विवेकशील साझामा मिश्रको दस्ताबेज पारित, घरझगडा सुरु

विवेकशील साझामा मिश्रको दस्ताबेज पारित, घरझगडा सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ११, २०७८

विवेकशील साझा पार्टीमा फेरि घरझगडा सुरु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’लाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित गरेपछि विवाद देखिएको हो ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै तयार पारिएको दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ । यसअघि अध्यक्ष मिश्रलाई सेरेमोनियल र संयोजक पाण्डेलाई कार्यकारी अधिकार दिइएको थियो । तर, बिहीबारको बैठकले पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी संचालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पाण्डेको अधिकार कटौती गरिएको हो । 

विवेकशील साझाले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ ।

उता, पाण्डे समूहले भने मिश्रले पार्टी फुटाएको आरोप लगाएको छ । पार्टीको विधानमा संयोजकलाई कार्यकारी अधिकार दिइएको भन्दै निर्वाचन आयोगमै भेट हुने चेतावनी दिएको छ ।