेको रहेछ ।

म पढ्न जाँदा आईए, आईकम, बीए पढाइ हुन्थ्यो । अहिलेका विद्यार्थीहरूलाई अचम्म लाग्दो हो, इन्टर र ब्याचलरलाई एउटै समय रेखामा राखेर बोलिन्थ्यो‍- तिमी कुन इयरको भन्दा थर्ड इयर भनेमा सम्झनुपथ्र्यो, बीए पहिलो वर्षमा रहेछ । फोर्थ इयर भनेको ब्याचलर वा स्नातक तहको अन्तिम वर्ष भन्ने बुझिन्थ्यो । फस्र्ट इयर भनेको इन्टरको पहिलो वर्ष, सेकेन्ड इयर भनेको इन्टरको दोस्रो वर्ष । 

त्यस बेला जनकपुरमा सिन्धुलीका एक जना साहित्यकार लीलासिंह कर्मा राससको पत्रकारिता गर्नुहुन्थ्यो । त्यस बेला सरकारी सेवाको पत्रकारितालाई जागिरको रूपमा लिइन्थ्यो तर हाम्रो आँखामा उहाँ पत्रकार नै हुनुहुन्थ्यो । एउटा कापी, एउटा कलम र झोला उहाँसँग सधैँ हुन्थ्यो । उहाँ एउटा रिक्सामा सधैँ हिँड्नुहुन्थ्यो ।

उहाँले ‘उषा’ नामको साहित्यिक पत्रिकालाई जनकपुरबाट निरन्तरता दिनुभएको रहेछ । उहाँले पत्रिका लेख्न मलाई पनि प्रेरणा दिनुभयो । २०२८ सालमा मैले उहाँको साहित्यिक पत्रिकामा ‘कुरीति’ नामको कथा जस्तै निबन्ध लेखेको थिएँ । म अहिले त्यसलाई कथा नै भन्छु किनभने त्यसमा रहेको सार थियो‍- कुनै ऋषि तपस्याबाट बाहिर आएर चेतना फैलाइरहेका थिएँ । मेरो त्यस बेलाको कल्पनामा बाल्मीकि थिएजस्तो लाग्छ या च्यवन ऋषिको अवतार रहेजस्तो लाग्छ ।

प्रजातन्त्रको पक्षमा कुनै दैवी शक्तिले कुनै पनि बेला नेपालमा पुनर्चेतना फैलाउनेछ भन्ने मलाई लाग्थ्यो र त्यसैको प्रतीकमा मैले पञ्चायतलाई कुरीति सम्झेर एक दिन त्यो कुरीति यस संसारबाट अन्त्य हुनेछ भन्ने आशयको थियो । थाहा छैन, अझै उषाको संकलनमा त्यो कथा होला कि ! फेरि ममा उत्प्रेरणा जाग्यो र ‘बाटो’ नामको कविता पनि ‘उषा’मा नै लेखेको थिएँ । मैले मैथिली भाषामा पनि कविता लेख्न सुरु गरेको थिएँ । त्यस बेला हामी सबैलाई साहित्यिक कार्यमा लाग्न प्रेरण दिने नेपाली मैथिली भाषाको विकासमा अनवरत लाग्ने गुरु डा. धीरेन्द्र झा ‘धीरेन’ हुनुहुन्थ्यो ।

मैले जनकपुरमा बाचन गरेका २ वटा मैथिली कविताहरूलाई उहाँले पटनाबाट प्रकाशित हुने ‘मिथिला मिहिर’मा छाप्न लगाएर मेरो उत्साह बढाउनुभएको थियो । त्यस बेला १०० रुपैयाँ भारु पारिश्रमिक पनि आएको थियो । तर, मेरो कमजोरीले मैले त्यो नेपालको भूमिमा पुष्पित, पल्लवित भएको देवभाषा संस्कृतको दुहिता मैथिलीलाई अपनत्व दिएर अपनाउन सकिनँ किनभने मलाई मैथिली भाषाको व्याकरणको खासै ज्ञान थिएन र छैन ।

नेपालका मैथिली भाषाको विकास र प्रवद्र्धनमा डा. धीरेन्द्र गुरुको ठूलो योगदान छ । नेपालमा पहिलो पटक एमएमा मैथिलीको पढाइ नै उहाँको योगदानका कारणले जनकपुरमा सुरु भएको थियो । आज पनि नेपालमा मैथिली भाषाको आधुनिक विकासको कुरा आउँदा गुरु धीरेन्द्रलाई सम्झन्छु म । 

