बहुआयामिक यादव खरेल: पत्रकार, गीतकार, कवि, चलचित्र निर्देशक, समाजसेवी
कार्तिक ५, २०७८

यादव खरेललाई चिनाउने अनेकौँ विधा छन् । उहाँ के हो भन्दा पनि के होइन भन्ने प्रश्न पो बढी देखापर्छ । कवि, गीतकार, प्राज्ञ, प्राध्यापक, चलचित्र निर्देशक, समाजसेवी, कार्यक्रम प्रस्तोता, फुटबलर, सबै हो उहाँ । एउटा व्यक्तिमा यी सबै व्यक्तित्व हुनु भनेको सामान्य कुरो होइन । यसअर्थमा उहाँ बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हो ।

हुनत उहाँको जन्म सम्पन्न जमिन्दार परिवारमा भएको हो । तर, सम्पन्न परिवारमा जन्मँदैमा मान्छे ठूलो र महान् हुँदैन । उसलाई महान् बनाउने भनेको उसको कर्म, मिहिनेत, लगाव र निरन्तरताले हो । यी सबै गुणले खरेललाई हरेक क्षेत्रमा सफल बनाएको देखिन्छ ।

उहाँले सिर्जना गर्नुभएको छ, सृष्टि गर्नुभएको छ अनि उत्पादन पनि । यस अर्थमा पनि खरेललाई एक सफल स्रष्टा मान्न सकिन्छ ।


जन्म तथा बाल्यकाल

उहाँको जन्म १९९९ सालमा भएको हो । उहाँहरू अध्ययनका लागि भने काठमाडौँ आउनुभएको हो । तर, दशैँ, तिहारलगायत अन्य चाडपर्व मनाउन भने पहाड घर काभ्रेपलाञ्चोक जानुहुन्थ्यो ।

विशेषगरी त्यसबेला मीनपचासको छुट्टीमा उहाँहरू तराईको मौजामा जानुहुन्थ्यो । सप्तरीको नर्गो हो त्यो ठाउँ भनेको । त्यस अर्थमा उहाँले तराई, पहाड तथा काठमाडौं सबैतिरको जीवन बुझ्नुभएको छ । त्यो अवसर कमैलाई मात्र प्राप्त हुन्छ ।

मीनपचासको त्यो छुट्टीमा तराई जाँदा पनि उहाँलाई पिताजीले स्कुलमा हालिदिनुहुन्थ्यो । त्यसबेलामा तराईको स्कुलमा ‘जन गण मन अधिनायक हे भारत भाग्य विधाता’ भनेर राष्ट्रिय गान गाउनुपर्थ्यो ।

त्यस बेला तराईमा नेपाली पैसा पनि चल्दैनथ्यो । त्यस अर्थमा नेपाल भौगोलिक रूपमा स्वतन्त्र देश भए पनि अन्य कुरामा भने भारतपरस्त थियो, जसलाई राजा महेन्द्रले तोडेको पनि बताउनुहुन्छ उहाँ । यसमा पूर्व-पश्चिम राजमार्गले पनि ठूलो भूमिका खेलेको छ ।

उहाँ राम्रो फुटबल खेल्नुहुन्थ्यो स्कुलमा । फरवार्डका रूपमा । त्यस बेला स्कुलबीच एउटा प्रतियोगिता हुन्थ्यो- देवी महामेमोरियल शिल्ड भन्ने । त्यस प्रतियोगितामा उहाँले पदक पनि प्राप्त गर्नुभएको थियो ।

त्यस बेला प्रतियोगिता टुँडिखेलमा हुन्थ्यो । टुँडिखेल त्यस बेला एउटै थियो । पछि मात्र सेनाले छुट्ट्याएको हो । तर, गाउँमा भने भोगटेको बल मात्र । अनि, लट्ठी चुच्चो बनाएर हानेर गाड्ने तथा त्यसलाई अर्कोले हानेर ढाल्ने खेल, जसलाई गाडा भनिन्थ्यो ।

अर्को भनेको अलिक बदमासी गर्नेले खोपी खेल्थे । अलिक ठूलाले बाघचाल खेल्थे भने पैसा राखेर जसकोमा झिँगा बस्यो, त्यसले मार्ने झिँगे दाउको अर्को खेल पनि हुन्थ्यो । कबड्डी पनि खेल्ने चलन थियो ।

त्यस बेला नौरथा लागेपछि तिहारसम्म प्रत्येक पीपलको रूखमा पिङ हालेर खेल्ने चलन थियो । तिहारको पञ्चक लागेपछि ठूलाहरूले जुवा खेल्थे ।

प्रारम्भिक शिक्षा

उहाँले कखरा चिनेको चाहिँ घरमा नै हो । त्यो भनेको काभ्रेपलाञ्चोकमा । घरमै आएर गुरुले पढाउनुहुन्थ्यो । तर, उहाँको कक्षा एकदेखिको पढाइ भने पद्मोदय मावि पुतलीसडकमा भएको हो ।

