मृत्यु संस्कार छोट्याउँदा परिवार नै विस्थापित

मृत्यु संस्कार छोट्याउँदा परिवार नै विस्थापित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७६

कलैया । सात दिनमै मृत्यु संस्कार सकेको भन्दै गाउँका अगुवाले सामाजिक बहिष्कार गरेपछि यहाँको एक परिवार विस्थापित भएको छ । बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्करणमा परेर गाउँबाटै विस्थापित भएको हो । 

यादवका अनुसार बुबा अनुठा यादवको वैशाख १५ मा कलैया अस्पतालमा उपचारका क्रममा निधन भयो । घरपरिवारले कबिरापन्थी धर्मअनुसार सात दिनमा काजकिरिया सकेपछि गाउँका अगुवा, स्थानीय नेतासमेत ११ जना व्यक्तिले आफ्नो परिवारलाई सामाजिक बहिष्कार गरेर गाउँबाट विस्थापित गराएको यादवले दुखेसो पोख्नुभयो । 

यादव परिवारसँग बोल्ने वा कुनै किसिमको व्यवहार गरेमा तीस हजार रुपियाँ दण्ड गर्ने निर्णयसमेत अगुवाले गरेको स्थानीय ५५ वर्षीय दुर्गा यादवले जानकारी दिनुभयो । त्यही डरले गाउँका व्यक्ति यादवको परिवारसँग कुनै पनि व्यवहारमा संलग्न नरहेको स्थानीय मुनिलाल यादवले बताउनुभयो । आजको गाेरखापत्र दैनिकले यो समाचार प्रकाशित गरेको छ ।