फर्पिङको जीतमा निरोजको ४ गोल

फर्पिङको जीतमा निरोजको ४ गोल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक ८, २०७८

फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ । फर्पिङको जीतमा निरोज श्रेष्ठले ४ गोल गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११-० ले हराएको हो  ।

यस्तै, गणेश लावतीले ३, नीरकुमार राईले २ तथा अनिल गुरुङ र सल्यान खड्गीले समान १-१ गोल गरे । फर्पिङका गणेश लावती प्लेअर अफ दि म्याच भए ।

लिग कप नक आउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई ७ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । 

एउटा टिममा २० जना खेलाडी हुनेछन्, जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका ३ खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिका हुनुपर्नेछ । खेलको समयावधि ६० मिनेट (एक हाफ ३० मिनेटको) हुनेछ । खेलमा ७ जना खेलाडी परिवर्तन गर्न पाइनेछ । 

प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।