प्रधानमन्त्रीको बोली असंसदीय ठहर, अभिलेखबाट हटाइयो

प्रधानमन्त्रीको बोली असंसदीय ठहर, अभिलेखबाट हटाइयो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०७६

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा ‘निम्छरो’ शब्द प्रयोगप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीले नाराबाजी गरेका थियो।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलमा उठेका प्रश्नको जबाफ दिएपछि प्रधानमन्त्रीलाई पुनः सोधिएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरू वास्ता नगरेर प्रश्नको जवाफ दिन्छु’ भन्ने शब्दावली प्रयोग गरेका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाउँदै यो शब्दावली अभिलेखबाट हटाउन माग गरेको थियो। प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरुमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले स्पष्टीकरण दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा प्रतिकूलका शब्द रेकर्डबाट हटाइएको मात्र बताए तर कुन शब्द भन्ने खुलाएनन्। संसदीय अभ्यासमा कुन शब्द रेकर्डबाट हटाइएको हो, त्यो खुलाउनुपर्ने हुन्छ।

‘अस्ति मेरो ध्यानाकर्षणको विषयमा नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले स्पष्टीकरण तथा माननीय सदस्यको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादाअनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु’, सभामुखले बैठकमा भने। सभामुखको निर्देशन अस्पष्ट भएपछि सत्तापक्षका सांसद खगराज अधिकारीले त्यो दिन संसद्मा गैरसंसदीय शब्द धेरै प्रयोग भएको भन्दै ती सबै अभिलेखबाट हटाउन माग गरेका थिए। अधिकारीले भने, ‘त्यस दिन यो संसद्मा गैरसंसदीय शब्दहरु धेरै प्रयोग भएका छन्। ती सबै शब्द रेकर्डबाट हट्नुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।’ सांसद अधिकारीको भनाइपछि सभामुख महराले ‘यो सबैलाई भनेको हो’ भनी प्रस्ट्याएका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।