‘प्रकृतिको अनन्तता बोध’ : ज्ञानको परिधिमा नआएको अज्ञान सधैँ शेष रहने अवस्था

‘प्रकृतिको अनन्तता बोध’ : ज्ञानको परिधिमा नआएको अज्ञान सधैँ शेष रहने अवस्था

ज्ञानमित्र  |  दृष्टिकोण  |  कार्तिक ७, २०७८

हामी बसेको संसार विचित्रकै छ । विचित्रताले युक्त नभएको भए संसार हुने नै अथवा रहने नै थिएन कि ! तपाईंलाई के विचित्र लाग्छ, त्यो तपाईंको आफ्नै मनस्थिति, आफ्नै विचार ! तपाईंको गोप्यता मलाई थाहा हुने कुरा भएन, मलाई भने सृष्टिमा सबैभन्दा विचित्र मानिस नै लाग्छन् ।

कहिलेकाहीँ कल्पना गर्छु, मानिस नभएको भए संसार कस्तो हुन्थ्यो ? मेरो कल्पनाशक्ति अतिफितलो छ, स्पष्ट केही कल्पना कोर्न सक्दिनँ । कोही पाठक मित्रसँग ‘यस कल्पनाबारे’ केही स्पष्ट कल्पना छ भने मसँग साझा गर्नुहोला ।

हिन्दु धर्मका पवित्र ग्रन्थ/उपनिषद्ले ज्ञानको तुलना अग्निसँग गरेका छन्, गर्नुको औचित्य पनि छ । अग्नि प्रज्ज्वलित हुँदा आफ्नो परिधिभित्र आउने सबैलाई खरानी बनाई अन्त्यमा आफू पनि खरानी बन्छ । आशय आफू पनि समाप्त हुन्छ । 

ज्ञानको पनि यही  गुण छ, ज्ञान प्रगाढ हुँदै जाँदा यसले आफ्नो परिधिमा आउने समस्त अज्ञानलाई अग्निका माफिक नष्ट गरिदिन्छ र अन्ततः आफू पनि अग्निकै माफिक शान्त हुन्छ ।

मलाई परम् वा अनन्तको कुनै अनुभव छैन । बुद्ध-महावीर  सादृश्यका चेतनालाई परम् ज्ञान भयो भन्ने धार्मिक विश्वास वा मान्यताप्रति मेरो किञ्चित पनि अनादरभाव छैन, सन्देहभाव छैन । तर, परम्/अनन्तको बुझाइमा मतभेद भने अवश्य छ । परम् अर्थात् अनन्तको पनि अन्त ! के अनन्तको अन्त अर्थात् परमलाई अनुभव अथवा आत्मसात् गर्ने अवसर पाउन सकिन्छ ?

विषय निश्चय पनि सहज छैन । अधिकांशका लागि रुचिकर पनि नहुन सक्छ तर कुनै संयोगवश चिन्तनको चक्रव्यूह अल्झिसकेका मानिसलाई यस विषयक गहिरो अभिरुचि हुनु आश्चर्य पनि हुँदैन ।

एउटा काम गरी हेरौँ- एकदेखि १०० देखि १०००, १० हजार, लाख, करोड एवम् रीतले लेख्दै जानुहोस् । १ का पछाडि १०० शून्य थप्नुहोस्, के अनन्तको नजिक पुगियो ? हजार शून्य थप्नुहोस्, लाख शून्य थप्नुहोस्… अर्ब  शून्य थप्नुहोस् । के तपाईं भन्न सक्नुहुन्छ अब अनन्तको नजिक पुग्न लागियो ?

हुनत प्रकृतिमा ‘माइनस’ अंक जस्तो  केही हुँदैन । प्रकृतिमा कि त केही हुन्छ, केही हुन्छको आशय त्यो गन्तीमा आउँछ, यथा (१-२-३-९- अर्बौं) । कि त केही हुँदैन, नभएको कुरालाई गन्ती गर्नु आवश्यकता नै रहँदैन । तर, मानिसको गणितले व्यवहारजन्य समस्यापूर्ति हेतु ऋणात्मक अंकको परिकल्पना गर्‍यो । यसको पनि कुनै अन्त छैन अर्थात् ऋणात्मक अंक पनि अनन्तसम्म फैलिएको छ । माइनस एक, माइनस १०, माइनस हजार, जति भन्दै गए पनि ‘प्लस’ अंकका  माफिक ‘माइनस’को पनि परम् अवस्था कहिल्यै भेट्टाउन सकिँदैन।

