लक्ष्मी बस्नेत: संगीतमा चन्द्रमा दाहिने हुने आशा
बैशाख २७, २०७६

दोलखाको ग्रामीण परिवेश । त्यहाँका वनपाखा र मेलापातमा स्वाभाविक रूपमा लोकभाकाहरू   गुञ्जन्थे । त्यहाँ प्रतिध्वनित हुने लोकभाकामा उनकै आमाको स्वर पनि मिसिन्थ्यो । उनी आमाको कला र गलाबाट प्रभावित थिइन् । उनलाई आफ्नै आमाले हालेको भाका बिछट्टै मनमोहक लाग्थ्यो ।

लक्ष्मी बस्नेत लोकगीतको क्षेत्रमा एक किसिमको पहिचान बनाएकी प्रतिभा हुन् । आमाले वनपात र ढिकीजाँतो गर्दा गुनगुनाएका गीतका भाका र शब्दले उनको मनमस्तिष्कमा बसेका थिए । यसबाट नजानिँदो किसिमले लोकगीतप्रति उनको मोहभाव बढ्दै गयो । यस्तैमा उनी मुटुभरि अनेकन् सपना सजाएर राजधानी भित्रिइन् । उनको सपनाहरूको चाङमा गीत गाउने सपना पनि थियो । लोकगीतप्रति मोहभाव भए पनि यस क्षेत्रमा उत्पात गरिहाल्छु भन्ने उनलाई लागेको थिएन । 

तर, पनि लोकप्रतिको मोहभाव प्रकट भरहन्थ्यो । लोकगीतप्रतिको उनको रुचि देखेर उनका अग्रज डिबी गुरुङले रेडियो नेपालमा गीत गाउने चाँजोपाँजो मिलाइदिए । उनी रेडियो नेपालले २०४९ मा आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रतिस्पर्धी बनिन् । उनी प्रतियोगितामा दोस्रो भइन् । त्यतिबेला गीतको बोल थियो– ‘मखमली पूmल दाजु मखमली पूmल...।’ त्यस समयममा त्यो गीत धेरैको जिब्रोमा झुण्डियो ।

यससँगै उनको लोकप्रियता पारो चढ्दै गयो । चिनजानको दायरा बढ्दै गयो । गीत गाउने अफरको आउन थाल्यो । पछि पछि त चलचित्रमा खेल्ने अफर पनि आयो । उनले राम थापा, कृष्णसुधा ढुंगाना, शम्भु राई लगायतका अग्रज कलाकारसँग गीत गाएर गाउँबस्तीका लोकभाकालाई जन–जनसम्म विस्तार गर्न सघाइन् । उनले २०५० देखि २०५३ सालम्म राष्ट्रिय नाचघरमा काम गरिन् । त्यस समयमा उनी सांगीतिक गतिविधिमा व्यस्त भइन् । उनका लागि त्यो समय निकै उर्वर थियो । उनको सांगीतिक सिर्जना मौलाउँदै गए ।

दोहोरी–गीत प्रतियोगिताहरूमा पनि फटाफट विजयी बन्दै गइन् । लाइन्स क्लब अफ काठमाडौं लगायत विभिन्न संस्थाले आयोजना गरेका दोहोरीगीत प्रतियोगितामा तीन पटकसम्म प्रथम  भइन् । अफिसको काम, रेकर्डिङ र स्टेज कार्यक्रममा व्यस्त हुन थालिन् । चन्द्रमा दाहिने परेको बेला थियो । उनलाई भ्यान–नभ्याई थियो । 

यस्तैमा कताकता उनको दिल–दिमागमा विदेश जाने ‘भूत सवार’ भयो । विदेश जाने साइत पनि जुरिहाल्यो । उनी आफ्ना सारा सांगीतिक गतिविधिहरू थाती राखेर जापानतिर लागिन् । राष्ट्रिय नाचघरमा कार्यरत रहेको अवस्थामा उनको पाइला विदेशी भूमितिर बढ्यो । त्यसपछि केही वर्ष बेलायततिर भुलिन् । परदेश पलायनले निरन्तर प्रगतितर्पm उन्मुख भइरहेको उनको सांगीतिक यात्रामा ब्रेक लगायो । 