यसरी ममा रहेको लेखन चाहना विद्यालय तहदेखि नै जुन थियो, त्यसलाई दाजु लीलासिंह कर्मा र गुरु धीरेन्द्रले प्रेरणा दिनुभएको कुरा सगौरव सम्झन्छु । जनकपुरमा धेरै पहाडिया बाहुनहरूले मैथिली भाषा र साहित्यलाई अपनत्व लिएर विकास गरेको र मातृभाषा सरह घरमा नै प्रयोग गर्नेमा प्रातः स्मरणीय गुरु कृष्णप्रसाद आचार्यको नाम लिइन्छ । उहाँ जनकपुरमा प्रतिष्ठित गुरुको रूपमा हुनुहुन्थ्यो । त्यस्ता धेरै गुरुहरूका कारणले नै आज पनि मैथिलीको केन्द्र जनकपुर भएको हो । अहिले आधुनिक समयमा भाषाप्रतिको लगाव युवाहरूमा पनि देखिन थालेकाले नेपाली भाषा जस्तै गरी मैथिली, भोजपुरी, अवधिको विकास होला भन्ने आशा गरौँ ।

अरू भाषाहरूको पनि विकास, संरक्षण र अमरत्वका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारहरूले बिनाभेदभाव सहयोग गर्नेछन् र भाषा संरक्षणका लागि कानुनहरू बनाउनेछन्, प्रज्ञाप्रतिष्ठानहरू बनाएर मुलुकको चौतर्फी विकासमा टेवा पुर्‍याउनेछन् भन्ने अपेक्षा राखौँ । 

मैले यसरी जनकपुरबाट आईकम पास गरेपछि २०३१ सालमा पहिलो पटक निम्नमाध्यमिक विद्यालय, परेवाडाँडा सिन्धुलीमा प्रधानाध्यापकको रूपमा शिक्षण पेसा सुरु गरेँ । २०३२ सालमा काठमाडौँ आएर बीएड लेखा विषयमा पढ्न थाल्दा आफूले जनकपुरमा बसेर प्रजातान्त्रिक आन्दोलनका बारेमा सुसूचित हुने पत्रिका ‘राष्ट्र पुकार’का सम्पादक आदरणीय होमनाथ दाहालजीलाई चिनेँ । तर, त्यस बेला पञ्चायतको कोपभाजनमा परेर र तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीको व्यक्तिगत इच्छामा तत्कालीन संचारमन्त्री राधाप्रसाद घिमिरेले प्रतिबन्ध लगाएका रहेछन्‍- सायद राष्ट्र पुकारसहित समीक्षा र अरू ४ या ५ वटा पत्रिकालाई ।

उहाँलाई चिन्ने कारण हुनुहुन्थ्यो आदरणीय विपीन कोइराला । म पढ्न काठमाडौं सुरुमा आउँदा बस्ने नै उहाँसँग थियो र उहाँका कारणले मैले होमनाथ दाहालजी, जसलाई आजसम्म म आफ्नो पत्रकारिताको गुरु मान्छु, त्यही बेलादेखि नै मैले होमनाथ दाइ नै भन्न थालेको थिएँ । अहिले पनि दाइ नै भन्छु । 

अहिले राष्ट्र पुकारको प्रकाशन स्थगित छ । दाजु पछि पूर्णकालीन राजनीतिमा लाग्नुभयो र कृषिमन्त्री हुनुभयो । तर, मेरालागि दाजु सधैँ पत्रकारको अग्रज पथप्रदर्शक हुनुहुन्छ । उहाँका बारेमा मैले केही भन्दा आफ्नो दाजुको बयान गरेजस्तो हुने भएकाले पत्रकार संघको सभापति हुनुभएका दाजुलाई अहिले पनि मैले आफ्ना घरको दाजु नै सम्झेको छु  ।

