फिल्म प्रदर्शन मिति तोकिँदै, धमाधम सुटिङ

फिल्म प्रदर्शन मिति तोकिँदै, धमाधम सुटिङ

न्युज कारखाना  |  लोकरञ्जन  |  कार्तिक ७, २०७८

कोरोना संक्रमण घट्दै गइरहेको र सबै क्षेत्र खुला भएसँगै नेपाली फिल्म निर्माण र प्रदर्शनमा चहलपहल सुरु भएको छ । झन्डै डेढ वर्ष ठप्प भएका सिनेमा हलमध्ये केही दसैं अघि खुलेका छन् । बाँकी हल भने तिहारको प्रतीक्षामा छन् ।

दसैंमा ठूला ब्यानर र स्टार कलाकारका फिल्म रिलिज नभएकाले हलमा दर्शकको उपस्थिति अपेक्षित नभए तापनि तिहार प्रदर्शन हुन लागेको बलिउडको मल्टिस्टारर फिल्म ‘सूर्यवंशी’ प्रति चाहिँ सबै आशावादी देखिएका छन् । 

दसैंमा दुई नेपाली फिल्म ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ प्रदर्शन भए भने तिहारमा ‘चोर र पुलिस’ र ‘धूम-४’ आउँदैछन् । बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शकको भीड गराउने विश्वास नेपाली फिल्मकर्मीहरूले गरेका छन् । त्यसैले यो फिल्म प्रदर्शनपछि नै माहोल तातिने आंकलन उनीहरूको छ । यद्यपि, केही निर्माताले भने आफ्नो फिल्म प्रदर्शनको मिति तोक्दै गइरहेका छन् । 

तिहारलगत्तै अर्थात् मंसिर ३ मा निर्माता शरद अधिकारीले आफ्नो फिल्म ‘माया बस्छ कि के हो’ प्रदर्शन हुने जानकारी दिएका छन् । युरोपका बिभिन्न देशमा खिचिएको सो फिल्ममा नवकलाकार सोनाल तामाङ र कस्मता निरौला मुख्य भूमिकामा छन् । पहिलो लकडाउन खुलेसँगै प्रदर्शनको चाँजोपाँजोमा लागेको सो फिल्मको शीर्ष गीत सार्वजनीक भइसकेको छ । 

अर्का निर्माता, निर्देशक ऋषिराज आचार्यले पनि आफ्नो नयाँ फिल्म ‘चुरीफुरी’ को प्रदर्शन मिति तय गरेका छन् । कमेडी जनराको उनको फिल्म ९ पुसमा प्रदर्शन हुँदैछ । लकडाउनअघि नै निर्माण भएका करिब दुई दर्जन बढी फिल्म प्रदर्शन हुन बाँकी छन् भने पहिलो लकडाउन खुलेपछि सुटिङ गरिएका झन्डै आधा दर्जन फिल्म पनि प्रदर्शनका लागि ‘डेट’ पर्खिरहेका छन् । 

दसंैअघि नै ‘लप्पन छप्पन-२’ ले १३ फागुन, ‘ए मेरो हजुर-४’ ले २५ चैत र ‘चिसो मान्छे’ ले २० वैशाखमा प्रदर्शन हुने घोषणा गरिसकेका छन् । यीबाहेक केही फिल्मले ‘सूर्यवंशी’ को व्यापार हेरेर प्रदर्शन मिति तोक्ने योजना बनाएका छन् । 

प्रदर्शनसँगै फिल्म सुटिङ कार्यले पनि क्रमशः गति लिँदै गइरहेको छ । दसैंलगत्तै रामबाबु गुरुङले मुस्ताङबाट ‘कबड्डी-४’ को सुटिङ सुरु गरेका छन् । त्यसैगरी, निर्देशक लक्ष्मण सुनारले कात्तिक दोस्रो सातादेखि डोल्पा पुगेर ‘बलाकी’ खिच्ने तयारी गरेका छन् ।