उनी २०५९ सालमा नेपाल फर्किइन् । त्यतिञ्जेलसम्म धेरै क्यालेन्डरका पानाहरू पल्टिसकेका थिए । समयले भाका फेरिसकेको थियो । नेपाल फर्कँदा उनी आफै‌लाई बिरानो जस्तो पाइन् । सांगीतिक रंगमञ्च थुप्रै नयाँ प्रतिभाहरूले भरिभराउ भइसकेको थियो । उनलाई लाग्यो, ‘मेरो सांगीतिक परिचान संकटमा पर्दैछ ।’ वास्तविकता पनि त्यही थियो । 

एफएम रेडियोलगायत सञ्चार माध्यमको उभार, पछिल्लो समयमा युट्युवजस्ता सोसल मिडियाहरूको दरिलो उपस्थिति, यस्ता मिडियामा नयाँ पुस्ताको उत्साहजनक उपस्थिति र समयसँग बदलिएको अडियन्सको टेस्टले सांगीतिक क्षेत्र अरू क्षेत्रजस्तै प्रतिस्पर्धात्मक बनिरहेको छ । उनी यो वास्तविकतासँग पूरापुर जानकार छिन् । उनी कसैसँग प्रतिस्पर्धा गर्ने मुडमा छैनन् । न त यो कुनै बुद्धिमत्तापूर्ण व्यवहार हो । तर, उनी समयले मधुरो बनाउँदै गएको आफ्नो सांगीतिक पहिचानलाई चहकिलो बनाउने सोचमा छिन् । यसअनुसार उनी केही हदसम्म अगाडि पनि बढिसकेकी छन् ।

उनले लगातार दुई वर्ष तीजसम्बन्धी गीत निकालिन् ।  २०७४ र २०७५ सालमा क्रमशः ‘हे शिव भगवान’ र ‘भाइरल भुन्टी’ शीर्षकमा म्युजिक भिडियो निकालिन् । उनले घमेस दुलालसँग अल्बम निकालिन् । उनले गाएको गीतको एउटा लाइन यस्तो थियो– ‘गाईवस्तु बाँधेको किला, माया राख्न मिल्ला कि नमिल्ला’ । यी रमाइलो प्रकृतिका गीत हुन् । उनले विक्रमबाबु विश्वकर्मासँग मिलेर ‘आँसुको विजेता’ शीर्षकमा गम्भीर प्रकृतिका सांगीतिक कोसेली अडियन्ससमक्ष पस्किइन् । 

यसैगरी, तिहारको सांस्कृतिक पक्ष झल्कने गरी ‘देउसी–भैलो’ म्युजिक भिडियो ल्याइन् । नरहरि प्रेमीसँग सहकार्य गरेर उनले यो सांस्कृतिक कोसेली  ल्याएकी थिइन् । सांगीतिक क्षेत्रमा उनको पुनरागमन भइसकेको छ ।

एकाग्र भएर लोकसंगीत साधनामा तल्लीन समयले अनुमति दिइरहेको छैन । अब उनी विशुद्ध कलाकारमात्र रहिनन् । उनी एक गैरसरकारी संस्थामा पूर्णकालीन कर्मचारी हुन् । उनको अधिकांश समय कार्यालयका गतिविधिले खाइदिन्छ । कहिले अफिसको डेक्स वर्क त कहिले स्थलगत भ्रमण । बचेको समयमा उनले कलासाधना गर्ने हो । यस्तो अवस्थामा उनका अगाडि चुनौतीको पहाड खडा भएको छ । तर उनीसँग हिम्मत छ । ‘वर्षमा एउटा गीत एल्बम निकाल्ने योजना छ,’ उनी कार्ययोजना सुनाउँछिन् । आशा गरौं– उनको फेरि पनि चन्द्रामा दाहिने हुनेछ । 
 


लेखक प्राध्यापन गर्नुहुन्छ ।