बाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे शपथ ग्रहण, ४ सदस्यीय मन्त्रिपरिषद् गठन

बाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे शपथ ग्रहण, ४ सदस्यीय मन्त्रिपरिषद् गठन

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ११, २०७८

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

पाण्डे एमालेबाट धादिङ क्षेत्र नं.- १ (क)बाट प्रदेशसभा सांसदमा विजयी बनेका हुन् । पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा शपथ लिएका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् । 

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार राजीनामा दिएकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो । 

मुख्यमन्त्री पाण्डेले आजै ३ जना मन्त्री नियुक्त गरेका छन् । प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा नेकपा (माओवादी केन्द्र)की कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा कांग्रेसका कृष्णलाल भँडेल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का कृष्णप्रसाद शर्मा खनाल नियुक्त भएका छन् । सरकारमा नवनियुक्त तीनै जना मन्त्रीले आजै प्रदेश प्रमुख शर्मामार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।