'सुशीला कार्कीकै पालादेखि सर्वोच्च अदालत विवादित बन्यो'

'सुशीला कार्कीकै पालादेखि सर्वोच्च अदालत विवादित बन्यो'
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ९, २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाएका छन् ।

‘सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ’,  ओलीले भने । सविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था उल्लेख गरिएको छ । त्यो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका ४ जना न्यायाधीशसमेत ५ जना रहने व्यवस्था रहे पनि कार्कीले आफ्नो इच्छाअनुसार संवैधानिक इजलास बनाएको ओलीको आरोप छ । 

मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा ओलीले अहिले मात्र होइन, सुशीला कार्कीको पालादेखि नै  सर्वोच्च अदालतले राजनीति गरेको बताए । अहिलेका प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने संचारकर्मीको प्रश्नमा उनले एमाले सर्वाेच्च अदालत अशोभनीय गुटबन्दीमा नफस्ने बताए । कसैको पक्ष र विपक्षमा एमाले नलाग्ने उनको भनाइ छ । 

बाहिर सेटिङ देखिने गरे पनि अहिले भित्र नै देखिएको ओलीको भनाइ छ । अदालत लोकतन्त्रको एक स्तम्भ भएकाले यसको गरिमा राख्नुपर्ने उनले बताए । गठबन्धनको  काम सिस्टममा प्रहार गर्ने मात्र भएको उनको भनाइ छ ।

माधव नेपालप्रति प्रहार संकेत गर्दै उनले सिस्टममाथि प्रहार गर्ने सानो जमात रहेको बताए । उनले यो सरकारको किचलो केही पाकोस् भनेर हेरेको बताए । केही समयअघि मात्र ओलीले एमालेले चाहेमा एक हप्तामा सरकार ढाल्ने बताएका थिए । 

अहिलेको सरकार असफल भएको ओलीको टिप्पणी छ । ३ महिनासम्म सरकार विस्तार गर्न नसक्ने सरकार फेल भएको उनको भनाइ छ । सभामुखप्रति कटाक्ष गर्दै उनले एमाले सरकारमा रहँदा एक मिनेट कोही संसदमा उभिएर संसद् रोकिए पनि अहिले प्रतिपक्ष दलको विरोध हुँदा बैठक चलेको बताए । उनले अर्ली इलेक्सनकाे विकल्प नभएको समेत बताए ।