एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख ७५ हजार

एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख ७५ हजार

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १०, २०७८

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरणअनुसार सो अवधिमा लघुवित्तले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । 

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.५१ प्रतिशत बढी हो । 

लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५५ पैसाबाट १९ रुपैयाँ ८६ पैसा बढेर ३७ रुपैयाँ ४१ पैसा पुगेको छ । असोज मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०३.१० प्रतिशत बढेको छ भने चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको संचालन मुनाफा पनि १५०.५१ प्रतिशतले बढेर ४८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको संचालन मुनाफा १९ करोड ३३ लाख रुपैयाँमा सीमित रहेको थियो । त्यसैगरी पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १०३.१० प्रतिशतले बढेर ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १७.५३ प्रतिशत बढेको छ भने जगेडा कोष १६६.०६ प्रतिशत बढेको छ । लघुवित्तको निक्षेप २२६.०९ प्रतिशत बढेको छ भने कर्जा १८६.२८ प्रतिशत बढेको छ । समीक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसियो (पीई रेसियो) ३०.२ गुणा रहेको छ ।