मानी लिऊँ, तपाईंको तौल ७० किलो र लम्बाइ डेढ मिटर छ । मानव शरीरको ‘बिल्डिङ ब्लक’कोशिका हो । ७० किलोको मानिसमा झण्डै ३७ खर्ब कोशिका हुन्छन् । भाइरस, ब्याक्टेरिया, अमिबा सबै कोशिका हुन् । कोशिकाको आकार ०.०३ (भाइरस ०.०३-०.८) माइक्रोमिटरदेखि लिएर एक मिटर लामो (मानव मस्तिष्कको कोशिका)सम्म हुन्छ ।

ब्याक्टेरिया कोशिकाको आकार ०.५ देखि ५ माइक्रोमिटरसम्म हुन्छ । एक माइक्रोमिटर भनेको एक  मिटरको १९ लाख भाग बराबरी हुन्छ । ०.५ माइक्रोमिटरभन्दा साना कोशिकालाई साधारण  ‘माइक्रोस्कोप’बाट देख्न सकिँदैन, यसका लागि इलेक्ट्रोन  माइक्रोस्कोप आवश्यक हुन्छ । अहिले देखिएको कोरोना भाइरसको आकार ०.०६ माइक्रोमिटरदेखि ०.१२ माइक्रोमिटरसम्म रहेको छ । सामान्य ‘माइक्रोस्कोप’बाट यसलाई देख्न सकिँदैन ।

ब्रह्माण्डको निरन्तर विस्तार भइरहेको छ । विज्ञान भन्छ- दृश्य ब्रह्माण्ड (Observable Universe) ५ प्रतिशत मात्र हो, बाँकीको ९५ प्रतिशत ‘डार्क  एनर्जी’ र ‘डार्क  म्याटर’को साम्राज्य  छ । ‘डार्क  म्याटर’  र ‘डार्क  एनर्जी’ के? ‘डार्क’  नामकरण नै विज्ञानलाई यसबारे केही थाहा नभएर भएको हो ।

मानव शरीरको सबैभन्दा सानो कोशिका ‘ग्रैनुल सेल’, ‘रेड ब्लड सेल’ (४ देखि ८ माइक्रोमिटर) कोरोना भाइरसभन्दा कैयौँ गुणा ठूला कोशिका हुन् । कोशिकाको आकार प्रकारअनुसार यिनको तौल फरक फरक हुन्छ । ‘रेड ब्लड  सेल’को तौल २७ पिकोग्राम हुन्छ । एक पिकोग्राम भनेको एक ग्रामको एक खर्बौं भाग हो ।

म तपाईंलाई सानोतिरको अन्तत यात्रामा लैजाँदै छु । मानव कोशिकासम्म पुग्दा हामी एक मिटरको १० लाखभन्दा पनि सानो आकारमा पुगेका छौं । यस आकृति अथवा आकारमा जीवन छ, स्वतन्त्र जीवन छ । तर, यस ‘स्टेज’को जीवनलाई ‘इलेक्ट्रोन माइक्रोस्कोप’को सहायताबिना हेर्न सकिँदैन । र, यस ‘स्टेज’को जीवनको तौल पिकोग्राम  (एक ग्रामको खर्बौँ भाग)मा सीमित रहेको हुन्छ ।

यस माइक्रोमिटर स्केलमा रहेको जीवनरूपी कोशिकामा कति अणु हुन्छन् ? बुझ्नतर्फ लागौं । कुरा ‘रेड ब्लड सेल’कै गरौँ । ‘आरबीसी’को द्रव्यमान (Mass) २७ पिको ग्रामलाई ‘युनिफाइड एटमिक मास युनिट’ ( यूएएमयू ) १.६६०५ गुणा १० को घात माइनस २४ बाट भागा गरेर ज्ञात गर्न  सकिन्छ । हिसाब गर्दा एक ‘आरबीसी’मा अणु संख्या झण्डै १० खर्ब हुन आउँछ ।

एउटा कोशिकाको निर्माण दशौँ खर्ब अणु मिलेर भएको  हुन्छ । अणुको आकार पिकोमिटर  (एक मिटरको एक खर्ब भाग)मा रहेको हुन्छ । कार्बन तत्त्वको अणुको आकार ७० पिकोमिटर  हुन्छ ।

कल्पना गर्नुहोस्, एक मिटरको एक खर्ब भाग ! यही आकार हुन्छ एउटा अणुको ।

तर, ३ जना ब्रिटिस नागरिकले अणु सबैभन्दा सानो नरहेको प्रमाणित गरिदिए । जेजे थामसनले सन् १८९७ मा इलेक्ट्रोन, अर्नेस्ट रदरफोर्डले सन् १९२० मा प्रोटोन र जेम्स चैडविकले सन् १९३२ मा न्युट्रोनको खोज गरेर अणुलाई विभाजित गरिदिए । अब हामीलाई थाहा छ- अणुको पनि संरचना छ । अणुभित्र प्रोटोन, न्युट्रोनको आकार  फेमटोमिटरमा (१० को घात माइनस १५  मिटर), इलेक्ट्रोनको आकार अटोमिटरमा (१० को घात माइनस १८ मिटर) रहेका हुन्छन्।

