महाधिवेशनको चटारोमा दुई ठूला दल: पाँचौँ पटक कांग्रेसलेे मिति ताेक्यो मंसिर २४ मा

महाधिवेशनको चटारोमा दुई ठूला दल: पाँचौँ पटक कांग्रेसलेे मिति ताेक्यो मंसिर २४ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १२, २०७८

देशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला पार्टीको महाधिवेशनको चटारोमा छन् । सामान्य अवस्थामा हो भने कांग्रेसको महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमितिको कार्यकाल पनि ढेड वर्ष बितिसकेको हुनुपर्ने  थियो । तर कोरोना महामारीका कारण विशेष अवस्था देखाउँदै १ वर्ष र त्यसपछि ६ महिना थपेको समय सकिसक्दा पनि कांग्रेसले महाधिवेशन गर्नुको साटो मिति सारेको सारै छ । 

अर्को दल एमाले पनि पार्टीको लामो आन्तरिक विवाद र विभाजन पछि पार्टीको महाधिवेशनको तयारीमा छ । महाधिवेशनको तयारीस्वरुप ६ कात्तिकमा वडा अधिवेशन गरेको एमालेले मंगलबारमात्रै पालिका अधिवेशन गरेको थियो । अब निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनपछि आगामी मंसिरमा चितवनमा पार्टीको महाधिवेशन हुनेछ । यसअघि नै विधान अधिवेशन गरिसकेको एमालेको यो महाधिवेशनले नयाँ नेतृत्व चयनकाे काम  गर्नेछ । 

एमाले यतिबेला पार्टी एक ढिक्का रहेको र कतै पनि विवाद नरहेको देखाउन तल्ला कमिटीका अधिवेशनहरूमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ । तर कतिपय जिल्लामा एमालेको केपी ओली पक्ष र १० बुँदे सहमतिका आधारमा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बसेका भीम रावललगायतका १० नेताको समूहबीच विवाद देखिएको छ ।

सरकारको समेत नेतृत्व गरिरहेको नेपाली कांग्रेस पनि यतिबेला महाधिवेशनको चापमा छ । समयमा नै महाधिवेशन गर्न नसकेर कांग्रेस पार्टीभित्र र बाहिरबाट समेत आलोचित बनिरहेको छ । तर कांग्रेस भने पटक पटक महाधिवेशनको मिति सारिरहेको छ । 

सोही कारण सुनसरीको धरानसहित कतिपय स्थानमा समानान्तर रुपमा अधिवेशन भएका छन् भने कतिपय स्थानमा अधिवेशन हुन सकेका छैनन् । सुदूरपश्चिमका कतिपय जिल्लामा वडाकै अधिवेशन हुन सकेको छैन भने भने केही स्थानमा भने एक साताअघि आएको बाढी पहिरोका कारण अधिवेशन रोकिएको छ । गुल्मीका दुई पालिकामा आकांक्षीहरु धेरै भएपछि अधिवेशनले नेतृत्व चयन गर्न सकेको छैन । 

यसरी छानिनेछन् महाधिवेशन प्रतिनिधि

पार्टी महाधिवेशन नजिकिँदै गर्दा एमालेले महाधिवेशन प्रतिनिधिको सङ्ख्या टुंगो लगाएको छ । देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट १ हजार ५३६ जना प्रतिनिधि रहने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको सङ्ख्या टुंगो लगाएको हो । ५१ प्रतिशत समावेशी कोटाबाट र ३९ प्रतिशत खुला प्रतिस्पर्धाबाट आउनेछन् । 

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रति निर्वाचन क्षेत्र १५ सय पार्टी सदस्य बराबर एक महिला र दुई खुला प्रतिनिधि चयन हुनेछन् । त्यो भन्दा बढी सदस्य भएका क्षेत्रबाट थप एक हजार बराबर १ जनाका दरले थप प्रतिनिधि हुनेछन् भने जिल्लाबाट एक जना दलित प्रतिनिधि अनिवार्य रुपमा सहभागी गराउनेछ । 

केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट २ सय ६२ जना पदेन महाधिवेशन प्रतिनिधि, भूगोलबाट १ हजार १९६ जना र प्रवासबाट २० जना, प्रत्येक जनसंगठनबाट पाँच जना प्रतिनिधि हुनेछन् । 

मिति सारेको सारै कांग्रेस

सरकारको समेत नेतृत्व गरिरहेको नेपाली कांग्रेस पनि यतिबेला महाधिवेशनको चापमा छ । समयमा नै महाधिवेशन गर्न नसकेर कांग्रेस पार्टीभित्र र बाहिरबाट समेत आलोचित बनिरहेको छ । तर कांग्रेस भने पटक पटक महाधिवेशनको मिति सारिरहेको छ । 

कहिले कहिले सारियो महाधिवेशन ? 

कांग्रेसले २०७७ मा नै महाधिवेशन गर्नुपर्नेमा पटक पटक मिति सार्दै आएको छ । हालसम्म कांग्रेसले पाँच पटक महाधिवेशन सारिसकेको छ । 

पहिलो पटक – २०७७ फागुन ७–१० गते 

दोस्रो पटक – २०७८ भदौ ७– १० गते  

तेस्रो पटक – २०७८ भदौ १६–१९ गते 

चौथो पटक – २०७८ मंसिर ९–१३ गते 

पाँचौं पटक – २०७८ मंसिर २४–२६ गते  

यस्तो छ पाँचौंपटक सारेको नयाँ कार्यतालिका

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेसको १४औँ महाधिवेशन अब मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने भएको छ । बुधवार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको समितिको प्रस्तावमा तीन दिन अघि सारेर नयाँ संशोधित महाधिवेशनको मिति ल्याइएको हो । निर्वाचन समितिले जिल्लाहरूको समूहमा विभाजन गरी अधिवेशनको मिति तोकेको छ । सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा गाउँ/नगरको वडा अधिवेशन कात्तिक २७ गते हुनेछ । 

३० कात्तिकमा गाउँ/नगर अधिवेशन, ३ मंसिरमा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन, ६ मंसिरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, १० मंसिरमा एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन हुनेछ भने मंसिर १६ र १७ गते प्रदेश समितिको अधिवेशन हुनेछ ।