एक्लिएको प्रेमभाव

एक्लिएको प्रेमभाव

निरन छाङ्छा राई  |  साहित्य  |  कार्तिक ६, २०७८

क्षितिजदेखि पारि
अचेल प्रेम आकाङ्क्षाहरू
कर्‍याङकुरुङको हुलझैँ
उड्दै उड्दै बहकिन्छन्
उही तिम्रो एक्लो गाउँतिर ।

त्यसैले त होला
यहाँ मेरा सन्ध्याहरु पनि
सुख्खा बगर छेउ पुगेर टोलाइरहन्छन्
झ्याउकीरीको कर्कश आवाजसँगै
बिरानो भाकामा ।

यो पल तिम्रो अनुपस्थितिमा नै होला
तिमीदेखि टाढा बहकिएर नै होला
प्रेमका ती गगनचुम्बी पहाडहरु
भत्किएको आभासहरु भेट्टाउँछु
कस्तो अमिथ्य समय !

सायद,
त्यहाँ तिम्रो मनको
आँखीझ्यालका पर्दाहरु खुले होला
त्यसैले त यहाँ म छेऊ
आँधिबेहरी चलिरहेछ ।

त्यसै गरी अँध्यारिएको संसारमा
दियालोको मधुरो प्रकाशसँगै
बियाँलो गरेर स्वप्निल भ्रमहरु
केलाई हेर्छु मायाको दलान छेउ
प्रेमको सुकुलमा बसाएर
तर अझै गिजोलिन्छन् /बिथोलिन्छन्
प्रेमिल जुनेली रातहरु !

हेर त
म यहाँ बिल्कुल एक्लो मन लिएर
हतोत्साही नबनिकन
प्रेमका यात्राहरुलाई
अनवरत जारी राखिरहेको छु ।

सायद,
होला तिम्रा ती प्रेमका हातहरु
गरिमामय भएर नै होला
प्रेमलाई जीवन सम्झिएर
एक्लै जिजिवीषा बचाइरहेछु
आत्मग्लानी पिएर भए पनि चुपचाप चुपचाप ।

 

                                          अरुण–५, भोजपुर