त्यस बेला बस्नका लागि लामो बेञ्च हुन्थ्यो स्कुलमा । उहाँ माविमा पढ्दा एउटा कक्षामा करिब २०-२५ जनाजति हुन्थे । छात्राहरूको संख्या भने शून्य । उहाँ पढाइमा खासै उम्दा विद्यार्थी होइन । सामान्य नै हो । धेरैतिरको रुचि रहँदा आफू सामान्य विद्यार्थी रहेको उहाँको बुझाइ छ ।

विस्किन्सन युनिभर्सिटीले पीएचडीका लागि पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्‍यो । तर, उहाँलाई लाग्यो अहिले पढ्न गएँ भने छोराछोरी सबै विदेशतिरै हुन्छन् । यो देशसँगको साइनो सकिन्छ । जरा काटिन्छ । एउटा भ्रष्टाचारी सचिवसँग भागेर किन विदेश जानु भनेर पनि उहाँले उक्त छात्रवृत्ति त्याग्नुभएको रहेछ ।

उहाँले २०१६ सालमा एसएलसी दिनुभएको हो । त्यस बेला करिब १५-१६ जनाले एसएलसी दिएजस्तो लाग्छ उहाँलाई । तर, कति पास भए भन्ने हेक्का छैन । उहाँको पालामा एसएलसी नै पटनाको बोर्डबाट हुन्थ्यो ।

कलेज भने उहाँले त्रिचन्द्रमा पढ्नुभएको हो । आईए तथा बीए उहाँले त्रिचन्द्रमा पढ्नुभयो । तर, एमए भने त्रिपुरेश्वरमा पढ्नुभएको हो उहाँले । त्यसबेला त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बनिसकेको थिएन ।

उहाँले त्यसपछि कानुनमा स्नातक पनि गर्नुभयो । कानुनको पढाइ भने हाल ललितकला क्याम्पस रहेको स्थानमा हुन्थ्यो । उहाँले त्यसपछि अधिवक्ताको लाइसेन्स पनि लिनुभयो । हालसम्म पनि छ उहाँसँग उक्त लाइसेन्स ।

कलेज जीवनपछि

उहाँले २ वर्ष नेसनल कलेजमा पढाउनुसमेत भयो, आईए तथा बीएलाई । कक्षा भने बेलुकी हुन्थ्यो । नेसनल कलेज हाल शंकरदेव क्याम्पस भएको स्थानमा थियो ।

उहाँले लक्ष्मण अर्याल तथा कृष्णजंग रायमाझीसँग मिलेर ल फर्मसमेत खोल्नुभएको थियो । तर, त्यसपछि भने ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएर उहाँ पढ्न बेलायत जानुभयो, लण्डन युनिभर्सिटीमा । पढाइ थियो चलचित्र सम्बन्धी- चलचित्र निर्देशन तथा निर्माण ।

त्यस बेला नेपालमा भारतीय चलचित्रको ज्यादा प्रभाव थियो । त्यसको अन्त्य गर्नका लागि राजा महेन्द्रले २०२८ सालमा शाही नेपाली चलचित्र संस्थान स्थापना गर्नुभएको थियो ।

तर, राजा महेन्द्रको अचानक देहावसान भयो । त्यसपछि राजा वीरेन्द्रले त्यसलाई निरन्तरता दिनुभयो । त्यसबेला चलचित्र संस्थानको बोर्ड सदस्यमा बालकृष्ण सम, माधव घिमिरे, श्रीधर खनाल आदि हुनुहुन्थ्यो ।

उहाँ चलचित्रसम्बन्धी लण्डन युनिभर्सिटीमा पढेर आएको हुनाले उहाँलाई अध्यक्ष बनाइएको थियो । सम, घिमिरे तथा खनाल जस्ता वरिष्ठलाई राखेर बैठक गर्न पनि उहाँलाई अप्ठ्यारो लाग्थ्यो रे !

बालाजुमा चलचित्र संस्थानको नियम, कानुन तथा भवन बनाउनेसम्मको काम उहाँकै पालामा भएको हो । उहाँले नै लक्ष्मीनाथ शर्मा आदिलाई नियुक्त गरेर पुना फिल्म इण्डष्ट्रीमा पढ्न पठाउनुभएको हो ।

त्यसपछि उहाँ परिवार नियोजन संघसँग आवद्ध हुनुभयो । तर, यसैबीचमा उहाँलाई देश छाडेर विदेश जाऊँ भन्ने लाग्यो । कारण थियो, त्यसबेला दरबार उहाँको समर्थनमा थिएन । अर्थात् दरबारका सचिव नारायणप्रसाद श्रेष्ठ उहाँको विरोधमा थिए । भ्रष्टाचारको विरोधमा उहाँले अडान लिएका कारण रहेछ विरोध भने ।

