प्रधानन्यायाधीशले सार्वजनिक गरे आफूबाहेकको पेसी, सुनुवाइ अनिश्चित

प्रधानन्यायाधीशले सार्वजनिक गरे आफूबाहेकको पेसी, सुनुवाइ अनिश्चित

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ९, २०७८

राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । 

कार्यपालिकामा भाग खोजेको लगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । उनले आफ्नालागि भने इजलासमा पेसी तोकेका छैनन् । 

असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नुअघि उनले मुद्दा सुनुवाइका लागि पेसी तोके पनि सुनुवाइ भने अनिश्चित छ । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएका १४ जना न्यायाधीश अघोषित इजलास बहिष्कारको अभियानमा छन् । 

प्रधानन्यायाधीशले ८ वटा इजलासमा गरी २१६ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोकेका थिए तर सुनुवाइ हुन सकेन ।