साइबर अपराध रोक्न प्रहरीलाई तालिम

साइबर अपराध रोक्न प्रहरीलाई तालिम

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७६

पोखरा । साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालिम प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौं र गण्डकी प्रदेश तालिम केन्द्रद्वारा छैटौं समूहको उक्त तालिममा २९ प्रहरी अधिकृतको सहभागिता थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो ।

सो अवसरमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान वास्तवमै चुनौतीपूर्ण बन्दै गइरहेकाले अनुसन्धानमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताए ।

तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले आपराधिक क्रियाकलापको अनुसन्धान जटिल बन्दै गएकाले प्रविधिसँग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गरिएको बताए ।

समापन कार्यक्रममा सङ्घीय प्रहरी एकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्याल, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका प्रमुख लालमणि आचार्यलगायतको उपस्थिति थियो । रासस