इलेक्ट्रोनले नेगेटिभ चार्ज बोकेको हुन्छ भने प्रोटोनले  पोजेटिभ चार्ज । अर्थात् अणुभित्र पनि मैथुन प्रक्रिया हुन्छ ।

अनन्तको यात्रा यहाँ पनि कहाँ टुंगिन्छ र ? फेमटोमिटर (१० को घात माइनस १५ मिटर), अटोमिटर (१० को घात माइनस १८ मिटर) आकारका  प्रोटोन  र इलेक्ट्रोन पनि विभिन्न ‘क्वार्क’ र ‘लेप्टान’  मिलेर बनेका हुन्छन् । क्वार्क र लेप्टान नै अहिलेसम्म विज्ञानले पत्ता लाएका सबैभन्दा सुक्ष्म कण हुन् । र, वास्तवमा विज्ञानसँग यी कणको आकार पत्ता लाउने  कुनै उपाय अथवा तरिका नै छैन ।

अनुमान छ, यी कण प्रोटोनको जम्मा ०.००१ प्रतिशत मात्र हुन्छन् । तर, विज्ञानलाई यति भने स्पष्ट थाहा छ- यिनको आकार शून्य हुन सक्दैन । यसपछि भने विभिन्न स्तरका एनर्जीको कुरा गर्छ विज्ञानले । विज्ञानसँग सानोमा अटोमिटरपछि जेप्टोमिटर (१० को घात माइनस २१ मिटर) योकटोमिटर (१० को घात माइनस २४ मिटर) हुँदै ‘प्लांक  लेन्थ’ (१.६१६२२९x१० को घात माइनस ३५ मिटर)सम्मको परिकल्पना छ ।

माथि भनिएको डेढ मिटर अग्लो मानिसले के १० को घात माइनस ३५ मिटरको आकारबारे कुनै कल्पना गर्न सक्छ ? के उसले कुनै एक मिटर लामो वस्तुलाई खुम्च्याउँदै १० को घात माइनस ३५ मिटरको अवस्थासम्म पुर्‍याउन सक्छ ?

सानोतर्फको अनन्त यात्रा जस्तै ठूलोतिरको अनन्त यात्रा पनि कल्पनादेखि पर नै छ । विज्ञान भन्छ- ब्रह्माण्डको विस्तार ९३ अर्ब प्रकाश वर्षसम्म छ । साथेै विज्ञान भन्छ- प्रतिपल ब्रह्माण्डको विस्तार भइरहेको छ र यस विस्तारको गति प्रकाशको गतिभन्दा पनि बढी छ । प्रकाश, जसले एक वर्षमा ९४ खर्ब ५४ अर्ब २४ करोड ५ लाख १२ हजार किलोमिटर यात्रा गर्छ । प्रकाश, जसले एक सेकेण्डमै पृथ्वीको ७ पटक परिक्रमा गर्न भ्याउँछ, त्यही प्रकाशलाई ब्रह्माण्डको एक कुनाबाट अर्को कुनासम्म पुग्न ४६.५ अर्ब वर्ष लाग्छ । अब  कल्पना गर्नुहोस्, ब्रह्माण्ड कत्रो छ ? के तपाईंको कल्पनाले केही कल्पना गर्न सक्यो ?

ब्रह्माण्डको निरन्तर विस्तार भइरहेको छ । विज्ञान भन्छ- दृश्य ब्रह्माण्ड (Observable Universe) ५ प्रतिशत मात्र हो, बाँकी ९५ प्रतिशत ‘डार्क  एनर्जी’ र ‘डार्क  म्याटर’को साम्राज्य  छ । ‘डार्क  म्याटर’  र ‘डार्क  एनर्जी’ के ? ‘डार्क’ नामकरण नै विज्ञानलाई यसबारे केही थाहा नभएर भएको हो । दुवैतिर अनन्त विस्तार छ । हामी दुवैमध्ये कुनैतिरको अनन्तताबारे थाहा पाउन सक्दैनौँ । थाहा पाउन सक्दैनौँ लेख्नु पनि गलत हो, कल्पना पनि गर्न सक्दैनौँ । जसको कल्पना पनि गर्न सक्दैनौँ, त्यसलाई अनन्त भनी भन्नुबाहेक अर्को विकल्प नै के हुन सक्छ ?

