पहिलो त्रैमाससम्ममा चन्द्रागिरि हिल्सको वित्तीय अवस्थामा सुधार

पहिलो त्रैमाससम्ममा चन्द्रागिरि हिल्सको वित्तीय अवस्थामा सुधार

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १२, २०७८

चन्द्रागिरि हिल्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । 

यस अवधिमा नोक्सानी ४ करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीका अनुसार लकडाउन खुलेसँगै कम्पनीका आर्थिक क्रियााकलापहरू संचालनमा आउँदा नोक्सानी घट्न सहयोग पुगेको हो ।

समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले संचालन आम्दानी ८ करोड १५ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको संचालन आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्र थियो ।

गत वर्ष २ लाख ९६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यस वर्ष भने एक लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । त्यसैगरी कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५२ पैसा ऋणात्मक छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ ७१.८२ पुगेको हो ।