आईसीसी टी-ट्वान्टी: बहुप्रतीक्षित भारत-पाकिस्तान भिडन्त आज

आईसीसी टी-ट्वान्टी: बहुप्रतीक्षित भारत-पाकिस्तान भिडन्त आज

न्युज कारखाना  |  खेलकुद  |  कार्तिक ७, २०७८

आईसीसी पुरुष टी- ट्वान्टी क्रिकेट विश्वकपमा आज बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको खेल आयोजना हुँदै छ । 

दुबईमा हुने समूह- २ को खेलमा मैदानसँगै मैदानबाहिरसमेत चिरपरिचित प्रतिद्वन्द्वीका रूपमा परिचित २ टोलीको भिडन्तलाई प्रतिष्ठाको लडाइँका रूपमा समेत हेरिएको छ ।खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबईमा सुरु हुनेछ । 

भारत-पाकिस्तान भिडन्त सीमा लडाइँदेखि लिएर राजनीतिक लडाइँ हुँदै खेलकुद क्षेत्रमा समेत रहेको बुझिन्छ । राजीतिक लडाइँकै कारण यी २ बीच खेल कमै हुने गरेका छन् ।

आईसीसीले आयोजना गर्ने क्रिकेट प्रतियोगिताबाहेक अन्य खेलमा यी दुवै टोलीको प्रतिस्पर्धा कमै देखिने गरेको छ । आईसीसीका अन्य सदस्य राष्ट्रले एकअर्काविरुद्ध मैत्रीपूर्ण टी- ट्वान्टी, एक दिवसीय तथा टेस्ट खेल खेल्दा २ देशबीच यस्ता खेल ठप्प नै छन् । 

पछिल्लो समय २ वर्षयता यी २ देशले खेल्न लागेको यो पहिलो खेल हो । दुबईमा हुने समूह- २ को आफ्नो पहिलो खेलमा दुवै टोली सुखद् सुरुवात गर्ने दाउमा हुनेछन् । 

प्रतियोगिताको मुख्य दाबेदारको रूपमा हेरिएका दुवै टोली पहिलो खेल जित्दै सुरुवाती २ अंक लिने दाउमा छन् । पाकिस्तानविरुद्ध भारतका मुख्य खेलाडी बिराट कोहली, हार्दिक पाण्डेय, शार्दुर ठाकुर र भुवनेश्वर कुमारलगायत रहनेछन् । 

यस्तै, भारतविरुद्ध पाकिस्तानका माेहम्मद रिजवान, बबर अजाम, हसन अली र हरिस राउफलगायत खेलाडी मुख्य खेलाडी हुनेछन् । भारत र पाकिस्तानबीचका पछिल्ला ५ खेलमा भारत बलियो देखिएको छ, जसमा भारतले ४ खेल जित्दा पाकिस्तानले मात्र एक खेल जितेको छ । 

सन् १९ मार्च २०१६ मा भएको पछिल्लो भेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । त्यसयता यी २ ले प्रतिस्पर्धा गर्न लागेको यो पहिलो टी- ट्वान्टी खेल हो । 

यस्तै, आजै हुने पहिलो खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जीतको खोजीमा रहनेछन् ।