लेख लामो हुन्छ भन्ने बोधका कारण समय, द्रव्यमान, गुरुत्वाकर्षण, एनर्जीलगायत अन्य विषयबारेको अनन्त गाथा लेख्नतिर लागिनँ । यी सबै पनि दुवैतिरबाट (सानो-ठूलो) अनन्तसम्म विस्तारित छन् । तर, विडम्बना हेर्नुहोस् त, धर्म, अध्यात्मले ईश्वरलाई अनन्तको उपमा दिँदा समाजका आधुनिक  विद्धतवर्गले विज्ञान सम्मत नभएको आक्षेप लाउँछन् !

लेखको प्रारम्भमा मानिसको विचित्रताबारे लेखिएको सन्दर्भ ‘जस्टिफाई’ गर्ने अवसर पाएँ । एकथरि मानिस ईश्वरको अस्तित्वलाई प्रमाणित गर्न र अर्काथरि आफूलाई नास्तिक भन्नेहरू ईश्वरीय सत्तालाई निरस्त गर्न दिलो ज्यानले लागि परेका हुन्छन् । दुवैथरि  प्राणीको भगीरथ प्रयासमा मलाई दया लाग्छ ।

के अनन्तलाई प्रमाणित अथवा अप्रमाणित गर्न सकिन्छ ? मेरो समानुभूति प्रमाणित गर्नेहरूसँग (तर, मैले प्रमाणित गर्ने ठेक्का भने लिएको होइन) रहेको हुनाले एउटा प्रश्न गर्न मन लाग्छ- यदि कुनै दिन तपाईंका प्रयासले अनन्त हाम्रो इन्द्रपय संज्ञानको परिधिमा कैद हुन बाध्य भयो भने के त्यो फेरि अनन्त रहला ?

मेरो ईश्वरीय सत्ताप्रतिको अमोघ विश्वासको कारण नै ऊ मेरा कुनै पनि इन्द्रियको पहुँचभन्दा धेरै टाढा भएकाले हो ।  जुन दिन ऊ मेरा इन्द्रियको संज्ञानभित्र आउँछ, मेरालागि त्यो ईश्वर रहँदैन बरु त्यो ईश्वरीय सत्ताको ‘मेनिफेस्टेसन’ अर्थात् एनर्जीको पदार्थमा रूपान्तरण (स्मरण रहोस्, पदार्थको यो अवस्था ठोस, द्रव्य, ग्यास, प्लाज्मा भन्दा पनि परको हुन सक्छ) साबित हुनेछ । मनोविद्ले यसलाई इन्द्रियको प्रक्षेपण भन्छन् ।

तर के मनोविद्हरूलाई आधुनिक भौतिकशास्त्रको यस खोजबारे थाहा छैन, जसअनुसार प्रकृतिमा कतिपय पदार्थ अतिअल्प समयका लागि मात्र अस्तित्वमा आउँछन् र अस्तित्वमा आउनासाथ विलीन हुन्छन् । तपाईं जसलाई इन्द्रियको प्रक्षेपण भन्नुहुन्छ, के त्यो पदार्थको  त्यही अवस्था हुन सक्दैन ?

अन्तमा उपनिषद्को भनाइ- ‘ज्ञान अग्नि हो’ पनि ‘जस्टिफाई’ गर्ने मौका उपस्थित भएको  छ । ‘ज्ञान आफ्नो परिधिमा आएको अज्ञानलाई नष्ट गरी आफू पनि नष्ट हुन्छ’,  उपनिषद्को यो ‘ज्ञान’ ज्ञानका सन्दर्भमा पूर्णतया सत्य छ ।  ज्ञान नष्ट हुन्छ नै किनकि उसलाई आफ्नो लघुता र ‘प्रकृतिको अनन्तता बोध’ हुन्छ। नष्ट हुनुबाहेक (स्वमृत्यु) रहनुको अर्थ नै के ? जे नष्ट हुँदैन, त्यो अज्ञान हो, अज्ञान नष्ट हुँदैन । अज्ञानलाई नष्ट गर्न ज्ञानले स्वरूप ग्रहण गर्छ र त्यो अज्ञानलाई नष्ट गरी ज्ञान स्वयं  पनि ‘धर्म संस्थापनार्थ संभवामि युगेयुगे’ उद्घोष गर्दै आफ्नो लीला र अस्तित्वको पटाक्षेप गर्छ । ज्ञानको परिधिमा नआएको अज्ञान सधैँ शेष रहन्छ । ज्ञान-अज्ञानको यो चक्र अनादिकालदेखि चलिआएको र अनन्तकालसम्म चलिरहनेछ ।