सर्लाहीको नवलपुर बन्यो नयाँ सबस्टेसन, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

सर्लाहीको नवलपुर बन्यो नयाँ सबस्टेसन, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ८, २०७८

सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका- १ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । 

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारदेखि संचालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन संचालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए ।
 
‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो । ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भने । 

‘अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत् आपूर्ति हुने भएकाले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्नेछ । सर्लाहीमा खुल्ने उद्योगहरूलाई पर्याप्त विद्युत् दिन सकिनेछ ।’ 

पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ ।  सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका दुईवटा  ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरूमा विद्युत् आपूर्ति दिइनेछ । 

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/०७५ र मुख्य निर्माण आव २०७५/०७६मा सुरु गरिएको थियो । कोभिड- १९ को महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए । 

सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।