२०३४ सालमा कीर्तिनिधि विष्ट जब प्रधानमन्त्री हुनुभयो पञ्चायतकै भए पनि, उहाँले ती प्रतिबन्धित पत्रिकाहरूको प्रतिबन्ध फुकाउनुभयो । म त्यो पत्रिका निस्केको मितिदेखि सो पत्रिकाको प्रकाशन स्थगित २०५६ सालमा भयो, सो नहुन्जेलसम्म मैले विभिन्न नाममा लेखिरहेँ । पछि गएर अश्रु सिन्धुलीयको नाममा सामयिक टिप्पणी र राजनीतिक चेतनाका लेखहरू लेखेँ, जुन क्रम आजसम्म पनि यथावत् छ ।

राष्ट्र पुकारको स्थगनपछि कहिले ‘नेपाल जागरण’मा लेखेँ, कहिले ‘युगवाणी’मा लेखेँ, कहिले ‘नेपाल वाणी’मा लेखेँ, कहिले ‘कान्तिपुर’मा, कहिले ‘गोरखापत्र’मा, कहिले ‘राजधानी’मा, कहिले कताकता लेखिरहेकै छु ।

केही वर्ष आफ्नै प्रकाशकत्व र सम्पादकत्वमा ‘बाध्यता’ भन्ने साप्ताहिक पनि चलाएँ । करिब २० वर्षदेखि सल्लाहकार सम्पादकका रूपमा ‘नयाँ विकल्प’ साप्ताहिकमा पत्रकारको रूपमा कार्यरत छु‍- स्वयंसेवी लेखकका रूपमा । राष्ट्र पुकारमा मैले समाचारदाताका रूपमा, सम्पादकीय समूहको एक सदस्यको रूपमा, अनुवाद गरेर लेख्ने लेखकको रूपमा, विज्ञान लेखकको रूपमा, खेलकुद पत्रकारको रूपमा लेखेँ । खासगरी ‘सामयिकी’ भनेर समसामयिक टिप्पणी नै लेखेँ ।

मलाई होमनाथ दाइको सम्पादकको रूपमा खास र सबैभन्दा विशेषता लाग्थ्यो‍- उहाँ निडरताका साथ प्रजातन्त्रका पक्षमा उभिनुहुन्थ्यो । कतिपयले उहाँलाई खिसी गरेर ‘बीपी पुकार’, ‘गिरिजा पुकार’को सम्पादक भनेर पनि भन्थे तर बिहीबार पत्रिका निस्केको दिन भनेको कहिले हाम्रो पत्रिका बजारबाट पुलिसले सबै लैजाने दिन पथ्र्यो त कहिले प्रेसबाटै सबै छापिँदै गरेका पत्रिकाहरू लैजाने समय जुथ्र्यो ।

मैले करिब २२ वर्ष त्यस पत्रिकामा जे सिकेँ, त्यही नै मेरो प्रजातन्त्रको पाठशाला हो, प्रेस स्वतन्त्रताको  मानक ज्ञान हो । प्रजातन्त्रमा मात्र अभिव्यक्ति स्वतन्त्रता हुन्छ भन्ने व्यावहारिक ज्ञान दिने पत्रिका पनि मेरालागि त्यही हो ।

मैले २०३५ सालदेखि पेसाको रूपमा शिक्षण गर्न थालेँ विद्यालयमा । त्यही क्रममा भाग्योदय मावि, साँखु, लेबोरेटरी मावि कीर्तिपुर र गुह्येश्वरी बालशिक्षा मावि, थापाथलीमा शिक्षण गरेँ । आज पनि गुजाराका लागि सरकारले दिने पेन्सनचाहिँ गुह्येश्वरी बालशिक्षा माविका तर्फबाट नै खाइरहेको छु । मेरो खासै पत्रकार हुँ भन्दै हिँड्ने स्वभाव पनि रहेन तर लेख्न पनि आजसम्म छाडेको छैन ।  

यही क्रममा मैले उच्चशिक्षाचाहिँ पत्रकारितामा नभएर शिक्षा, त्यो पनि पाठ्यक्रम विषयमा गरेँ अनि अनुसन्धानका क्रममा चाहिँ महाभारतको शिक्षामा गरिरहेको छु । तर, मलाई लाग्यो‍- मेरो अनुभवको कहीँ कतै प्रयोग गर्नुपर्छ ।

