सी चिनफिङः चीनको शासन व्यवस्था’ पुस्तकको दोस्रो खण्ड प्रकाशित

सी चिनफिङः चीनको शासन व्यवस्था’ पुस्तकको दोस्रो खण्ड प्रकाशित

लोकसंवाद संवाददाता  |  साहित्य  |  कार्तिक ८, २०७८

 काठमाडौँ । चीन अध्ययन केन्द्रले ‘सी चिनफिङः चीनको शासन व्यवस्था’ नामक पुस्तकको दोस्रो खण्ड प्रकाशित गरेको छ । नेपाली भाषामा अनूदित गरी प्रकाशन गरिएको उक्त पुस्तक मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले विभिन्न अवसरमा दिनुभएका प्रवचन, निर्देशन, अन्तर्वार्ता एवम् दस्ताबेजहरूको सँगालो हो । उक्त पुस्तकको पहिलो खण्ड चार वर्षअगि नै केन्द्रद्वारा प्रकाशित भइसकेको छ । पुस्तकको दोस्रो खण्डको विमोचन हालै राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् चीन अध्ययन केन्द्रका कोषाध्यक्ष गङ्गाप्रसाद उप्रेतीले ‘सी चिनफिङः चीनको शासन व्यवस्था’ नामक पुस्तकले चीनको शासन व्यवस्था र विकास एवम् समृद्धिको मोडेललाई बुझ्न सहयोग पुर्‍याउने बताउनुभयो । 'यस पुस्तकको अध्ययनबाट हामीले धेरै ज्ञान हासिल गर्न सक्छौँ । पुस्तकले चीनले प्राप्त गरेका समृद्धि–सफलताका आधारहरू र चीनको शासन व्यवस्थाका मूलभूत आधारहरूबारे महत्वपूर्ण जानकारी दिन्छ ।'

चीन अध्ययन केन्द्रका का.वा. अध्यक्ष सुन्दरनाथ भट्टराईले सी चिनफिङ विचारधाराको नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवादको प्रारूप आँकलन गर्न र यसको गहनता एवम् नवीनताबारे ज्ञान हासिल गर्न चाहने सबैका लागि पुस्तक उपयोगी हुने बताउनुभयो ।

‘सी चिनफिङः चीनको शासन व्यवस्था’ नामक पुस्तकमा राष्ट्रपति सी चिनफिङले विभिन्न अवसरमा सन् २०१४ देखि सन् २०१७ सम्म दिनुभएका ९९ ओटा प्रवचन, उद्घोषण, अन्तर्वार्ता एवम् दस्ताबेजहरू २९ ओटा विषयसम्बन्धित तस्बिरहरू समावेश गरिएका छन् ।