त्यसपछि उहाँलाई विस्किन्सन युनिभर्सिटीले पीएचडीका लागि पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्‍यो । तर, उहाँलाई लाग्यो अहिले पढ्न गएँ भने छोराछोरी सबै विदेशतिरै हुन्छन् । यो देशसँगको साइनो सकिन्छ । जरा काटिन्छ । एउटा भ्रष्टाचारी सचिवसँग भागेर किन विदेश जानु भनेर पनि उहाँले उक्त छात्रवृत्ति त्याग्नुभएको रहेछ ।

विवाह

उहाँको विवाह २०२८ सालमा भएको हो । उहाँको मागी तथा मनपराएका कारण प्रेम विवाह पनि हो । उहाँका २ छोरी तथा एक छोरा हुनुहुन्छ ।

एक जना छोरी अमेरिकामा अन्तर्राष्ट्रिय संगठनको निर्देशक हुनुहुन्छ । अर्की छोरीले भने पिट्सवर्ग युनिभर्सिटीबाट पीएचडी गरेर केही समय त्यतै पढाउनुभयो । हाल भने विभिन्न अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा हुनुहुन्छ ।

छोराले पनि पढाइ अमेरिकामा पूरा गरेर चलचित्र तथा अन्य सिर्जनात्मक काममा हुनुहुन्छ ।

चलचित्रतिर

चलचित्रका नयाँनयाँ जनरा अर्थात् धारका चलचित्र बनाउने श्रेय पनि उहाँलाई जान्छ । राणाकालको ऐतिहासिक चलचित्र प्रेमपिण्ड, धार्मिक तथा सांस्कृतिक चलचित्र श्री स्वस्थानी बनाउनुभयो ।

व्यक्तित्वका हिसाबले उहाँले आदिकवि भानुभक्त बनाउनुभयो । महाकवि देवकोटाको भने उहाँले डकुमेन्ट्री बनाउनुभएको छ । त्यस्तै, कमेडी जनरामा उहाँले लोभीपापी बनाउनुभएको छ । बुद्धत्वका बारेमा उहाँले नासो बनाउनुभएको छ । त्यस्तै, नेपाली चेलीबेटी बेचबिखन सम्बन्धमा चेलीबेटी बनाउनुभएको छ ।

प्रकाशन

‘अनि एउटा लहर बिउँझन्छ’ कवितासंग्रह, २०२२, यादव खरेलका मुक्तकहरू, मुक्तक संग्रह, २०२९ र २०४६, 'समुद्रपारि', नियात्रासंग्रह, २०३१, २०६९, २०७४, ‘खलबल’, हास्यव्यंग कवितासंग्रह, २०४७, 'यस्तो पनि हुँदो रै'छ', गीतिसंग्रह, २०४८, 'यस्तै रहेछ यहाँको चलन', गीतिसंग्रह, २०५९ खरेलका प्रकाशित कृतिहरू हुन् ।

उहाँका एक दर्जनभन्दा बढी गीति एल्बमहरू आएका छन् भने ३ दर्जनभन्दा बढी चलचित्रमा गीतसमेत लेख्नुभएको छ । ४ दर्जनभन्दा बढी संगीतकार, सयभन्दा बढी नेपाली गायक/गायिका, एक दर्जन भारतीय गायकसँग उहाँको सहकार्य रहेको छ ।

संलग्नता

उहाँ २०६१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुभयो । नेपाल आँखा अस्पतालको उहाँ संस्थापक आजीवन सदस्य रहँदै कोषाध्यक्ष, उपाध्यक्ष तथा अध्यक्ष हुनुभयो ।

त्यस्तै, विभिन्न समयमा गरी परिवार नियोजन संघको उपाध्यक्ष, महासचिव तथा महानिर्देशकसमेत हुनुभयो । रेडियो नेपाल तथा बीबीसी नेपाली सेवाको कार्यक्रम संचालकसमेत बन्नुभयो ।

शाही नेपाली चलचित्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक तथा चलचित्र विकास बोर्डको संस्थापक अध्यक्ष पनि बन्नुभयो खरेल । उहाँको संलग्नता झण्डै नेपालका प्रमुख ४ दर्जन संघसंस्थामा रहेको देखिन्छ ।

पुरस्कार तथा सम्मान

उहाँले प्राप्त गर्नुभएका प्रमुख पुरस्कारमा प्रख्यात त्रिशक्तिपट्ट, प्रबल गोरखा दक्षिण बाहु, श्री ५ वीरेन्द्र गद्दी आरोहण रजत पदक, वीरेन्द्र-ऐश्वर्य सेवा पदक, दैवी प्रकोप उद्धार पदक, महेन्द्र चलचित्र साधना सम्मानलगायत छन् ।

उहाँले कविता प्रतियोगिता, वादविवाद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा फुटबल प्रतियोगितामा समेत प्रथम भएर स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।

उत्कृष्ट गीतकार तथा निर्देशकका रूपमा पनि उहाँले थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ ।

उहाँका पुरस्कार र सम्मानका ठेली पल्टाउने हो भने झण्डै शतक नाघ्छन् ।