२०५८ सालमा हुनुपर्छ, उच्चमाध्यमिक शिक्षा परिषद्मा उपाध्यक्षको रूपमा आदरणीय दाजु डा. तीर्थराज खनियाँ हुनुहुन्थ्यो । नेपालमा पत्रकारिताको शिक्षाले बजारमा नाम कमाउन थालेको थियो र रत्नराज्य क्याम्पसले त्यसको नेतृत्व गरेको थियो । मैले डा. खनियाँलाई उहाँकै कक्षमा गएर भनेँ, ‘दाजु, पत्रकारितालाई उच्चमाध्यमिक विद्यालयमा पनि सुरु गरौँ न, कलेजहरूमा पत्रकारिता र आमसंचार पढ्नेहरूको पत्रकारिता क्षेत्रमा महत्त्व बढिरहेको छ ।’

उहाँले मेरो कुरालाई तत्कालै स्वीकार गर्दै त्यस बेलामा उच्चमाध्यमिक शिक्षा परिषद्का पाठ्यक्रम प्रमुख डा. श्रीकृष्ण यादवलाई तत्काल एउटा टिप्पणी तयार गर्न र आगामी बैठकमा नयाँ विषय आमसंचार र पत्रकारितालाई ऐच्छिक विषयको रूपमा राख्न अनुरोध गर्नुभयो । यसको अर्थ थियो, त्यससम्बन्धी काम सुरु गर्ने कुरा आयो ।

मलाई उहाँले भन्नुभयो, ‘तिमीले समन्वय गर्नुपर्छ ।’ तर, मैले भनेँ, ‘हुन्छ दाजु, तर यसको संयोजकमा राख्नुपर्छ वरिष्ठ पत्रकार गोकुल पोखरेललाई, यसमा पत्रकार महासंघ, त्रिविका पत्रकारिता विभागीय प्रमुख र अरू वरिष्ठ पत्रकारहरूलाई ।’ उहाँले टिप्पणीमा त्यही राख्न भन्नुभयो ।

मैले तत्कालै पत्रकार महासंघसँग सम्पर्क गरेँ र त्यहाँबाट तत्कालीन महासचिव तारानाथ दाहालले प्रतिनिधित्व गर्ने निधो भयो । गोकुल पोखरेलजीलाई संयोजक बनाएर त्रिवि पत्रकारिता विभागीय प्रमुख चिरञ्जीवी खनाल, म, तारानाथ दाहाल, परिषद्का प्रतिनिधि मिलेर आमसंचार र  पत्रकारिताको पाठ्यक्रम तयार गर्‍यौँ, जुन आजसम्म पनि आधारको रूपमा  छँदै छ ।

पछिसम्म पनि मलाई पत्रकारिता विभागमा राखिएको थियो, अचेल खोइ किन हो, बोलाएका छैनन् । त्यो विषय अहिले पनि कक्षा ११ र १२ को बढी मनपराइएको विषय बनेको छ । त्यस बेला पत्रकारिता त्रिविमा पनि प्रवीणता प्रमाणपत्र तहमा पढाइ हुन्थ्यो । त्यसैले जस्ताको त्यस्तै नहोस् भनेर त्रिविको पत्रकारिता विभागको प्रतिनिधित्व आवश्यक थियो, जसलाई चिरञ्जीवी सरले राम्रो प्रतिनिधित्व बहन गर्नुभएको थियो ।

सायद त्यसको समीक्षा गर्नेमा दुर्गानाथ शर्मा, ध्रुवहरि अधिकारी, गोपाल बस्नेत, कोको हुनुहुन्थ्यो जस्तो लाग्छ । अहिले त नेपाल सरकारको मूल प्रवाहमा पाठ्यक्रम विकास केन्द्रमा त्यो विषय आएको छ र पहिलेको उच्चमाध्यमिक शिक्षा परिषद् हाल राष्ट्रिय परीक्षा बोर्डको रूपमा कार्यरत छ ।

विद्यालयमा पनि पहिलेदेखि नै ऐच्छिक द्वितीयमा पत्रकारिता भन्ने विषय राखिएको थियो । तर, त्यसको पाठ्यक्रम बनाइएको थिएन । त्यस बेला नेपाल सरकारको पाठ्क्रम विकास केन्द्रमा महानिर्देशक अर्जुन भण्डारीजी हुनुहुन्थ्यो । उहाँलाई हामीले भन्ने गरेका थियौँ‍- म्यान अफ एक्सन । गर्ने भनेपछि गर्ने । उहाँ मेरो व्यक्तिगत साथी पनि अनि नयाँनयाँ काम गर्नका लागि सधैँ तत्पर पनि भएकाले मैले यही उच्चमाध्यमिकमा पत्रकारिताको पाठ्यक्रमम बनाउने टिमले नै पत्रकारिताको पाठ्यक्रम बनाउने प्रस्ताव राखेँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो र भाषा सम्पादकको रूपमा कार्यरत तर भाषाविद् गणेश भट्टराईलाई समन्वय गर्न अनि गोकुल सरलाई त्यसको जिम्मा दिलाउने काममा हरिविनोदसँग सहयोग लिन भनेर खटाउनुभयो ।

