अफगानिस्तानमा ३५० नेपाली उद्धारको पर्खाइमा

अफगानिस्तानमा ३५० नेपाली उद्धारको पर्खाइमा

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक ८, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।

एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तर्क्रिया गरेको हो । अन्तर्क्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, अधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आआफ्ना भनाइ राखेका थिए ।

स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा राजदूत अधिकारीले पाकिस्तानमा करिब ३०० जना नेपालीहरू रहेको बताए । तीमध्ये अधिकांश स्वास्थ्यसम्बन्धी अध्ययनका लागि आएका विद्यार्थी भएको र स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए । अधिकारीले नेपालीहरूले समेत पाकिस्तानमा कोरोनाविरुद्धको खोप लगाउने अवसर पाएको जानकारी दिए ।

अधिकारकर्मी घइस गिलानीले अफगानिस्तान र पाकिस्तानमा मानवअधिकारको अवस्था कमजोर रहेको बताए । उनले पाकिस्तानमा ९० प्रतिशत जनताको कोभिड- १९ विरुद्धको खोपमा पहुँच रहेको बताए । उनले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनपछि नेपालीलगायत सयौँ आप्रवासीहरू पाकिस्तानतर्फ पलायन भएको बताए । उनले तालिबानले आफगानिस्तानको सत्ता लिएपछि स्वास्थ्य तथा आर्थिक क्षेत्रमा अन्योल रहेको बताए ।

कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्कीमा रहेका नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विगत एक वर्षमा २ जना नेपालीले आत्महत्या गरेको जानकारी दिए । अफगानिस्तानमा तालिबानले सरकार कब्जामा लिएपछि एक हजारभन्दा बढी नेपालीहरूको उद्धार गरिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार अहिले साढे ३०० नेपालीहरू उद्धारको पर्खाइमा छन् ।विभिन्न कम्पनीमा एक हजार ५०० भन्दा बढी नेपाली त्यहाँ कार्यरत छन् ।