'हमाललाई मन्त्री नबनाउनचाहिँ भनेको हुँ'

'हमाललाई मन्त्री नबनाउनचाहिँ भनेको हुँ'

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ७, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनको टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन । भेटेको छैन बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ’, प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भने ।

प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई उद्योग तथा आपूर्तिमन्त्री नियुक्त गरेको चर्चा थियो । हमाललाई मन्त्री बनाएकामा सरकारको निकै आलोचना भएपछि ३ दिन नपुग्दै उनले पदबाट राजीनामा दिएका थिए । अहिले उद्योग मन्त्रालय खाली छ ।