गणेश भाइले तत्कालै मैले दिएका नामहरू तयार गरी पत्रकारिताको पाठ्यक्रम बनाउन लाग्नुभयो । नभन्दै करिब ५ महिनासम्ममा हामीले तयार गर्‍यौँ र अहिले पनि गौरव लाग्छ, विद्यालयमा पत्रकारितालाई प्रवेश गराउन गोकुल दाइ, चिरञ्जीवी सर, तारानाथ दाहाल भाइ, स्वयं महानिर्देशक भण्डारी सर अनि अनवरत प्रयास गरेर पाठ्यक्रमलाई अन्तिम रूप दिने अनि पाठ्यक्रम तथा मूल्यांकन परिषद्सम्म लैजाने काममा गणेश भाइको योगदान अविस्मरणीय छ ।

पछि त्यसको पाठ्यपुस्तक विद्वान् गुरु लालदेउसा राईले लेख्नुभयो र आजसम्म विद्यालय तहको कक्षा ९ र १० मा त्यही पुस्तक नै चलिरहेको छ । पाठ्यक्रममा केही परिवर्तन त भएको छ तर अझै त्यही नै रहेको रहेछ । मैले नै करिब ११ वर्ष त्यो पाठ्यक्रमअनुसार पत्रकारिता विद्यालयमा पढाएँ । सायद उपत्यकामा पत्रकारिता विद्यालयमा पढाउने हाम्रै गुह्येश्वरी बालशिक्षा मावि थियो ।

मैले निवृत्तिभरण लिएपछि त्यो विषय पढाइ हुन छाड्यो । एउटा कुरा मैले बुझ्न सकिनँ, किन कक्षा ११ र १२ मा पत्रकारिताले राम्रो स्थान ग्रहण गरेको छ तर कक्षा ९ र १० मा भने त्यसले प्रचार नै पाएन ? मैले आफ्नो खास विषय लेखासँगै समय मिलाएर पत्रकारिता पढाएको थिएँ । मलाई विषय पढाउनु थियो र केही शिक्षार्थीहरूलाई पत्रकारिताको शिक्षाले चेतना दिनु थियो । कतिपय अभिभावकहरूले पत्रकारिता पढाउने चाहना राख्नुभएको थिएन तर मैले उहाँहरूलाई पत्रकारिताको महत्त्व सम्झाएको थिएँ । 

अब मलाई एउटा समस्या परेको के हो भने, मेरो खास पेसा के हो त ? विद्यालयको शिक्षकको रूपमा संयुक्त राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गरेँ, पत्रकारको रूपमा ‘घटना र बिचार’ जस्तो कार्यक्रममा संयोजकको रूपमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँगै काम गरेँ । आजसम्म पनि लेखिरहेको छु । हालै मात्र संविधान दिवसको उपलक्ष्यमा दिएको पदकमा पनि ‘वरिष्ठ पत्रकार’ भनेर सम्बोधन गरिएको छ ।

शिक्षणका कारणले अहिले पनि काठमाडौं शिक्षा क्याम्पसमा सामाजिक न्याय शिक्षा पढाउँदै छु । लेख्ने काम अनलाइन तथा पत्रिकाहरूमा गरिरहेको छु । समाजिक सेवाको रूपमा पनि सक्रिय नै छु । अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका लागि फ्रिडम फोरममा सक्रिय छु ।

तर, मनले अहिले पनि पत्रकारितालाई नै किन हो, मेरो पुरानो पेसा हो जस्तो लाग्छ, जबकि मेरो दैनिकी चलाउने पेन्सनचाहिँ शिक्षण पेसाकै कारणले प्रत्येक महिना खातामा आउँछ नेपाल सरकारबाट ।
क्रमशः