३ बैंक र ५ फाइनान्स राष्ट्र बैंककाे कारबाहीमा

३ बैंक र ५ फाइनान्स राष्ट्र बैंककाे कारबाहीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ८, २०७८

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सीसीडी अनुपात कायम नगरेकाले यी बैंकहरूलाई कारबाही गरेको जनाएको छ । 

राष्ट्र बैंकले बंगलादेश बैंकलाई ३० हजार, प्रभु बैंकलाई ३५ हजार र हिमालयन बैंकलाई २ पटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिमाना गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणका आधारमा विभिन्न फाइनान्स कम्पनीलाई पनि जरिमाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको ५ प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकामा सो नगरेकाले जरिमाना तिराएकाे हो ।

राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलो पटक १३८ रुपैयाँ २७ पैसा, गुडविल फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नगरेबापत २ हजार ८०७ रुपैयाँ ९९ पैसा जरिमाना तिराइएको छ ।

त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार ७५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार ३०८ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिमाना तिराइएको छ । 

त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकामा ललितपुर फाइनान्सलाई ७ लाख ११ हजार (प्रथम त्रैमास), ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार रुपैयाँ (तेस्रो त्रैमास) जरिमाना गरेको हो ।