प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे ५ न्यायाधीश

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे ५ न्यायाधीश

न्युज कारखाना  |  समाचार  |  कार्तिक ७, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ । 

प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन् । 

केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि आजका सबै मुद्दाका सुनुवाइ प्रभावित भएका छन् ।

मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीशसहित सर्वोच्चका ५ जना न्यायाधीशहरू यतिबेला छलफलमा जुटेका छन् । 

न्यायाधीशहरूबीच छलफल सुरु भए पनि आजका लागि तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ सुरु भएको छैन । 

सर्वोच्च अदालतकै एक जना न्यायाधीशका अनुसार प्रधानन्यायाधीशविरुद्ध सुरु भएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भनेर यतिबेला न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा समूहगत छलफलमा जुटेका छन् । 

ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले समूहगत छलफलको निष्कर्षअनुसार अघि नबढे केही न्यायाधीशहरूबाट इजलासमा नबस्ने घोषणा हुनेछ । 

आफ्नो कोटाबाट मन्त्रीको भाग खोजेको, मुद्दा फैसलामा अस्वाभाविक चलखेल गरेको लगायतका कारण देखाउँदै यसअघि नै पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीश राणालाई मार्गप्रशस्त गर्न सुझाव दिइसकेको छ । नेपाल बारले समेत मार्गप्रशस्त गर्नुपर्ने भन्दै आन्दोलतको तयारी गरिरहेको छ ।