पाँचथर बस दुर्घटनाका घाइतेको संख्या ६४ पुग्यो

पाँचथर बस दुर्घटनाका घाइतेको संख्या ६४ पुग्यो

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ८, २०७८

पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । उनीहरूमध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ ।

पाँचथरको फिदिम नगरपालिका- ४ शिवा दोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका- ४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा परेको हो ।

अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् । 

दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेका जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । २ किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।