प्रधानन्यायाधीशले बोलाए फुल कोर्ट, मंगलबारदेखि गोलप्रथाको नमुना प्रयोग

प्रधानन्यायाधीशले बोलाए फुल कोर्ट, मंगलबारदेखि गोलप्रथाको नमुना प्रयोग

न्युज कारखाना  |  समाचार  |  कार्तिक ७, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधानन्यायाधीशले सो प्रतिबद्धता जनाएका हुन् । 

प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा, परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुल कोर्टमा राख्ने जानकारी गराएको बारका महासचिव लीलामणि पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बारसँगको सहमतिमै प्रधानन्यायाधीश सोमबार फुल कोर्ट बोलाउन तयार भएका छन् । ‘हामीसँगको छलफलपछि प्रधानन्यायाधीशज्यूले सोमबार दिउँसो साढे १ बजे फुलकोर्ट बैठक बोलाउन राजी हुनुभएको छ । फुलकोर्टमा नेपाल बार पनि सहभागी हुन्छ’, पौडेलले भने, ‘निष्पक्ष न्यायपालिकाको अवधारणाभन्दा बाहिर गएको छैन । जान्नँ पनि । आफूविरुद्ध उठेका सबै प्रश्न र शंका उपशंकाबारे सम्बोधन गर्छु भन्नुभएको छ ।’

मंगलबारदेखि नमुना गोलाप्रथाको प्रयोग सुरु हुने भएको छ । यसअघि सर्वोच्चले मुद्दाको पेसी तोक्दा गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो ।